खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ।
दूधकोशीस्थित जयरामघाटदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३५ किलोमिटर सडक विसं २०६७ मा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको केही वर्षमै उप्किएर सडकमा खाल्डाखुल्डी बनेपछि यस मार्गमा यात्रा जोखिमपूर्ण बन्दै आएको छ ।
खोटाङका १० स्थानीय तहसँगै छिमेकी भोजपुरका सवारीसाधन पनि यही मार्ग हुँदै काठमाडौँलगायत विभिन्न सहर आवतजावत गर्छन् । दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने यो सडक राजधानी काठमाडौँसहित विभिन्न सहर आवतजावत गर्ने प्रमुख मार्ग हो । विश्वप्रसिद्ध धार्मिकस्थल हलेसी दर्शन तथा अवलोकन गर्न आउने दर्शनार्थीले पनि यही सडक प्रयोग गर्छन् ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी पुग्ने सडक साँघुरो हुनुका साथै ठाउँठाउँमा खाल्डाखुल्डी छन् । कालोपत्र उप्किएर बनेका खाल्डामा वर्षायाममा पानी जम्ने र हिउँदमा धुलो उड्ने गरेको स्थानीय सर्वधन बस्नेतले बताए।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी एवं इन्जिनियर भरत श्रेष्ठका अनुसार सडक मर्मतका लागि कात्तिक १६ गते एसआरबी बिल्डर्स सिन्धुपाल्चोकसँग सात करोड २१ लाखमा ठेक्का सम्झौता गरिएको हो ।
‘कालोपत्र उप्किएर खाल्डाखुल्डी भएका ठाउँमा मर्मत गर्ने र जीर्ण भागमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको छ । निर्माण कम्पनीले तिहारपछि काम सुरु गर्ने तयारी गरेको छ’, उनले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने र जीर्ण भाग पुनःनिर्माण गर्ने काम सम्पन्न भएपछि तत्काल देखिएको समस्या समाधान हुनेछ ।’
योजना कार्यालयका अनुसार आगामी जेठ मसान्तभित्र मर्मतको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि जीर्ण सडक मर्मत हुने भएपछि स्थानीयवासी खुसी भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राईले जयराम–हलेसी सडकलाई मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार स्तरोन्नति गर्न र तत्काल खाल्डाखुल्डी मर्मत गर्न आफूहरूले निरन्तर माग गर्दै आएको बताए।
उनका अनुसार सडकको रेखदेख गर्दै आएको मध्यपहाडी राजमार्ग योजना कार्यालय रामेछापको सट्टा सडक विभागलाई जिम्मेवारी दिनसमेत नगरपालिकाले माग गर्दै आएको छ ।
‘तत्काल सडक मर्मत भएपछि केही सहजता हुने देखिएको छ । मध्यपहाडी लोकमार्गका अन्य खण्डको चौडाइ कम्तीमा नौ मिटर छ । तर, जयराम–हलेसीको ३५ किलोमिटर सडकको चौडाइ करिब पाँच मिटर मात्रै छ’, उनले भने, ‘यो सडकलाई स्तरोन्नति गरी मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार बनाउन पटकपटक सङ्घीय सरकारसँग माग गरेका छौँ । तर, सरकारले बेवास्ता गर्दा लामो समयदेखि भोग्दै आएको समस्या समाधान हुन सकेको छैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’
दैनिक लामो तथा छोटो दूरीका सयौँ सवारीसाधन आवतजावत गर्ने व्यस्त सडकमा मर्मतका लागि मात्र ठेक्का लागेपछि यसको चौडाइ विस्तार गर्ने विषय भने अन्योलमै रहेको छ ।
सडक सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि सरकारले स्तरोन्नतिमा चासो नदिएपछि जिल्लावासीले मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार सडक निर्माण गर्न दबाब दिँदै आएका छन् ।
यसैबीच, हलेसीदेखि दिक्तेलबजारसम्मको ४२ किलोमिटर सडक भने एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा कालोपत्र गरिएको छ । मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार सडक कालोपत्र भएपछि दिक्तेल–हलेसी खण्डमा यात्रा सहज भएको छ ।














प्रतिक्रिया