काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको प्रगति लक्ष्यको तुलनामा सन्तोषजनक देखिएको छ ।
रक्षा मन्त्रालयमा मङ्गलबार आयोजित प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत विवरणअनुसार चालुतर्फ १०४.०९ प्रतिशत र पुँजीगततर्फ ४३.२४ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षमा रक्षा मन्त्रालय र मातहतका निकायका लागि चालुतर्फ ६० अर्ब ३० करोड रुपैयाँ र पुँजीगततर्फ ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकमा वार्षिक विनियोजित बजेटको तुलनामा कुल २६.८७ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा मन्त्रालयले वार्षिक अनुगमन योजना, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन कार्ययोजना तयार गरेको छ । त्यस्तै, राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८६ चैत मसान्तसम्म थप गरिएको छ ।
बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले द्रुतमार्ग आयोजना निर्धारित समयभित्र सम्पन्न गर्नेगरी काम भइरहेको जानकारी दिए । उनले आयोजनाको काठमाडौंस्थित सुरुआती विन्दुमा देखिएका समस्या समयमै समाधान गर्नुपर्नेमा जोड दिए ।
रक्षा सचिव इन्दु घिमिरेले थपिएको समयावधिभित्र द्रुतमार्ग निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरिन् । यसै अवधिमा राष्ट्रिय सेवा दल र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा दर्ता गरिएको उनले जानकारी दिइन् ।
मन्त्रालयको योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका सहसचिव उदय राना मगरका अनुसार द्रुतमार्ग आयोजनाको हालसम्मको भौतिक प्रगति ५०.५४ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकका लागि निर्धारित लक्ष्यको तुलनामा आयोजनाको भौतिक प्रगति ८०.८९ प्रतिशत र वित्तीय प्रगति ८९.५६ प्रतिशत रहेको उनले बताए ।
बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले पहिलो त्रैमासिकमा लक्षित कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक रहेको बताएका थिए । उनीहरूले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई तीव्रता दिन ‘विकास आयोजना सहजीकरण विधेयक’ ल्याउनुपर्नेमा समेत जोड दिएका थिए ।














प्रतिक्रिया