सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण « Khabarhub

सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायती र फ्रान्सेली लडाकु विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशंका गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक सहर पालमिराको उत्तरतर्फ रहेको एक पहाडी संरचनाभित्रको भूमिगत सुविधालाई लक्षित गरी आक्रमण गरिएको थियो । सो स्थानमा आइएसका सदस्यहरूले हतियार तथा विस्फोटक सामग्री भण्डारण गरेको सूचनाका आधारमा कारबाही गरिएको जनाइएको छ ।

बेलायत र फ्रान्स विगत एक दशकभन्दा बढी समयदेखि आइएसविरुद्ध सङ्घर्ष गर्दै आएको अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनका सदस्य राष्ट्र हुन् । जारी विज्ञप्तिअनुसार बेलायती वायु सेनाले भोयजर रिफ्युलिङ ट्यांकरको सहयोगमा टाइफुन एफजिआर–४ लडाकू जेट प्रयोग गरेको थियो भने फ्रान्सेली लडाकू विमानहरू पनि संयुक्त आक्रमणमा सहभागी भएका थिए ।

बेलायती वायु सेनाले पेभवे–४ निर्देशित बम प्रयोग गरी उक्त भूमिगत केन्द्रका तलतर्फ रहेका धेरै पहुँच सुरुङहरूलाई लक्षित गरेको जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणपछिको विस्तृत मूल्यांकन प्रक्रिया जारी रहे पनि प्रारम्भिक संकेतहरूले ‘लक्ष्य सफलतापूर्वक संलग्न गरिएको’ देखाएको छ ।

बेलायतका रक्षामन्त्री जोन हेलीले यस कारबाहीले मध्यपूर्व क्षेत्रमा आईएस र यसको ‘हिंसात्मक विचारधारा’ को कुनै पनि पुनरुत्थान रोक्न बेलायत आफ्ना सहयोगी राष्ट्रहरूसँग काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको सन्देश दिएको बताएका छन्।

यस आक्रमणबारे सिरियाली सरकारको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । सिरिया गत वर्षको अन्त्यतिर औपचारिक रूपमा आईएसविरोधी अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल भएको थियो ।

सन् २०१९ मा सिरियामा निर्णायक सैन्य पराजय भोगेपछि पनि आइएसका स्लीपर सेलहरू अझै सक्रिय रहेको मानिन्छ । ती समूहहरूले सिरिया र इराकमा छिटपुट तर घातक आक्रमणहरू गर्दै आएका छन्, जहाँ एक समय उनीहरूले तथाकथित ‘खिलाफत’ घोषणा गरेका थिए । 

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार आइएससँग अझै पनि सिरिया र इराकका आफ्ना पुराना गढ क्षेत्रमा करिब पाँच हजारदेखि सात हजार सदस्यहरू सक्रिय छन् ।

गत महिना, पालमिरा नजिकै भएको एक आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषे मारिएपछि त्यसको प्रतिशोधस्वरूप ट्रम्प प्रशासनले सिरियामा आईएस लडाकूहरू र हतियार केन्द्रहरूलाई ‘उन्मूलन’ गर्ने उद्देश्यले अमेरिकी सैन्य आक्रमण सुरु गरेको थियो । 

अहिलेको बेलायत–फ्रान्सको संयुक्त हवाई कारबाही पनि त्यही व्यापक सुरक्षा प्रयासको निरन्तरता मानिएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ५७ बजे

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज– पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक

दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई

सामाजिक न्याय र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधानमै समेटिएको

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौं– कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवन

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बलेवा– बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी

काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’