काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्त लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् ।
बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तजनले हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट शवको प्रतीक बनाएर पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन् । पशुपति आर्यघाटमा आज मात्रै सात जनाको कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको घाट सेवा कार्यालयले जनाएको छ ।
बेपत्ता भएको १० दिनसम्म पनि कुनै खबर नआएपछि सिन्धुपाल्चोक(७ का बद्रीकुमार दर्जीले आफ्ना आफन्त ३६ वर्षीय राजकुमार दर्जीको कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । “भोटेकोशीको बाढीले हाम्रो आफन्त राजकुमार दर्जी बेपत्ता भएको आज १० दिन भयो । अवस्था पत्ता लाग्न नसकेपछि आज कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरेका छौँ”, उनले भने ।
पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएका कम्तीमा १६ जनाको भने शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बाढीमा परी मृत्यु भएकाको शव दाहसंस्कारका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क व्यवस्था मिलाएको उनले जानकारी दिए ।
बेपत्ता आफन्तको खोजीका क्रममा लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि परिवारजन धार्मिक संस्कार पूरा गर्न बाध्य भएका हुन् । आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्दै मनलाई केही शान्त पार्ने प्रयास गरिरहेका छन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि सयौँको सङ्ख्यामा मानिस बेपत्ता भएका छन् भने खोजी तथा उद्धार कार्य पनि जारी छ ।











प्रतिक्रिया