अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता, दुवै सदनमा बहुमतको सम्भावना « Khabarhub

अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता, दुवै सदनमा बहुमतको सम्भावना


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण हासिल गर्ने सम्भावना बलियो बनाएको छ।

रिपब्लिकनको प्रभाव रहेका क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवार विजयी हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमाथि राजनीतिक दबाब बढ्ने देखिएको छ।

दक्षिण क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरे। उनी उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला बनिन्। साथै, दुई दशकभन्दा बढी समयपछि दक्षिण क्यारोलिनाबाट सिनेट सिट जित्ने पहिलो डेमोक्रेट पनि बनेका छन्।

त्यस्तै, उत्तरी क्यारोलिना र न्यु जर्सीमा डेमोक्रेटहरूले प्रतिनिधिसभाका सिट जितेका छन्। जर्जियामा सिनेटर जोन ओसोफ र न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी भए। सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटहरूले चार सिटको खुद लाभ लिनुपर्नेछ भने प्रतिनिधिसभामा बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ आवश्यक छ।

निर्वाचनमा बढ्दो मूल्यवृद्धि, जीवनयापनको लागत र सरकारी भ्रष्टाचार मतदाताका प्रमुख चासो बनेका छन्। एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार करिब तीन चौथाइ मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन्। त्यति नै सङ्ख्याले अमेरिकी अर्थतन्त्रको अवस्था खराब वा कमजोर रहेको बताएका छन्।

करिब १० मध्ये आठ मतदाताले मूल्यवृद्धिका कारण आफ्नो परिवारले आर्थिक कठिनाइ भोगिरहेको जनाएका छन्। त्यस्तै, १० मध्ये छ मतदाताले राष्ट्रपति ट्रम्पले देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको बताएका छन्।

ट्रम्पले मुद्रास्फीति नियन्त्रणमा आएको दाबी गर्दै आए पनि अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार गत सेप्टेम्बरमा उपभोक्ता मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले बढेको थियो।

त्यसैले यस निर्वाचनलाई ट्रम्पको दोस्रो कार्यकालप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ। निर्वाचनअघि नै पाँच करोड ९० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका थिए।

रिपब्लिकनहरूले निर्वाचन क्षेत्र पुनः निर्धारण गरेर आफ्नो सिट सङ्ख्या बढाउने प्रयास गरे पनि फ्लोरिडामा चार नयाँ सिट जित्ने उनीहरूको अपेक्षा कमजोर देखिएको छ। टेक्सास र उत्तरी क्यारोलिनामा ट्रम्पले समर्थन गरेका उम्मेदवारले समेत चुनौती सामना गर्नुपरेको छ। सिनेटका अन्य प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्र ओहायो, अलास्का र मिशिगन रहेका छन्।

यसैबीच, ३६ राज्यमा भएको गभर्नर निर्वाचनमा पेन्सिलभेनिया, इलिनोइस, मेरिल्यान्ड, म्यासाचुसेट्स र न्युयोर्कका डेमोक्रेटिक गभर्नर पुनः निर्वाचित भएका छन्। जर्जियामा केइशा ल्यान्स बटम्स निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्नेछन्।

निर्वाचनको नतिजाले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्नेछ। हाल रिपब्लिकनको नियन्त्रणमा रहेको कङ्ग्रेसले ट्रम्पका अधिकांश योजनालाई समर्थन गर्दै आएको छ।

तर डेमोक्रेटहरूले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनको नियन्त्रण हासिल गरे राष्ट्रपति प्रशासनमाथि निगरानी बढाउन, छानबिन अघि बढाउन र सम्भावित महाभियोग प्रक्रियासमेत अगाडि बढाउन सक्नेछन्।

रक्षामन्त्री पीट हेगसेथ र ट्रम्पका पूर्वसल्लाहकार तथा प्रविधि उद्यमी एलन मस्क पनि सम्भावित संसदीय छानबिनको दायरामा पर्न सक्नेछन्।

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पार्टीले कङ्ग्रेसमा नियन्त्रण प्राप्त गरे जीवनयापनको लागत घटाउने र ट्रम्प प्रशासनमाथि निगरानी बढाउने लक्ष्यसहित पहिलो १०० दिनको कार्ययोजना अघि सार्ने बताए । उनी सभामुख निर्वाचित भए अमेरिकी इतिहासमा उक्त पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति बन्नेछन्।

डेमोक्रेटहरूको बलियो प्रदर्शनले आगामी राष्ट्रपतीय निर्वाचनका लागि पार्टीभित्रका सम्भावित उम्मेदवारलाई समेत बलियो बनाउन सक्नेछ। यसले उपराष्ट्रपति जे.डी. भान्सलगायत ट्रम्पनिकट रिपब्लिकन नेताहरूको राजनीतिक भविष्यमा पनि प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : ३९ बजे

नेपाल प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा.

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो

काठमाडौँ – सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट