इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग « Khabarhub

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ । आयोगको यस निष्कर्षले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धक्का पुगेको छ ।

नेतान्याहु र उनका समर्थकहरूले अरब नेतृत्वका दलहरूले विदेशी सहयोगमा निर्वाचनमा धाँधली गरेको र मतदाताको जनमत प्रभावित पारेको आरोप लगाउँदै आएका थिए । तर, उनीहरूले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् ।

निर्वाचन आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचनको निष्पक्षतामा असर पार्ने वा परिणाम प्रभावित गर्ने कुनै अनियमितता फेला नपरेको स्पष्ट पारेको छ ।

निर्वाचन समितिका कार्यवाहक निर्देशक डीन लिभ्नेले प्राप्त सबै उजुरीमाथि छुट्टाछुट्टै र विस्तृत अनुसन्धान गरिएको जानकारी दिँदै निर्वाचन परिणाम अमान्य ठहर गर्ने कुनै आधार नभेटिएको बताए । उनका अनुसार निर्वाचन परिणामले मतदान केन्द्रमा मतदाताले व्यक्त गरेको जनमतलाई सही रूपमा प्रतिबिम्बित गरेको छ ।

निर्वाचन परिणामअनुसार नेतान्याहुको धार्मिक–राष्ट्रवादी गठबन्धनले संसद्मा बहुमत गुमाएको छ भने अरब नेतृत्वका दलहरूले उल्लेख्य सफलता हासिल गरेका छन् ।

निर्वाचनमा विदेशी हस्तक्षेप भएको आरोपबारे इजरायलको गुप्तचर निकाय शिन बेटले छुट्टै अनुसन्धान गरिरहेको निर्वाचन समितिका प्रवक्ताले बताएका छन् । विदेशी पक्षले निर्वाचन प्रभावित पार्न खोजेको आरोप गम्भीर भए पनि त्यसले निर्वाचन परिणाममा असर पारेको प्रमाण नभेटिएको समितिले जनाएको छ ।

निर्वाचन परिणाम बुधबार औपचारिक रूपमा प्रमाणीकरण भएपछि राष्ट्रपति आइज्याक हर्जोगले संसद्मा निर्वाचित दलका प्रतिनिधिसँग सरकार गठनबारे परामर्श गर्नेछन् । दुई दिनसम्म चल्ने परामर्शपछि उनले सरकार गठनका लागि सबैभन्दा उपयुक्त अवस्थामा रहेको नेतान्याहु वा उनका प्रमुख प्रतिद्वन्द्वी तथा विपक्षी नेता गादी आइजेनकोटमध्ये एकलाई जिम्मेवारी दिनेछन् ।

तर, नेतान्याहुको गठबन्धन र आइजेनकोट नेतृत्वको विपक्षी समूह दुवैले सरकार गठनका लागि आवश्यक संसदीय बहुमत जुटाउन सकेका छैनन् । यस्तो अवस्थामा आइजेनकोट र अरब नेतृत्वका केही दलबीच गठबन्धन बन्न सक्ने सम्भावना देखिएको छ ।

दुवै पक्षले सरकार गठन गर्न नसकेमा इजरायलमा आगामी वर्षको सुरुतिर पुनः निर्वाचन हुन सक्नेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : ५४ बजे

तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर)

काठमाडाैँ – हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

डकार– अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा

राइफलको गोलीसहित एकजना पक्राउ

काठमाडौँ– थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित

मादलको माग उच्च

नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको