काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले विपद्को समयमा हार मानेर वा निराश भएर मात्रै बस्ननहुने बताए । ”विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,” उनले भनेका छन् ।
विपद्पीडितको पुनर्स्थापना र सुरक्षित नेपालको पुनर्निमार्णमा सरकार क्रियाशील हुने उनले बताए । ”आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ,” उनले भनेका छन् ।
हिमाली राष्ट्रमा विपद्को जोखिम कायमै रहेकाले यसबाट बच्नका लागि आवश्यक सजगता अपनाउन बालेनले आग्रह गरेका छन् ।
यस्तो छ प्रधानमन्त्रीको भनाइ
हाम्रा प्यारा नानीबाबुहरू,
आज श्रीकृष्ण जन्माष्टमी। ससाना नानी बाबुहरू राधाकृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानीबाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्।
तर, यसपालिको यो उत्सवमा रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ।
अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबुनानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।
साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्नेकुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला।
प्यारा नानीबाबुहरू,
बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।
हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।
यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ।
विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ।
हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।
पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः
१. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला।
२. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा गर्यौ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?
३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्।
यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ।
प्यारा नानीबाबुहरू,
केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरूको उद्धार भइसकेको छ।
यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।
यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।
विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।
श्रीकृष्णले पनि भन्नुभएको छ संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं।
आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।
धेरै माया.












प्रतिक्रिया