काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त दुखाउन थालेका छन् । गत आइतबार सुनसरीमा गोली चलेको विषय र त्यसको तीन चार दिनपछि सिरहमा गोली चलेर २० वर्षीय गणेश यादवको मृत्यु भएको विषयमा आफ्नै सरकारमाथि रास्वपा सांसदहरूले तिखो प्रहार गरिरहेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जबाट सुरू भएको तनाव सिरहाको गोलबजार पुगेपछि झन् हिंस्रक भयो । सरकारी सुरक्षाकर्मीको गोली लागेका चारजना नागरिकले मंगलबारसम्म ज्यान गुमाए। विरोधमा उत्रिएकै भरमा चारजना नागरिकले ज्यान गुमाउनु परेको भन्दै पार्टीका नेताहरू छट्पटिएका छन् । गोली किन चल्यो र कम्मरमाथि नै गोली हान्नुपर्ने अवस्था कसरी आयो ? भन्ने प्रश्नको जवाफ आफ्नै सांसदहरूले सदनमा माग्दा प्रधानमन्त्री शाह उपस्थित भएनन ।
नागरिकको ज्यान जाने गरी गोली चल्नु सामान्य विषय नरहेको बताउँदै सांसदहरूले जवाफ मागेका हुन् । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले सरकारले गोली चलाएको विषयमा स्पष्ट छानबिन हुनुपर्ने माग राखिरहँदा मंगलबार प्रतिनिधि सभामा अरू सांसदले पनि यो विषयलाई चर्काए।
मधेशमा सामान्य विवाद हुँदा पनि गोली चलाएको भन्दै आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंह र शिवशंकर यादवले प्रश्न उठाएका हुन ।
‘मेरो प्रश्न राज्यसँग छ कि मधेसमा जहिले पनि आन्दोलन हुन्छ, मधेश आन्दोलन होस् कि थरुहट आन्दोलन होस् त्यहाँ गोली मात्र किन चल्छ ? सरकारसँग अरु उपाय नभएर नै गोली चलाइएको हो ? गोली कस्तो अवस्थामा चल्छ ?’ सिंहले प्रश्न गर्दै भने, ‘मधेश प्रदेशमा हुने सामान्य विवादमा पनि सुरक्षाकर्मीले लाठी चार्ज नगर्ने, टियर ग्यास नहान्ने सिधै गोली प्रहार गर्ने कसरी भयो ? टियर ग्यास किन चल्दैन ? दुनियाँमा नेपालबाहेक कुनै देशमा प्रहरीलाई एसएलआर दिँदैन । पुलिसलाई कसैले ढुंगा हान्यो भने त्यसले गोली हान्छ ?’
सांसद अमरेशले यसअगाडि पनि मधेशवादी दलहरूसँग प्रधानमन्त्रीले छलफल गर्दा कमरमाथि गोली किन हान्नुपर्यो यसको जवाफ दिनुपर्छ भन्दै रिसाएका थिए । त्यसबेला प्रधानमन्त्रीले आफूले सुरक्षा निकायले गोली हानेको विषयमा विस्तृत दिन भनेकाले कमरमाथि किन गोली हानेको भनेर जवाफ मागेको जानकारी गराए ।
अमरेशसँगै शिवशंकरले पनि घटना भएको स्थल सिरहा र सुनसरीमा आफू पनि पुगेको बताउँदै गोली चल्ने अवस्था नै नभई सुरक्षा निकायबाट गोली चलेको उल्लेख गरेका थिए।
‘घटनास्थलमा पुगेको छु । कुनै पनि स्थानमा गोली चलाउने अवस्थाको सिर्जना भएको मैले देखेको थिइँन । कुनै पनि स्थानमा टाउको र छातीमा गोली हानेर साम्य पार्नुपर्ने अवस्था थिएन । तैपनि गोली प्रहार भएको छ । त्यसको निन्दा गर्न चाहन्छु’, उनले भने ।
यादवले अगाडि भने, ‘लामो समयदेखि मधेशका नागरिकमाथि सामान्य विवादमा पनि गोली प्रहार गर्ने प्रवृति बढिरहेको छ । त्यसको म घोर भर्त्सना गर्न चाहन्छु । लोकतन्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षा भन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन ।’
विपक्षसँगै सरकार पक्षका नेताहरूले पनि यो जवाफ मागिरहँदा प्रधानमन्त्री भने सदनमा उपस्थित भएर जवाफ दिन्छन् या दिँदैनन् हेर्न बाँकी छ । विगतमा पनि प्रधानमन्त्रीमाथि प्रश्न उठ्दा सभापति रविले चोख्याउने गरेको देखिन्थ्यो । कोशी र मधेशका घटनामा पनि रविले प्रधानमन्त्री चोख्याइरहँदा ढिलो गरी मात्रै उनी एक्सनमा उत्रिएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र र पार्टी सभापति लामिछानेको सम्बन्धमा दरार आएका विषयहरु पनि बाहिर आएका छन् । तर मधेसवादी दलहरूसँगको छलफलमा बालेनले शुक्रबार आफू र सभापतिबीच कुनै दूरी नरहेको जानकारी गराएका थिए ।
कसैको सुझाव नलिने र एकात्मकतावादी सोचले सरकार सञ्चालन गरेको भन्दै बालेन क्याबिनेटकै मन्त्रीहरूले पनि प्रधानमन्त्रीको कार्यशैलीमाथि चित्त नबुझाएर पार्टी सभापति सामु गुनासो राखेको नेताहरू बताउँछन् ।
‘हामीले पार्टी सभापतिलाई भन्ने हो उहाँलाई सरकारको तर्फबाट गर्नुपर्ने कामको विषयमा जानकारी गराइसकेका छौं ।’ पार्टीको शीर्ष स्रोतले भन्यो, ‘यसरी त कसरी चल्ला र भन्ने कुरा गरेकै हो। तर सभापतिज्यूले भएको केही छैन मिल्दै जान्छ उहाँले आफ्नो कार्यशैली बदल्नुहुन्छ भन्नुभयो । सभापतिज्यू पनि प्रधानमन्त्रीको कार्यशैलीमा सिरियस हुनुहुन्छ होला ।’

अमरेशले गरे रविको प्रशंसा
गोली चलेको घटनामा रविले सर्वदलीय बैठक राखेर विभिन्न व्यक्तिसँग सहकार्य गरेको विषयमा अमरेशले रविको प्रशंसा गरेका थिए । उनले भने-‘सभापतिज्यूले गर्नुभएको पहलकदमीको म सधैँ प्रशंसा गर्दछु। वालेन्द्रले समयमै राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने र पहलकदमी लिनुपर्नेमा ढिलो गरी मात्र आयो । यसले थप क्षति भएको छ।’
मधेशमा गोली चलेको विषयमा रास्वपा नेता मनिष झाले पनि विभिन्न बैठकहरूमा असन्तुष्टि जनाइरहेका छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि कडा प्रश्न राखिरहेको देखिन्छ । त्यस्तै पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पनि पार्टीभित्रै भए पनि सरकारको भूमिकामाथि कडा टिप्पणी गर्दै आएको उल्लेख गरेका छन् ।
सुनसरीमा घटेको घटनालाई वास्ता नगरिकन प्रधानमन्त्री बालेन्द्र शाहले सिरहामा घटना सुरू भएपछि मात्रै राष्ट्रका नाममा सम्बोधन गरेका थिए । १० गतेबाट सुरू भएको सुनसरी घटनामा बालेनले सम्बोधन गर्दा पाँच दिन नाघिसकेको थियो । सुनसरी घटनामा थप राजनीतिकरण नगर्न र घटना साम्य पार्न सबैलाई भूमिका खेल्न आग्रह भने उनले सामाजिक सञ्जालमा लेखे।
उनले सामाजिक सञ्जालमा लेख्नु ६, ७ घण्टा अगाडि पार्टीले पनि आधिकारिक धारणा सार्वजनिक गरेर घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने र राजनीतिकरण गर्नु नहुने धारणा सार्वजनिक गर्यो । ।प्रधानमन्त्रीको आलोकाँचो व्यवहारका कारण देशले थप क्षति बेहोर्नु परेको भन्दै अहिले पार्टीभित्रै नेताहरु असन्तुष्ट छन् ।
उसो त प्रधानमन्त्रीले थाल्नुपर्ने पहल कदमी र बैठक सभापतिले थालेको भन्दै विपक्षीले पनि लामिछानेको प्रशंसा गरेका थिए। काङ्ग्रेस सभापति गगन थापा, मधेशवादी दलका नेताहरू सीके राउत, प्रभु शाह, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले पनि रविको प्रशंसा गर्दै संवाद गरेकोमा धन्यवाद दिएका थिए ।

सरकार पक्ष र पार्टी पक्षबीच मतभेद
प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि पार्टीभित्र तीव्र असन्तुष्ट रहेको बताइन्छ। स्रोतले दिएको जानकारी अनुसार कोशी र मधेशमा भएका घटनालाई मात्रै होइन, प्रधानमन्त्री, गृहमन्त्री पार्टी र सदनप्रति उत्तरदायी नभएको विषयमा पनि नेताहरूले असन्तुष्टि जनाइरहेका छन् ।
‘मधेस र कोशीका घटनाले प्रधानमन्त्री र गृहमन्त्रीमाथि थप शङ्का गर्ने ठाउँ उब्जिएको छ। उहाँहरुले गोली चला भनेर आदेश नदिएको भए पनि नेतृत्वमा बसेको हुनाले ढिलो गरी पलकदमी थाल्नुभयो । आइतबार सुनसरीको कप्तानगञ्जमा घटना घटेपछि सोमबार लगत्तै प्रधानमन्त्री र गृहमन्त्रीले ध्यानाकर्षण हुनुपर्ने थियो,’ पार्टीका एक नेता भन्छन्, ‘पार्टीभित्र सकारात्मक आलोचना गरिएको हो। सरकारमा गएका व्यक्तिहरू पनि पार्टी र जनताप्रति उत्तरदायी हुनुपर्छ। सभापतिज्यूले हामीबीच सल्लाहमै काम भइरहेको छ त भन्नुभयो तर शंका गर्ने ठाउँ भेटेका छौं ।’
प्रधानमन्त्री बालेनले भने सरकारले काम गर्दागर्दै घटना हुन पुगेकाले काम नगरी बसिरहेको अवस्था नभएको जानकारी मधेसवादी दललाई दिएका छन् । प्रधानमन्त्रीले छलफलमा भनेको भनाइ उद्धृत गर्दै मधेशवादी दलका नेता राजेन्द्र महतो भन्छन, ‘प्रधानमन्त्रीज्यू र पार्टीबीच कुरा नमिलेको बुझ्यौँ। सभापतिज्यू चाँडो एक्सनमा निक्लिँदा प्रधानमन्त्री चुप बसेकोबारे हामीले प्रश्न गरेका थियौं । उहाँले सरकारले गर्नुपर्ने काम गरिरहेको कराएर मात्रै के गर्ने भन्ने जवाफ दिनुभयो । अहिलेलाई केही नभनौँ, तपाईंहरू पनि देख्दै हुनुहुन्छ।’
सुनसरी र सिरहामा भएको घटनाले चुपचाप बसेका रास्वपा नेता, कार्यकर्ता आफ्नै सरकारप्रति आक्रोशित देखिएका छन् । उनीहरूको प्रश्न छ, ‘हिजो केपी ओलीमाथि यही प्रश्न गरेका हामीहरुले हाम्रो सरकारले उत्तर दिनु पर्दैन ?’












प्रतिक्रिया