शनिबार सबेरै बिहान अमेरिकाले दक्षिणी अमेरिकी मुलुक भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मदुरोको दम्पत्तिलाई नियन्त्रणमा लिएको छ । दुवैजनालाई अहिले न्यूयोर्कस्थित एक बदनाम कारागारमा बन्दी बनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूऔषध आतंकवाद रोक्न उक्त कारबाही गरिएको बताएका छन् । यद्यपि, पछिल्ला दुई दिनमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यहाँको तेल खानी नियन्त्रणमा लिइने बताए । उनको मूल उद्देश्य पनि भेनेजुएलाको तेलखानी कब्जा गरेर बिक्री गर्नु रहेको कुरा छिपेको छैन ।
अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको विषयलाई लिएर अमेरिकी कंग्रेसका केही सिनेटरदेखि थुप्रै अमेरिकनले पनि विरोध जनाएका छन् । चीन र रसिया लगायतका मुलुकले तिखो प्रतिक्रिया दिइसकेका छन् । तर, अमेरिकासँग लामो समयदेखि विभिन्न विषयमा साझेदारी गर्दै आएका थुप्रै देश मौन छन् ।
अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई लिएर नेपाली समाज पनि दुई तप्कामा विभाजित छ । एउटा तप्का अमेरिकी कदम ठिक रहेको भन्ने छ भने अर्कोले कडा विरोध गरिरहेको छ । दलहरू पनि यसमा विभाजित छन् । यसै विषयमा खबरहबले प्राध्यापक खगेन्द्र प्रसाईंसँग भेनेजुएलामा भएको अमेरिकी हमला र त्यसपछि तरंगित विश्वराजनीतिबारे प्रश्न गरेकाे छ । प्रस्तुत छ प्रसाईंसँग गरिएको कुराकानीको सम्पादित अंश :
अमेरिकाले भेनेजुयलामाथि आक्रमण गरेर राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएको घटनालाई तपाईंले कसरी लिनुभएको छ ?
योचाहिँ सामान्य आतंकवादको परिभाषाभित्रको घटना हो । यो आतंकवादी क्रियाकलाप हो । यो संयुक्त राष्ट्रसंघको मान्यताविरुद्धको कदम हो, शान्तिविरुद्ध र र सार्वभौमसत्ता बोकेको एक राष्ट्रविरुद्धको कदम हो ।
कुनै पनि बहानामा युद्धलाई उचित मान्न सकिँदैन । संयुक्त राष्ट्र संघको कानुनले दुईवटा अवस्थामा मात्रै युद्धको कल्पना गरेको छ । एउटा, सुरक्षा परिषद्ले अनुमति दिएमात्रै युद्ध गर्न पाइन्छ । अर्को, आत्मरक्षाका लागि बन्दुक उचाल्न पाइन्छ ।
अनि, अमेरिकी कानुनअन्तर्गत पनि अर्को देशमा हमला गर्न कंग्रेसले अधिकार दिनुपर्छ । अमेरिकाको संविधानको प्रावधानमा कंग्रेसले अधिकार दिएपछि मात्रै युद्धको निर्णय गर्न पाइन्छ । कंग्रेससँग मात्रै त्यस्तो निर्णय गर्ने अधिकार छ ।
अहिले केही कंग्रेसका सिनेटरहरूले आफूहरू यसमा ‘सक’ भएको भन्दै टिप्पणी राखका छन् । सम्भवतः अमेरिकाको इतिहासमा पहिलोपटक त्यहाँका मिडियाहरूमा पनि दुई पक्षमा बहस भएको छ । इराक–अफगानिस्तान युद्धको बेलामा कहिल्यैपनि विवाद भएको देखिएन तर, अहिले त्यस्तो देखिएको छ ।
लागू पदार्थ ओसारपसारको विषयलाई लिएर आक्रमण गरिएको भनिएको छ, के त्यस्तो अवस्थामा अमेरिकाले अर्को मुलुकमा आक्रमण गर्न सक्ने अवस्था हो ?
अमेरिकामा विश्वका अन्य मुलुकहरूबाट ठूलो मात्रामा लागूपदार्थ भित्रिने गरेको त्यहाँका मिडिया रिपोर्टहरूमा आउने गरेको छ । भेनेजुएला ड्रग डिलर नै हो भनेर कहाँ प्रमाणित गर्नुभयो तपाईंले ? अर्को देशको राष्ट्रपति ड्रग डिलर नै हो भनेर अपहरण गर्ने अधिकार कहाँ हुन्छ र ?
आरोप पनि आफैँ लगाउने, न्याय पनि आफैँले घोषणा गर्ने हो भने त बोक्सी पनि आफैँ, धामी पनि आफैँ भएन र ? त्यो एउटा बहाना मात्रै हो, त्यो होइन भनेर ट्रम्पले गरेको पत्रकार सम्मेलनबाटै बुझिएन र ?
यो प्रश्न नै तपाईंले गलत गर्नुभयो, पत्रकार सम्मेलनमा ‘त्यहाँ ठूलो मात्रामा तेल छ, अरु विषय पनि छन्, त्यो हाम्रो हातमा हुन्छ, हामी संसारलाई बेच्छौँ’ भनेको होइन र ? अब यसमा झुक्किनुपर्ने के कुरा छ र ? संसारको सबैभन्दा ठूलो तेल खानी हो त्यो । एकजना नेपाली परराष्ट्रविद्ले अमेरिकाले लागूपदार्थको विषयलाई लिएर भेनेजुएलामा आक्रमण गर्नसक्ने भन्दै ‘सार्वभौम भन्ने विषय निरपेक्ष हुँदैन’ भन्नुभयो । यसरी पनि लिन सकिन्छ ?
त्यस्तो तर्कलाई मैले राक्षसी चेतना भन्छु । त्यसो भए त जसले जसलाई पनि मार्दिए भैगो नि । भोलि चीन वा भारतले हामीमाथि आक्रमण गरे पनि त्यही भयो होइन र ? सामान्य आधारभूत चेतना पनि नहुने, जे गरे पनि जस्टिफाई गर्ने कुरा त्यो राक्षसी चेतना होइन र ?

विश्वका केही देशले औपचारिक प्रेस विज्ञप्ति निकाले पनि व्यवहारमा त चुप लागेर अमेरिकालाई समर्थन गरेजस्तो देखिएको हो ?
चुप लागेका छैनन् । युद्धको असहज स्थितिमा एकदमै छिटो प्रतिक्रिया गरे अवस्था बिग्रने ठान्छन् विश्वका शक्ति राष्ट्रहरूले । भारतले जिब्रो चपाएर कुरा गरेको छ । भोलि भारतलाई पर्दा के हुन्छ भन्ने कुरा बिर्सन्छ होला सायद ।
शक्तिशाली राष्ट्र सम्झेर बुझेर गर्छन्, त्यसले झन ठूलो तनाव सिर्जना गर्छ भनिन्छ । अवस्थालाई थप बिग्रन नदिने सोच्छन् ।
इजरायल–इरान युद्धको बेला पनि रसिया, चीन कसैले पनि आक्रामक प्रतिक्रिया दिएनन् । विश्वमा अर्को देशमा आक्रमण गर्नुपर्ने कुनै कारण नहुँदा भेनेजुएलाले अमेरिकालाई आक्रमण गरेको छैन, यसभन्दाअघि अमेरिकाले भेनेजुएलाको एउटा जहाज लुटेको छ । सबैले त्यसलाई ‘पाइरेसी’ भनेका छन् । त्यसो गर्न मिल्छ र ? मलाई लाग्छ यो धेरै संवादको विषय होइन, विश्वस्तरमा नै यो निन्दा गर्ने विषय हो ।
केही विश्लेषकले रसियाले युक्रेनमाथि गरेको आक्रमण र अहिले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई तुलना गरेर तर्क गरेको पाइन्छ ? यसलाई कसरी हेर्न सकिन्छ ?
मैले व्यक्तिगत रूपमा के चाहन्छु भने संसारमा युद्ध नहोस भन्ने चाहन्छु, संसारभरका मान्छेले युद्ध नहोस भन्ने चाहन्छन् । युक्रेनमा रसियाको हमलालाई ‘प्रोभोको हमला हो’ भनेर थुप्रै अमेरिकन लिबरल व्याख्याताले भनेका छन् । प्रोभोको भनेको के हो भने अमेरिकाले नाटोलाई एक इन्च विस्तार गर्नेछैनौँ भनेर सोभियत युनियन कोल्याप्सका बेला कसम खाएको थियो ।
तर, त्यो कुरा लागू भएन, नाटो लगातार विस्तार भइह्यो । हुँदाहुँदै युक्रेनमा नाटो पस्ने परिस्थिति बन्यो । त्यो पनि हिजोको सहमतिविपरीत । हो, त्यो अवस्था र भेनेजुएलाको अवस्था फरक होइन र ? यद्यपि,। रसिया र युक्रेनबीच युद्ध हुनु हुँदैनथ्यो । तर, अवस्था त फरक हो नि त ।
पछिल्लो समयमा अमेरिका–रसिया–चीनबीचको जि–थ्री प्रसंग पनि आएको छ । कतै यी शक्तिले विश्वका स्रोत साधन बाँड्ने अघोषित समझदारीअनुसार शक्तिशाली मुलुक मौन बसेको जस्तो देखिएको हो कि ?
त्यो सिद्धान्त बजारमा आएको छ । तर, मैले औपनिवेशिक अवस्थाको जुन विश्व थियो, त्यो विश्व व्यवस्थामा भू–भागहरू टेरिटोरी र देशहरू देश–देशका भागमा पर्थे । फ्रान्सले यो लिने, अमेरिकाले यो लिने, ब्रिटिसले यो लिने, पोर्चुगलले यो लिने भनेर बाँडिन्थ्यो । त्यो औपनिवेशिक अवस्थाको एउटा विशेषता हो ।
जसलाई ‘टेरिटोरियल डिभिजन अफ द वर्ल्ड’ भनेर लेनिन लगायत धेरै मान्छेले व्याख्या गरे । तर, अहिलेको संसार त्यस्तो छैन । कुनै पनि देशमा पाँच वा दशवटा मुख्य शक्तिराष्ट्रको व्यापार चलेको छ । एकाधबाहेक अफ्रिकाको कुनै देशमा एउटैको एकाधिकार छैन । नेपालमै पनि व्यापारको विविधता हामीले हेर्न सक्छौँ । नेपालमा विश्वका धेरै देशबाट सामग्रीको आयात र निर्यात हुन्छ ।
भौगोलिक विभाजन गरेर अहिलेको विश्व व्यवस्था चल्छ भन्ने कुरा मलाई लाग्दैन । चिनियाँहरूको ठूलो लगानी छ भेनेजुएलामा । त्यसले कसरी भेनेजुएला अमेरिकाको हातमा जान दिन्छ ? त्यहाँ चीनले ठूला–ठूला प्रशोधन केन्द्र बनाएको छ, ठूला–ठूला पूर्वाधार बनाएको छ ।
सेनाको आधुनिकीकरणमा चिनियाँहरूको भूमिका छ । भेनेजुएला त्यो कारणले पनि अमेरिकासँग झुक्न चाहँदैन । अब तैँले चला भनेर चीनले अमेरिकालाई भन्छ होला र ? बाँडेर लिन चाहन्छन् भनेर व्याख्या गर्नेहरू पनि छन् तर, त्यसो गर्दा त चीन र रसियालाई त घाटा छ नि ।
ताइवान र फिलिपिन्समा पनि अमेरिकाको मात्रै व्यापार छैन । फिलिपिन्स अमेरिकाको स्याटेलाइट स्टेट हो, तर फिलिपिन्सको चाइना तेस्रो ठूलो व्यापार गर्ने देश हो । जापान जहाँ अमेरिकी सेना छ, त्यो देश नै चीनको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । दक्षिण कोरिया पनि चीनको सबैभन्दा ठूलो साझेदार हो ।
अहिलेको अवस्थामा चीनले दक्षिण कोरियाबाट हात झिके त्यहाँको जनजीवनमै असर पर्छ । बाँड्ने कुरा पुरानो औपनिवेशिक कालको कुरा हो, अहिलेको विश्व परिवेश धेरै परिवर्तन भएको छ भन्ने मैले भन्दै आएको छु ।
तर, प्रविधि र सेनाले व्यापारलाई पन्छाएर पनि आउन सक्छ भनेर पनि हेर्न सकिन्छ नि ?
त्यसो होइन । प्रविधि भनेको कहिल्यै पनि आइसोलेटेड एवम् सेप्रेट भएर बस्दैन । मानवजातिको सबै समयमा प्रविधि थियो । हरेक युगको प्रविधि क्रान्तिकारी थियो । साथै, सेनाको शक्ति पनि प्रविधिमा निर्भर गर्दैन र ? यहि प्रविधिको उत्पादन त हो नि हतियार होइन र ?
भेनेजुएलामा आक्रमणको कारण भू–राजनीतिक बढी हो कि स्रोत साधन नियन्त्रण बढी हो ?
भू–राजनीति नै स्रोत साधनसँगको प्रतिस्पर्धा हो । स्रोत साधनमा आँखा गाड्ने एउटा र स्रोत साधन अर्को भन्ने हुँदैन । भू–राजनीति भनेकै त्यो क्षेत्रका स्रोत साधन कसको हकमा हुने भन्ने हो । कहिलेकाहीँ ‘मिलिटरी प्रपोज’ भन्ने गरिन्छ तर, त्यो स्रोत साधन कब्जा गर्ने नियतले नै राखिन्छ ।
कुनै ठाउँमा सेना किन राखिन्छ भने त्यो ठाउँको भूगोल, स्रोत साधन लगायत सबै विषयलाई नियन्त्रणमा लिनको लागि हुन्छ । मिलिटरी प्रपोज एउटा र स्रोत साधन अर्को उद्देश्यले गरिँदैन ।
चीन र ब्रिटेनबीचमा अफिम वार भएको थियो । त्यो युद्ध किन भयो भने ब्रिटेनको अफिम चीनले खपत गर्दिनुपर्ने भन्ने थियो, चीनले नमानेपछि युद्ध भयो, युद्धमा चीन हार्यो । त्यसपछि अफिम चीनमा बेच्न सुरु भयो । त्यसैले युद्ध स्रोत साधनकै लागि हुन्छ ।
अब अमेरिका–भेनेजुएला प्रकरण कसरी अघि बढ्न सक्ला भनेर अनुमान गर्न सकिन्छ ?
यसबारेमा अमेरिकाभित्र कसरी प्रतिक्रिया हुन्छ ? युरोपले कस्तो प्रतिक्रिया दिन्छ ? भेनेजुएलाभित्र कसरी मान्छे उठ्छन् ? चीन र रसियाको प्रतिक्रिया कस्तो हुन्छ ? यी कुराहरूलाई एक ठाउँमा राखेर मात्रै अनुमान गर्न सकिन्छ ।













प्रतिक्रिया