सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति भएको घटनामा घाइते गोली लागेर घाइते रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएपछि पीडित पक्ष आन्दोलनमा उत्रिएको छ ।
मेहताको परिवारसहित छिमेरकी गाउँलेहरू उक्त घटनामा गोली चलाउन आदेश दिनेलाई कारबाही नभएसम्म शव नबुझ्ने अडानमा छन् ।
उनीहरूले अहिले कप्तानगञ्जको सडकमा रुख ढालेर अवरुद्ध गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको पनि माग गरेका छन् ।
उक्त घटनामा गोली लागेर हालसम्म ३ जनाको मृत्यु भएको छ । अहिले पनि गोली लागेका ७ जना उपचाररत छन् । जसमध्ये एकजनाको खुट्टा नै काटिएको छ।
गोली लागेका युवक मेहताको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि त्यही घटनाका घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो।
रवीन्द्रको पनि निधन भएसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। उता सिरहाको गोलबजारमा पनि गत शुक्रबार एकजना युवक गणेश यादवको गोली लागेर ज्यान गएको छ।
गत आइतबार राति कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।















प्रतिक्रिया