काठमाडौं– बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की दिँदै ५ करोड भारतीय रुपैयाँ फिरौती मागिएको छ। कुख्यात लरेन्स बिश्नोई ग्याङसँग सम्बन्ध रहेको दाबी गर्ने एक व्यक्तिले फोनमार्फत धम्की दिँदै उक्त रकम मागेको बताइएको छ। तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले यो धम्की वास्तविक नभई कसैले ग्याङको नाम दुरुपयोग गरेर दिएको हुन सक्ने संकेत गरेको छ।
भारतीय मिडियाअनुसार, ‘ह्यारी बक्सर’ नाम बताउने व्यक्तिले फोन गरेर अभिनेता कपुरसँग ५ करोड रुपैयाँ मागेका थिए। रकम नदिए ज्यान मार्ने धम्कीसमेत दिइएको बताइएको छ। घटनालाई गम्भीर रूपमा लिँदै तुषारले मुम्बई प्रहरीमा उजुरी दिएका छन्।
उनको उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान एन्टी–एक्सटर्सन सेल र क्राइम ब्रान्चलाई जिम्मा लगाएको छ। अनुसन्धानका क्रममा क्राइम ब्रान्चको प्राविधिक टोलीले धम्की दिन प्रयोग गरिएको फोन कलको अडियो रेकर्डिङ विस्तृत रूपमा जाँच गरेको थियो।
त्यसक्रममा प्रहरीले फोनमा सुनिएको आवाजलाई आफ्नो डेटाबेसमा सुरक्षित रहेको ह्यारी बक्सरको आधिकारिक आवाजको नमुनासँग तुलना गरेको थियो। तर, दुवै आवाजबीच समानता नदेखिएपछि प्रहरीले फोन गर्ने व्यक्ति वास्तविक ह्यारी बक्सर नभएको आशंका गरेको छ।
प्रहरीका वरिष्ठ अधिकारीहरूका अनुसार, कसैले अभिनेता कपुरलाई आतंकित पार्न र रकम असुल्ने उद्देश्यले लरेन्स बिश्नोई ग्याङको नाम प्रयोग गरेको हुन सक्छ। यद्यपि, धम्की दिने व्यक्ति को हुन् र यस घटनापछाडिको वास्तविक उद्देश्य के हो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।














प्रतिक्रिया