मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दै छन् वर्षहरू « Khabarhub

मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दै छन् वर्षहरू


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दार्चुला– मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौँ भयो । यहाँका महिला, बालबालिका र वृद्धहरू पानीको खोजीमै समय बित्ने गरेको छ । 

यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन । बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभर पानीको हाहाकार मच्चिन्छ । पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौँ प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका छन् । 

स्थानीय गजेन्द्रसिंह धामी भने, ‘अहिलेको समयमा पनि नागरिकले खानेपानीको लागि यति दुःख पाउनुपर्ने अवस्था रहनु दुःखद हो । पानी त आधारभूत आवश्यकता हो, तर हामीले अझै पनि यसको लागि सङ्घर्ष गर्नुपरेको छ । पानीको जोहो बिना कसरी बाँच्नु ? हरेक पटकको समस्या भनेकै यो क्षेत्रका नागरिकको खानेपानी हो । घरघरमा धारा नपुग्ला तर बस्तीमै राम्रो पानी भए पनि जोहो टर्थ्यो ।’

बस्तीभन्दा करिब एक किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधिमार्फत पानी ल्याउने उद्देश्यसहित २०७९ सालमा खानेपानी योजना सुरु गरिएको छ । योजना सुरु भएको चार वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ ।

हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माणबाहेक उल्लेख्य प्रगति हुन सकेको छैन । गाउँलेहरू योजना सुरु हुँदा केही वर्षभित्रै घरघरमा धारा पुग्ने अपेक्षा गरेका थिए । तर अहिले पनि उनीहरू पुरानै दुःख दोहोर्‍याउन बाध्य छन् ।

स्थानीय चन्द्रसिंह धामी भन्छन्, ‘अरू ठाउँमा प्रत्येक घरमा धारा पुगेका छन् । यहाँ भने अहिले पनि पानीकै लागि घण्टौँ हिँड्नुपर्छ । पानी बिना जीवन सम्भव छैन, तर हाम्रो पीडा कसैले सुनेजस्तो लाग्दैन ।’ 

अरु ठाउँमा अन्य विकासको योजना माग्छन्, तर मेरो गाउँका नागरिकले अहिले पनि राज्यले गर्नैपर्ने आधारभूत खानेपानी मागेकोमाग्यै गर्नुपर्ने अवस्था छ । खानेपानी गाउँमा समयमै नपुग्नुमा नागरिक एकतासमेत नहुनु उनले अर्थ्याए । यी सबै बस्तीमा झण्डै डेढ सय घरधुरीको बसोबास रहेको छ ।

बालबालिकाको काँधमा पानीको भार

खानेपानी अभावको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ । विद्यालय जाने उमेरका विद्यार्थीहरू दिनको ठूलो समय पानी बोकेर बिताउँछन् । कतिपय परिवारमा बिहान र साँझ पानी ल्याउने जिम्मेवारी नै बालबालिकाको काँधमा छ ।

पूर्वशिक्षक धामीका अनुसार पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा विद्यार्थीहरू नियमित विद्यालय जानसमेत सक्दैनन् । आवासीय रूपमा विद्यार्थी पढाऊ भन्दा बालबालिका पानी बोक्नुपर्छ भन्दै अभिभावक नै लगाउन मान्दैनन् । 

‘बालबालिकाको समेत घरमा पानी ल्याउनु पहिलो काम हुने गर्छ’, अर्का स्थानीय तिलकसिंह धामी भन्छन्, ‘पानी नभएपछि खाना पकाउन, पशु चौपाया पाल्न र दैनिक काम चलाउनै सकिँदैन ।’

यहाँको समस्या समाधान गर्न सबै निकायले खानेपानी कार्यालयलाई दबाब दिनुपर्छ । गाउँ नजिक भरपर्दो मुहान नहुँदा हिउँदयाममा समस्या अझ विकराल बन्ने गरेको उनले बताए । त्यसबेला स्थानीयले खच्चडमार्फत ड्रममा पानी ढुवानी गर्नुपर्ने बाध्यता छ । वडा सचिव खगेन्द्रसिंह धामीका अनुसार अधिकांश परिवारले पानी सञ्चयका लागि घरघरमा ठूला ड्रम राखेका छन् । 

‘हिउँद लागेपछि गाउँमा पानीको काकाकुल अवस्था हुन्छ’, उनले भने, ‘त्यसैले धेरैले पानी भण्डारण गरेर राख्न घरघरमा ड्रम, जरकिन धेरै राख्ने गरेका छन् ।’

खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्करसिंह धामीका अनुसार योजना ढिलो हुनुको मुख्य समस्या भनेकै बजेट पनि हो । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु १५ लाख, २०८०/८१ मा रु २५ लाख र २०८२/८३ मा रु २५ लाख बजेट विनियोजन भएको छ । 

चालु आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिराडसम्म ९५ वटा पिलर निर्माणको काम भइरहेको छ । अहिले पनि योजनाको काम चलिरहेको छ । 

‘बजेट सानो–सानो आउँदा कामले गति लिन सकेको छैन’, उनले भने, ‘अर्कोतर्फ समयमै मजदुर पाइँदैनन् । पाइएका मजदुर पनि सरकारी ज्यालामा काम गर्न तयार हुँदैनन् । अहिले आफैँ मिस्त्री भएर काम गर्दा थोरै काम गराउन सकिएको छ ।’

गाउँमा योजनाको काम गराउनु निकै चुनौतीपूर्ण भएको एकैपटक ठूलो बजेट हालेर योजनासम्पन्न गराउनतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय दार्चुलाबाट सञ्चालन भइरहेको योजनामा बजेट क्रमशः थपिँदै गए पनि आवश्यकताअनुसार रकम नपुग्दा निर्माण कार्य लम्बिएको स्वीकार गरिएको छ ।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामी खानेपानी योजना सम्पन्न गर्न कार्यालयसँग नियमित बजेटको लागि माग भइरहेको बताउछन् । ‘हामीले पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छौँ’, अध्यक्ष धामीले भने, ‘नयाँ आर्थिक वर्षमा कति आउँछ आशा गरौँ ।’ रासस

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ५ : १३ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी