बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशूलीमाथि बनाइयो तुइन (तस्बिरहरू) « Khabarhub

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशूलीमाथि बनाइयो तुइन (तस्बिरहरू)


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली नदीमाथि तुइन सञ्चालनमा ल्याइएको छ । पुल बगेपछि नदी वारपार गर्न समस्या भोगिरहेका स्थानीयलाई सहज होस् भन्ने उद्देश्यले तुइन सञ्चालन गरिएको हो ।

भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । बाढीका कारण स्थानीयले ओहोरदोहोर गर्न प्रयोग गर्दै आएका पक्की तथा झोलुंगे पुल बगेपछि विदुर नगरपालिका–३ र ५ का नागरिकलाई त्रिशूली नदी वारपार गर्न कठिनाइ भएको थियो ।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै शुक्रबार साँझ करिब ५ बजेदेखि तुइन सञ्चालनमा ल्याइएको विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार तुइन सञ्चालनमा आएपछि विदुर नगरपालिका–३ का नागरिकलाई नदी वारपार गर्न प्रत्यक्ष रूपमा सहज भएको छ । साथै विदुर–५, ९ र १२ लगायत आसपासका क्षेत्रका नागरिकलाई समेत आवतजावतमा सहयोग पुगेको छ ।

तुइनबाट मानिसको आवतजावतसँगै औषधि तथा अन्य अत्यावश्यक सामग्रीसमेत वारपार गराउन थालिएको छ । बाढीका कारण सडक तथा पुलको सम्पर्क विच्छेद भएपछि दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्री ओसारपसारमा समेत समस्या भइरहेको थियो ।

संघ र प्रदेश सरकारसँग समन्वय गर्दै स्थानीय सरकार तथा स्थानीयवासीको पहलमा उक्त तुइन निर्माण गरिएको हो । देवीघाट बजारमा आवतजावतका लागि निर्माण गरिएको तुइन करिब १८० मिटर लामो रहेको छ ।

बाढीबाट क्षतिग्रस्त क्षेत्रमा नागरिकको दैनिक आवतजावत सहज बनाउन आवश्यक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यवस्था तीव्र रूपमा अघि बढाइएको वडाध्यक्ष न्यौपानेले बताए ।

देवीघाट बजारलाई जोड्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गतको पुलसमेत बाढीले ध्वस्त बनाएपछि उक्त स्थानमा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको छ । केही दिनभित्रै बेलिब्रिज सञ्चालनमा ल्याउने तयारी भइरहेको न्यौपानेले जानकारी दिए ।

यसअघि पनि विदुर नगरपालिका–१ इन्द्रायणी चौर र विदुर–९ कोलनी तथा गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरी भदौ १५ गते तुइन सञ्चालनमा ल्याइएको थियो । उक्त तुइन करिब २५५ मिटर लामो रहेको बताइएको छ ।

बाढीले पुल तथा सडक संरचनामा क्षति पुर्‍याएपछि तत्कालका लागि तुइनजस्ता वैकल्पिक संरचनाले स्थानीयको आवतजावत सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । स्थायी पुल तथा बेलिब्रिज निर्माण सम्पन्न भएपछि भने स्थानीयको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ८ : ५५ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६