तेह्रथुम– वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्र पुगेको सङ्केत गर्छ ।
यो स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको तीन लाख र स्थानीयको सहयोग गरी कुल पाँच लाख ८५ हजार रुपैयाँ बजेटमा निर्माण गरिएको हो ।
लालीगुराँस स्तम्भ लालीगुराँस नगरपालिकाको पहिचानजस्तै बनेको पूर्वप्रदेशसभा सदस्यसमेत रहेका लालीगुराँस संरक्षण अभियन्ता लक्ष्मण तिवारीले बताए । गुराँस याममा मात्रै फुल्छ, तर यहाँ पुग्ने पर्यटकलाई गुराँसको सदाबहार बिम्ब देखाउन लालीगुराँस स्तम्भ निर्माण गरिएको उनको भनाइ छ ।
कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा स्थानीय पहिचान झल्काउन र स्थान विशेषको विशेषता बुझाउन ‘स्तम्भ’ निर्माण गर्ने गरिएको छ । स्थान विशेषसँग सम्बन्धित यस्ता स्तम्भले सम्बन्धित ठाउँको पहिचान दिन साथै प्रचारप्रसारमा सहयोग पुगी पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको स्थानीय बताउँछन् । स्थान विशेषको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व साथै स्थानीय विशेषता ती स्तम्भले बोकेका हुन्छन् ।
जिल्ला सदरमुकाम म्याङलुङमा निर्मित मेयङ अर्थात् बिरालोको स्तम्भले म्याङलुङको ऐतिहासिकता बोकेको छ । मेयङ अर्थात् बिरालोको स्तम्भ म्याङलुङको बिम्ब हो । परापूर्वकालमा म्याङलुङ नगरपालिका– २ नागदहमा बिरालो आकारको ढुङ्गाको रूपमा प्रकट भएकी शक्तिशाली मेयङलुङ देवीलाई पछि हालको म्याङलुङ बजारमा प्रतिस्थापन गरिएको इतिहास छ ।
यिनै देवीको नामबाट सदरमुकामको नाम मेयङलुङ हुँदै म्याङलुङ रहन गएको हो । स्थानीय पालिकाको नामसमेत यसै देवीको नामबाट म्याङलुङ नगरपालिका राखिएको छ । यही मेयङलुङको मिथक र ऐतिहासिकतालाई जीवन्त राख्न यो स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माणको अगुवाइ गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका तत्कालीन सचिव तेजमान कन्दङवाले बताए ।
आर्थिक वर्ष २०७२–७३ मा म्याङलुङ नगरपालिकाको पाँच लाख र अन्य सहयोगी दाताको सहयोग गरी करिब ३५ लाख लागतमा रेलिङ, सिसी क्यामेरा र घण्टाघण्टामा बिरालोको आवाज निकाल्ने साउन्ड प्रविधिसहितको मेयङलुङ स्तम्भ निर्माण गरिएको थियो ।
स्थानीय पहिचान र विशेषता झल्काउन निर्माण गरिएका यस्ता स्तम्भले पर्यटकलाई आकर्षित गर्ने र उनीहरूमा त्यसबारे जान्ने इच्छा जागृत गराउने स्थानीय बताउँछन् । पर्यटक र यात्रा गर्ने क्रममा यात्रुहरूले यी स्तम्भमा तस्बिर खिच्ने, रिल र टिकटक बनाई सामाजिक सञ्जालमा पोष्ट गर्दा यी स्थानको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । सदरमुकाम म्याङलुङमा मेयङलुङको स्तम्भ निर्माण गरिएपछि मानिसहरूको चहलपहल बढेको म्याङलुङकी स्थानीय कल्पना ल्वागुनले सुनाइन् ।
विशेषतः मध्यपहाडी लोकमार्गमा पर्ने बजार र चोकहरूमा यस्ता स्तम्भ निर्माण गरिएका छन् । स्थानीय बजार र गाउँठाउँको इतिहास र चिनारी झल्काउनेमात्र होइन स्थानीय कृषि उपजको प्रचारप्रसार र प्रवर्द्धन गर्न पनि स्तम्भ निर्माण गरिएका छन् ।
स्थानीय कृषि उपज लसुनको लागि प्रख्यात लसुने बजारमा लसुनको स्तम्भ निर्माण गरिएको छ । लालीगुराँस नगरपालिका वडा नम्बर ७ र ९ को सङ्गमस्थलमा पर्ने लसुने बजारमा देश–विदेशमा रहेका लसुनेवासीको सहयोगमा २०७२ सालमा लसुनको स्तम्भ निर्माण गरिएको स्थानीय हिमबहादुर खत्रीको भनाइ छ ।
बजारको मध्यभागमा मध्यपहाडी लोकमार्ग सडकसँगै रहेको ‘लसुन स्तम्भ’ देखेरै धेरैले यो ठाउँको नाम र विशेषता थाहा पाउने गरेको उनको भनाइ छ ।
त्यस्तै, म्याङलुङ नगरपालिका–९ स्थित हलिमेला बजारमा पनि काँधमा हलो बोकेको हलीको स्तम्भ निर्माण गरिएको छ । म्याङलुङ नगरपालिका र स्थानीयको सहयोगबाट निर्माण गरिएको स्तम्भको गएको वैशाखमा उद्घाटन गरिएको थियो ।
खेतैखेत रहेको हलिमेलामा पहिले खेतीपाती गर्ने क्रममा हलीहरू बस्दथे । पछि उनीहरुले नै यहाँ मेला लगाउने प्रचलनसमेत सुरु गरे । अहिले पनि हरेक वर्ष वैशाख १, २ र ३ गते हलीमेलामा मेला लाग्छ । त्यसैले यो ठाउँको नाम हलीमेला रहन गएको बताइन्छ । हलीमेलाको यही ऐतिहासिकतालाई अक्षुण राख्न स्तम्भ निर्माण गरिएको स्थानीय खगेन्द्र तामाङले बताए ।
सदरमुकाम म्याङलुङको टुँडिखेलमा ढाका बुनिरहेको महिलाको स्तम्भ निर्माण गरिएको छ । यसले २०७९ सालमै ढाकाको राजधानी घोषणा गरिएको तेह्रथुमे ढाकाको लोकप्रियतालाई उजागर गर्छ । प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको यो स्तम्भले स्थानीय ढाका बुन्ने महिलाहरूको सम्मान भएको म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदीले बताइन् ।
यसरी निर्माण गरिएका स्तम्भले इतिहास र परम्परालाई जीवन्त राख्न, स्थानीय विशेषता र महत्व दर्शाउन साथै पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगेको जिल्लावासी बताउँछन् ।
यसका लागि स्थानीय सरकार र स्वयं स्थानीयसमेत एकजुट हुने गरेका छन् । पर्यटन प्रवर्द्धन र मौलिकता संरक्षणका लागि अपनाइएको यो शैली सुन्दर र प्रभावकारी बनेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताए । (रासस)













प्रतिक्रिया