काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई चाडपर्वको रौनकतासँग जोड्ने प्रयास गरेको छ । कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको दसैँ विशेष गीत ‘रातो टीका’ सार्वजनिक गरिएको हो।
बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा गायिका बबी लिम्बुले पनि स्वरमा साथ दिएकी छन् । नाच्न मिल्ने शैलीमा तयार पारिएको गीतले दसैँमा टीका लगाएपछि परिवार, आफन्त र गाउँघरमा देखिने खुसी तथा रमाइलो वातावरणलाई पर्दामा उतारेको छ।
गीतको भिडियोमा फिल्मका कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय देख्न सकिन्छ। लिङ्गे पिङ, सजाइएका घर, सफा आँगन र गाउँघरको परिवेशले गीतलाई अझै दसैँमय बनाएको छ । विशेषगरी दसैँमा गाउँ फर्किने, आफन्तसँग भेटघाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने नेपाली परम्पराको झल्को गीतमा देखिन्छ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा शाही फिल्म प्रोडक्सन र विशआई फिल्मसको सहकार्य छ । मदन थापाको निर्देशन रहेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।
प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्ममा निरज कँडेल डीओपी छन् भने विशेष महर्जन र जयन्द्र कुँवरले छायांकन गरेका छन्। फिल्ममा एनबी महर्जनको एक्सन निर्देशन छ। रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माता छन्।
दसैँको पारिवारिक माहोललाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको ‘रातो टीका’ले ‘परिवार’को कथामा पनि पारिवारिक सम्बन्ध र चाडपर्वको रंग कत्तिको जोडिएको छ भन्ने संकेत गरेको छ ।














प्रतिक्रिया