२६ वर्षे उम्मेदवारको अठोट- नागरिकका मौलिक हक रक्षा गर्छु, आश्वासनले मत पाउने दिन गए « Khabarhub

अन्तर्वार्ता 

२६ वर्षे उम्मेदवारको अठोट- नागरिकका मौलिक हक रक्षा गर्छु, आश्वासनले मत पाउने दिन गए



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर–२ मा यसपटक एमाले र कांग्रेसको किल्ला भत्काउने तरखरमा छन् । 

उनी जम्मा २६ वर्षका छन् । वैकल्पिक शक्तिको रुपमा उदाएको तत्कालीन विवेकशील पार्टीको उनी कान्छो केन्द्रीय सदस्यसमेत थिए । 

त्यसैगरी कानून व्यवसायी तथा प्रतिनिधिसभा सदस्यको सचिवालयमा प्रमुख भएर जिम्मेवारी निभाइसकेका छन् । 

साथै, उनले राजनीतिशास्त्रबाट स्नातकोत्तर गरेका छन् । बेथिति र भ्रष्टाचारको विरुद्धमा बोल्दा गोली खाएका जेन–जीको रगत खेर जान नदिन उनी चुनावी मैदानमा होमिएका छन् । 

सहिदका सपना आर्यघाटमा नभई, कर्मले दिनुपर्ने भन्दै उनी यतिबेला घरदैलो कार्यक्रममा छन् । पुराना दलहरूले आश्वासनको भरमा चुनाव जित्दै आएको अवस्थामा उनी आफूलाई पृथक् बताउँदै जनताको असली मुद्दा संसद्मा राख्न मत मागिरहेका छन् । 

घरदैलो कार्यक्रममा हुनुहुन्छ ? मतदाताको प्रतिक्रिया कस्तो छ ? 

मतदाताको प्रतिक्रिया उत्साहजनक छ । पुराना दलप्रति उच्च वितृष्णा र नयाँ दलप्रति उच्च आकर्षण छ । तर यी दुवैखाले प्रतिक्रिया हानिकारक हुन् । पुराना दलहरूप्रतिको अत्यधिक हेट (घृणा) भाव राखेर कसैले हिँड्नु हुँदैन । मैले पनि हिँडेको छैन । 

एमाले र कांग्रेसको पकट क्षेत्रमा उमेर र राजनीतिक हिसाबले अपरिपक्व तपाईँलाई मतदाताले विश्वास गर्लान् त ?

झट्ट हेर्दा राजनीतिक रुपले अपरिपक्व देखिन्छु होला । तर २०७३ सालदेखि वैकल्पिक राजनीतिमा होमिएको हो– तत्कालीन विवेकशील दलबाट । २०७६ मा जनकपुरमा भएको पार्टीको महाधिवेशनमा सबैभन्दा कान्छो केन्द्रीय सदस्यको रुपमा निर्वाचित भएँ । 

त्यसरी दलगत राजनीतिको अनुभव  सँगसँगै २०७९ मा प्रतिनिधि सभाको निर्वाचनपश्चात् गठित प्रतिनिधिसभा सदस्य माननीय असिम शाहको सचिवालयमा साढे दुई वर्ष प्रमुख भएर काम गरेँ । 

सचिवालय प्रमुख भएर काम गर्दै गर्दाको संसदीय अनुभव र सँगसँगै पेशाले कानून व्यवसायी हुँ । विधायिकी भूमिकामा सांसद हुनुपर्छ भन्दै गर्दा विधेयकमा खेल्न सक्ने, कानूनको जानकार र राजनीतिको पनि जानकार भएको हिसाबले आफूलाई परिपक्व ठान्छु । 

मैले मेरो आफ्नो भूमिकाको बारेमा राम्रोसँग बुझेको छु । मतदाताको अगाडी यसरी नै प्रस्तुत भइरहेको छु । राजनीतिक रुपमा कच्चा र नयाँ यात्रा भन्ने होइन ।

पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको छैन । मतदाताकोमा पुग्दै गर्दा सांसद्को रुपमा भोलि आफूले गर्नुपर्ने काम के–के देख्नुभएको छ ? 

पार्टीको घोषणापत्र के आउँछ ? केन्द्रको घोषणापत्रमै आधारित रहेर आफ्नो क्षेत्रको घोषणापत्र तय गर्ने हो । केन्द्रले शिक्षामा के गर्ने ? 

स्वास्थ्यमा के गर्ने ? यातायातमा के गर्ने ? लगायतका विविध विषयका एजेन्डासहित आउँछ । त्यही अनुसार सहकार्य गर्ने हो । तर क्षेत्र विशेष मुद्दाहरू छन् । घरदैलोमा जाँदै गर्दा आएका मुद्दाहरूलाई मैले उठाउने हो । 

त्यहाँ जाँदा मैले पाएका कुरामध्ये सुकुम्बासी समस्या छ । पुराना पार्टीका नेताहरूले आजको भोलि नै पुर्जा दिने बाचा गरेको धेरै वर्ष भइसक्यो । जितेर गएपछि सबैभन्दा पहिले पुर्जा ग्यारेन्टी गर्छु भनिरहेको निकै लामो समय भयो । आश्वासन मात्रै देखाएर हिँड्नुभयो । तर सुकुम्बासीलाई पुर्जा दिने भन्ने समस्या पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै छ । 

केन्द्रको घोषणापत्रमा पक्कै यसको बारेमा आउँछ । भूमिहीनका समस्या छन् । त्यसैगरी तल्लो भेगमा जो नारायणी कटानका विषय छन् । मानव र वन्यन्तुबीचको द्वन्द्वका कुराहरू छन् । मध्यवर्ती क्षेत्रमा त्यहाँका बासिन्दाले भोग्न परेको पीडाहरू छन् । यसलाई कानूनी वा नीतिगत तहबाटै समाधान गर्छु । 

अर्को मध्य भागको कुरा गर्दा तरकारी खेतीका कुराहरू जसले उचित मूल्य पाइरहेका छैनन् । दुग्ध किसानहरूले मूल्य पाइरहेका छैनन् । अझ दक्षिणतिर पुग्दा गण्डकी प्रदेशकै लाइफलाइन मानिएको त्रिवेणी र दुम्किबास सडकखण्डको समस्या छ । लामो समयदेखि पुराना पार्टीले घोषणापत्रमा समावेश गरेपनि समाधानको लागि पहल नभएको स्थिति छ । 

त्यसमा वन ऐनको कुरा छ । मध्यवर्ती क्षेत्रसँगको कानूनको कुरा छ । राष्ट्रिय निकुञ्जसँग सम्बन्धित कानूनको कुरा छ । बाटो निर्माण गर्ने भन्नेमा कुनै विमति नहोला तर निकुञ्जभित्रबाट बाटो लाने भन्ने कुरा कानूनी अप्ठ्याराहरुले रोकिएको छ । त्यसको पहल गर्छु । उत्तरी भेगतिर पुगेको थिएँ । पहाडी क्षेत्रमा बसाइँसराईको समस्या रहेछ । खानेपानी तथा सिंचाईको  समस्या छ । 

अवसर नै नभएको र सम्भावना नै नभएको होइन । त्यस क्षेत्रमा अदुवादेखि बेसार असाध्यै राम्रो उत्पादन हुन्छ । अम्रिसो खेती गरेर कुचो बिक्री गर्न सकिन्छ । ती वस्तुको बजारीकरण गरी बसाइँसराई रोक्नुपर्छ । धौवादी फलाम खानीको बारेमा भने म अध्ययनकै क्रममा छु । त्यसक्षेत्रमा पुगिसकेको छैन । केही दिनमै पुगेर बुझ्छु । यिनै मुद्दाहरुमा रहेर काम गर्छु । 

बाँकी म आफैँले बुझाउन खोजेको कुरा सांसद्को विधायिकी भूमिकामा हुन्छु । म निर्वाचित भएर गए पनि नीति, कानून बनाउने हो । तर मतदाताको अपेक्षा बाटाघाटो निर्माणको हुन्छ । भौतिक पूर्वाधारका काम गरिदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ । 

नागरिकका अपेक्षालाई नीति निर्माणमा जोड्नु पर्छ । त्यो भनेको समन्वयकारी भूमिका हुन्छ । पालिकासँग समन्वय गर्ने, सडकको कुरा सडक विभागसँग गर्ने, संघीय मन्त्रालयहरुसँग समन्वय गरेर काम गर्छु । विशेषतः नीति निर्माणको भूमिकासँगै विकास निर्माण भूमिकामा रहन्छु भन्ने प्रतिवद्धता गर्छु । 

विकास निर्माण सँगसँगै नागरिकले शिक्षा, स्वास्थ्य र रोजगारीको पनि व्यवस्थापन चाहन्छन् । त्यसको लागि तपाईँसँग के–कस्ता खाका छन् ? 

काठमाडौं महानगरका पूर्व मेयर तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहको नेतृत्वमा हाम्रो सरकार गठन हुन्छ ।मतदाताको घरदैलोमा पुगिरहँदा हामीले हाम्रो प्रधानमन्त्रीको बारेमा भनिरहेका छौँ । शिक्षा, स्वास्थ्य र रोजगारको विषयमा केन्द्रबाटै घोषणापत्रमा समेटिएर आउँछ । पार्टीले खाका बनाउँछ । हामी त्यसमै बसेर काम गर्ने हो । 

हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीले नै अन्य मन्त्री चुन्ने प्रक्रिया छ । मन्त्रीले आफ्नो भिजनको काम गर्ने छँदैछ । अझ बढी संसदीय दलको ह्विपका कुरा, निर्णयका कुरा र प्रधानमन्त्रीको निर्णयमा मन्त्रीहरू उत्तरदायी हुनुपर्ने कुराहरू छन् । त्यसकारण यी विषयमा पार्टीकै घोषणापत्रमा समेटिएर आउँछ । 

अलिकति आफ्नै क्षेत्रको हिसाबले हेर्ने हो भने कानूनको विद्यार्थी भएका कारणले पनि जो नागरिकका ३१ मौलिक हकहरू छन् । ती सबै हकको कार्यान्वयनको अवस्था कमजोर छ । तीन वर्षभित्र कार्यान्वयन गर्ने भनेर कानून बनायौँ । तर कानून हतारमा बनाइएका छन् । त्यसलाई संशोधन गर्नुपर्नेछ । मेरो भूमिका कानून केन्द्रित रहन्छ । 

जेन–जी आन्दोलनपछि नागरिकमा पुराना दलप्रति केही असन्तोष देखिन्छ । त्यो असन्तोषको लहर छोप्ने प्रयासमा रास्वपा छ । तपाई त्यही भेल छोप्ने तरखरमा हुनुहुन्छ ?

लहर वा भेल छोप्ने प्रयास भनियो भने आम मतदाताको अपमान गर्न खोजेको जस्तो हुन्छ भन्ने मेरो बुझाइ छ । 

जनताले विवेकपूर्ण गरेको मतदान अर्थात् मेरो क्षेत्रको प्रतिनिधि वा नेता यो हुन सक्छ, सक्षम तरिकाले प्रतिनिधित्व गर्न सक्छ भन्ने बुझेरै मतदान गर्नुहुन्छ । 

निर्वाचित भएर आएको व्यक्तिलाई स्वीकार गर्नुपर्छ । जनताको मतलाई लहड मात्रै पनि नभनौँ । त्यो भाष्य बनाइयो भने सार्वभौम जनताको मत अधिकारमाथि अपमान हुन्छ । 

चुनाव जित्छु भनेर हिँड्नुभएको छ । यदि अन्य दल अगाडी आए र तपाईं पछि पर्नुभयो भने राजनीतिक यात्रा कता मोडिन्छ ?

चुनाव जित्छु नै । जनताको माझमा पुग्दा पाएको प्रतिक्रियाहरू हेर्दा चुनावी माहौल आफ्नो पक्षमै देखेको छु र जित्छु भन्ने विश्वास छ । तर अहिले नै सय प्रतिशत यही हो भन्ने पनि होइन । मतदाताले मत कसरी र कसलाई हाल्नुहुन्छ भन्ने कुरा फागुन २१ मा नै टुङ्गो लाग्छ । अहिल्यै विजेता घोषणा गर्ने कुरा भएन । तर तपाईले भने जस्तै कथमकदाचित चुनावमा पराजित भएमा पनि मेरो राजनीतिक यात्रा निरन्तर हुनेछ । 

साथै आफ्नो वकालती पेशालाई अगाडी बढाउँछु । कानूनी पेशा भनेको राजनीतिबाट अलग राख्न सकिँदैन । कानून व्यवसायीले अभ्यास गर्ने, कानून प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बनेर आउने हो । त्यसैगरी सम्बन्धित तहका व्यवस्थापिकाबाट बनेर आउने हो । 

त्यो व्यवस्थामा राजनीतिक दलका प्रतिनिधिहरूले नै प्रतिनिधित्व गर्नुहुन्छ । त्यसकारणले राजनीति र कानून दुईबीच अन्र्तसम्बन्ध छ । राजनीति वा कानून दुवैमा रहनेछु ।

पूर्ण समय राजनीतिमा नहोला तर राजनीतिक अभियानमा जोडिइनै रहनेछु । जसरी पहिले पनि ०७३ देखि वैकल्पिक शक्तिमा सक्रिय थिएँ । विद्यार्थीदेखि सक्रिय भएँ । कानूनको विद्यार्थी हुँदा पनि सक्रिय रहेँ । कानूनी व्यवसायमा आउँदा पनि सक्रिय रहेँ । त्यसैगरी आउने दिनमा पनि रहनेछु । 

अन्त्यमा, मतदातालाई के भन्नुहुन्छ ? 

विवेक पुर्‍याएर मतदान गर्नुहोला । पुराना दलहरूले एकदिन मासुभात खुवाएर र केही लोभलालचको भरमा मत किनिरहेका छन् । यसरी सार्वभौम मतदाताको मतलाई अपमान गरेको पाएको छु ।

यसखालको प्रवृत्तिलाई यसपटक जवाफ दिने हामीलाई अवसर छ । मतदाताले स्वमूल्याङकन गरेर कसैको लहडमा नलागी आफ्नो विवेकले मतदान गर्नुहुन अनुरोध गर्दछु । 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ३४ बजे

चुनावी तालमेलको उपाय खोज्दै ओली : नेकपा र राप्रपा दुवैसँग कुरा अघि बढाउँदै

काठमाडौं- फागुन २१ गतेको निर्वाचन आउन एक महिना बाँकी हुँदा

इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय

झापा– पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२ क्रिकेट च्याम्पियनसिप’ आजदेखि

जथाभावी पार्किङ गरिएका बस नियन्त्रणमा

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरिएका १५ वटा

मुस्ताङको साङ्तास्थित मतदानस्थल सार्न प्रस्ताव

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ अन्तर्गत पर्ने साङ्ता गाउँको मतदानस्थल