उपेन्द्र यादवलाई प्रश्न- शक्तिहीन भएपछि अस्तित्व बचाउन मोर्चाबन्दी कस्न लाग्नुभएको हो ? « Khabarhub

उपेन्द्र यादवलाई प्रश्न- शक्तिहीन भएपछि अस्तित्व बचाउन मोर्चाबन्दी कस्न लाग्नुभएको हो ?



माओवादी केन्द्र फुटाएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह सहित नागरिक उन्मुक्ति पार्टीका नेतृत्वहरू एक ठाउँमा आउन लागेका छन् । 

साउन २३ गते काठमाडौँमा एउटा कार्यक्रम गर्दै सात राजनीतिक दलहरूले संयुक्त मोर्चा घोषणा गर्न लागेका हुन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार २३ गते मोर्चाको नीति उद्देश्य कार्यक्रम र कार्यदिशा प्रस्तुत गर्दै सबै मिलेका पार्टीहरूका नेताहरूको हैसियत समान हुने गरी मोर्चा घोषणा गर्न लागिएको हो । एक्लै एक्लै हिँडेर काहीँ पनि पुग्न नसकिने महसुस गरेर विगतमा फुटेको पाठ सिक्दै मोर्चाको तयारी गरेको यादवको भनाइ छ।

मोर्चा कस्तो हुन्छ ? मोर्चाको उद्देश्य  के हो ? मोर्चाबारे अरु दलहरूसँग पनि छलफल भइरहेको छ ? विगतमा शक्तिका लडाइँका कारण फुटेका नेताहरू किन फेरि एक ठाउँमा आउनुपर्‍यो ? लगायत प्रश्नको जवाफ हामीले उपेन्द्र यादवसँग मागेका छौँ । उनीसँगको कुराकानीको सम्पादित अंश

कस्तो मोर्चा बनाउन लाग्नुभयो  ?

कुरा हुँदैछ, छलफल हुँदैछ । साउन २३ गते मोर्चा घोषणा हुन्छ। त्यसको तयारीमा हामी जुटिसकेका छौँ । अब चाहिँ मोर्चा बन्ने पक्का भइसक्यो ।  

मोर्चामा को-को समावेश हुनुहुन्छ  ?

मधेसी, पहाडी, हिमाली राष्ट्रिय सबै पार्टीहरू छन्। सातैवटा दलको संयुक्त पहलमा मोर्चा घोषणा हुन लागेको हो। यहाँ प्रगतिशील लोकतान्त्रिक, पार्टी जनमत पार्टी, जनता समाजवादी पार्टी, आम जनता पार्टी , बहुजन समाज पार्टी, संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरूको संयुक्त पहलमा हुन लागेको हो । हाम्रा एकापसमा कुराहरू मिलिसकेका छन्।

के सन्देश दिनका लागि मोर्चा बनाउन लाग्नुभएको हो ?

मूलभूत रुपमा मुलुकलाई अग्रगामी निकास दिनका लागि हो ।  विगत लामो समयदेखि यसको तयारीमा थियौँ। मुलुक अहिले अत्यन्तै जटिल परिस्थितिसँग गुज्रिरहेको महसुस गरेका छौँ । त्यसकारण निकास दिनका लागि हामीले तयारी गरेका हौँ। छलफलहरू त लामै चलिराखेको थियो। अब चाहिँ मोर्चा बन्ने पक्का भइसकेको छ। 

कस्तो निकास  ?

होइन, सदनबाट जनताका कुरा नसुन्ने भएपछि हामीले सडकबाट पनि कुराहरू उठाउनुपर्ने परिस्थिति हुन सक्छ। सदनभन्दा सडकको आवाज तिखो हुन्छ । त्यसकारण सामूहिक रुपमा अगाडि बढ्ने तयारी गरेका हौँ।

नेतृत्वहरूको विषयमा विवादले फेरि गञ्जागोल होला नि ?

यसमा सबैजनाले सामूहिक मिलेर गर्ने हो। मोर्चामा आबद्ध सबै दलका नेताहरूको हैसियत एउटै हुन्छ। आपसी समझदारीबाट चल्ने हो। 

अहिलेको लागि कसलाई अगाडि सार्ने  ?

सबै मिलेर गर्ने, हैसियत समान बनाउने तरिकाले काम भइरहेको छ। सञ्चालक मण्डल जस्तो केही बन्ला। 

मोर्चाको यात्रा पार्टी एकतासम्म पुग्छ ?

भविष्यमा त्यो पनि लक्ष्य छ । सम्भव भएसम्म एउटै पार्टी बनाउने तयारी गरेका छौँ।

पार्टीको नाम चुनाव चिन्ह यी विषयमा पनि सहमति जुट्यो ?

भविष्यमा कुरा मिल्दै गए पुग्न सक्छ ।  सम्भव भएसम्म भविष्यमा एउटै पार्टी बनाउने लक्ष्य राखेका छौँ । 

पार्टीको नाम, चुनाव चिन्हजस्ता विषयहरूमा पनि छलफल भयो कि ?

त्यो त पछि कुरा हुन्छ । मोर्चामा काम गर्दै गरेरै विश्वासको वातावरण बन्यो भने त्यसमा काम गर्छौँ। मोर्चामा काम गर्दै गएर एकापसमा विश्वास र आवश्यकताको वातावरण बन्यो भने मात्रै पार्टी एकतासम्म पुग्छ। 

त्यसको विषयमा अहिले हामीले छलफल गरेका छैनौँ, केवल खाली मोर्चा बनाएर जाने विषयमा मात्रै सहमतिमा पुगेका हौँ ।

२३ गते चाहिँ के के घोषणा गर्नुहुन्छ ?

मोर्चाको घोषणा हुन्छ । मोर्चाको उद्देश्य घोषणा हुन्छ। नीति कार्यक्रम घोषणा हुन्छ। त्यसपछि सहकारी अगाडि बढ्छ। 

तपाईँहरू शक्ति गुमेपछि एक ठाउँमा आउनुभयो नि, विगतमा शक्तिकै लडाईका कारण फुट्नुभएको थियो ?

छरिएर र अलगअलग रहेर देशलाई धेरै योगदान दिन सकिएन । मिलेर काम गर्यो भने देशलाई निकास र योगदान दिन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ । विगतका अनुभवहरूलाई महत्त्वपूर्ण पाठको र शिक्षा लिँदै काम गर्ने मोडमा छ। 

यसलाई बाममोर्चाको रुपमा हेर्ने कि अन्य केही एजेण्डा छ ?

यो अग्रगामी लोकतान्त्रिक मोर्चा हो। प्रगतिशील शक्तिहरूको लोकतान्त्रिक मोर्चा हो। यो मोर्चाले सरकारलाई हटाउने अथवा दबाब दिने होइन, अहिलेको परिस्थितिबाट देशलाई कसरी निकास दिने भन्ने विषयमा चिन्तन मनन र गहिरो ढंगले दबाब दिने हो । 

अरु दलहरूसँग पनि वार्ता भइरहेको छ ?

वार्तामा छौँ तर सहकार्यमै पुगिसकेका छैनौँ। प्रगतिशील लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य हुने विषयमा वार्ता जारी छ।

पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली  काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी राप्रपा लगायतसँग पनि सहकार्य हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी काँग्रेस एमाले नेकपा र राप्रपा कुनैसँग पनि सहकार्य गर्दैन। काङ्ग्रेस एमाले नेकपा उहाँहरू आफैँ मिल्दै हुनुहुन्छ। पहिलो पार्टीलाई मिल्नु आवश्यकता नै छैन। 

राप्रपासँग हाम्रो नीति सिद्धान्त मिल्ने भएन अरु वैकल्पिक र प्रगतिशील शक्तिहरूसँग संवाद हुन्छ। यो प्रगतिशील शक्तिहरूको मोर्चा हो । 

विगतमा तपाईँहरूले अलायन्स बनाउने अवधारणा पनि ल्याउनुभयो र कार्य पनि गरिरहनु भएको थियो। अहिले फेरि मोर्चा बनाउँदै हुनुहुन्छ । यसले पनि मूर्त रूप लेला र ?

विगतका गल्ती र अनुभवलाई लिएर अहिलेको निष्कर्षमा हामी पुगेका छौँ । अहिले हामी सबैको विचार मिलेको छ। हामीले के तयारी गरेका छौँ भने हामी फुटभन्दा पनि जोडतर्फ उन्मुख छौँ। लामो समयको संवादपछि नै सात वटा दलबीच सहकार्य हुन लागेको हो । 

भोलि नेतृत्वको विवादले फेरि तपाईँहरू फुट्नुहोला कि भन्ने संशय त उस्तै रह्यो नि ?

यो कुराबाट पाठ सिकेरै सबै मिलेर गर्ने सबै नेताको हैसियत समान र व्यवहार समान हुने भएपछि फुट्ने कुनै पनि सम्भावना हुँदैन । सबैको एउटै हैसियत हुने र मिलेर काम गर्ने भएपछि त हामी किन झगडा गर्ने र झगडा गर्दैनौँ । 

मैले अघि पनि भनेँ यहाँलाई विगतबाट पाठ सिकेर नै यो मोर्चाको घोषणा गरिएको हो । हामी सबैले त्यसका लागि के त्याग गर्नुपर्छ, त्याग गरेर पनि एक हुने तयारी गरेका छौँ । पार्टी एकता अहिले हुँदैन तर सहकार्य हुन्छ।

यो सहकार्य प्रदेशको र स्थानीय तहको निर्वाचनका लागि हो ?

निर्वाचनका लागि मात्रै नभएर लोकतान्त्रिक र प्रगतिगामी शक्तिहरूको मिलन पनि हो। निर्वाचन त आउँछ जान्छ देशको अस्तित्व र  सुरक्षा हुनुपर्‍यो ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ४ : ४३ बजे

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व

प्रतिनिधिसभा : ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यमन्त्री भन्छिन्- ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको