संसद्‌मा नयाँ विधेयक दर्ता,अब विद्यालयमा राष्ट्रिय दल बनाएर सेनाले तालिम दिने « Khabarhub

संसद्‌मा नयाँ विधेयक दर्ता,अब विद्यालयमा राष्ट्रिय दल बनाएर सेनाले तालिम दिने


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेर विद्यार्थीलाई सैन्य तालिम दिनेगरी सरकारले कानुन निर्माणको काम अघि बढाएको छ । 

सरकारले राष्ट्रिय सेवा दललाई समयसापेक्ष परिमार्जन गर्न र नागरिकलाई राष्ट्रको सेवामा तत्पर बनाउन भन्दै ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ संघीय संसदमा दर्ता गरेको हो । कार्यान्वयनको अवस्थामा नरहेको विद्यमान राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई प्रतिस्थापन गर्दै नेपालको संविधानको भावना र संघीय संरचना अनुरूप नयाँ व्यवस्था गर्न यो विधेयक ल्याइएको हो ।

प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहद्वारा प्रस्तुत गरिएको यस विधेयकको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना जगाउनु रहेको विधेयकमा उल्लेख छ । 

संविधानको धारा ५१ को खण्ड (क) मा उल्लेखित राष्ट्रिय सुरक्षा नीति अनुसार नागरिकलाई राष्ट्रको सेवा गर्न सक्षम बनाउने लक्ष्य यसले लिएको छ । ५६ वर्ष पुरानो ऐनले वर्तमान आवश्यकता र संरचनालाई सम्बोधन गर्न नसक्ने भएकाले नयाँ कानुनको तर्जुमा गरिएको विधेयकको ‘उद्देश्य र कारण’ मा उल्लेख छ ।

विद्यार्थीलाई तालिम र परिचालन

प्रस्तावित विधेयक अनुसार सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयका विद्यार्थीलाई तालिममा सहभागी गराइनेछ । तालिमलाई दुई तहमा वर्गीकरण गरि कक्षा ८ देखि १० सम्मका १३ देखि १८ वर्ष उमेरका विद्यार्थीलाई जुनियर डिभिजन र कक्षा ११ र १२ मा अध्ययनरत १६ देखि २१ वर्ष उमेरका विद्यार्थीलाई सिनियर डिभिजनमा बाँडिनेछ ।

साथै, तालिम दुई चरणमा सञ्चालन हुने पनि विधेयकमा उल्लेख छ । पहिलो चरण विद्यार्थी अध्ययनरत विद्यालयमै र दोस्रो चरण सेवा दलको शिक्षालयमा हुनेछ । तालिम पूरा गरेका विद्यार्थीहरूलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गरिने विधेयकमा उल्लेख छ ।

राष्ट्रिय आवश्यकताको समयमा आम नागरिकलाई तालिम दिन सकिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । विधेयकको दफा १८ मा उल्लेख भए अनुसार, नेपाल सरकारले आवश्यक देखेमा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत सेवा दलले तालिम दिन सक्नेछ र उनीहरूलाई राष्ट्र सेवामा खटाउन सक्नेछ । 

साङ्गठनिक संरचना र नेतृत्व
 
राष्ट्रिय सेवा दलको उच्च तहमा प्रधानमन्त्री ‘प्रमुख संरक्षक’ र रक्षा मन्त्री ‘संरक्षक’ रहने व्यवस्था गरिएको छ । नीतिगत निर्देशनका लागि रक्षा मन्त्रीको अध्यक्षतामा एक ‘निर्देशक समिति’ रहनेछ, जसमा प्रधान सेनापति, रक्षा सचिव र शिक्षा सचिव सदस्य रहनेछन् ।

साथै, दलको प्रशासनिक नेतृत्वका लागि ‘कार्यकारी महानिर्देशक’ रहने व्यवस्था छ । प्रधान सेनापतिको सिफारिसमा अवकाश प्राप्त उपरथीमध्येबाट नेपाल सरकारले दुई वर्षका लागि महानिर्देशक नियुक्त गर्नेछ । सेवा दलको मुख्यालय काठमाडौं उपत्यकामा रहनेछ भने आवश्यकता अनुसार देशका अन्य स्थानमा शिक्षालय र कार्यालयहरू बिस्तार गरिनेछ ।

तालिममा सहभागी क्याडेटहरूले कडा अनुशासनको पालना गर्नुपर्ने र अनुशासन उल्लंघन गरेमा वा शारीरिक-मानसिक रूपमा अक्षम देखिएमा उनीहरूलाई तालिमबाट हटाउन सकिने प्रावधान छ । तालिमको अवधिमा क्याडेटहरूलाई रासन, आवास र बिमाको समेत व्यवस्था गरिने विधेयकमा उल्लेख छ । साथै, तालिम दिने प्रशिक्षकहरू बहालवाला सैनिकहरूबाट खटाइनेछन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : १५ बजे

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब