मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह « Khabarhub

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गबाट पनि थप भित्री क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

गत सोमबार इरान समर्थित हिज्बुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि जारी मध्यपूर्वी द्वन्द्वमा तानिएको हो ।

उक्त आक्रमण अमेरिकी–इजरायली कारबाहीमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको घटनापछि गरिएको दाबी गरिएको छ । त्यसयता दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमण जारी छन् ।

हिज्बुल्लाहले मङ्गलबार र बुधबार इजरायलका विभिन्न सैन्य तथा औद्योगिक संरचनालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । जवाफमा इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हवाई हमला गरेको छ, जसमा कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

इजरायली सेनाले लितानी नदीको दक्षिण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल उत्तरतर्फ सर्न चेतावनी दिएको छ । सेनाका अनुसार उक्त क्षेत्रमा हिज्बुल्लाहविरुद्ध सैन्य कारबाही गर्नुपर्ने अवस्था आएको छ ।

लेबनानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली सेना सीमाबाट करिब ६ किलोमिटर भित्र पर्ने खियाम नगरसम्म प्रवेश गरेको छ । यद्यपि इजरायली सेनाले आफ्ना फौजको ठ्याक्कै अवस्थाबारे सार्वजनिक रूपमा खुलाउन अस्वीकार गरेको छ ।

यसैबीच, बेरुत उपत्यकाको हाज्मिये क्षेत्रमा रहेको एक होटलमा पनि हवाई आक्रमण भएको छ । आक्रमणपछि होटलका केही भागमा ठूलो क्षति पुगेको छ र घाइतेहरूलाई तत्काल उपचार गरिएको छ । आक्रमणको लक्ष्यबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

बेरुतका दक्षिणी उपनगरमा पनि निरन्तर हवाई हमला भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा भएका आक्रमणमा थप हताहती भएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिणी लेबनानमा घाइतेको उद्धारका क्रममा तीन जना स्वास्थ्यकर्मी मारिएको र छ जना घाइते भएको जनाएको छ । सङ्गठनले युद्धरत पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र स्वास्थ्य संस्था तथा कर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार हालसम्म ५८ हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । इजरायलले भने हिज्बुल्लाह निःशस्त्र नभएसम्म आफ्नो सैन्य अभियान जारी रहने स्पष्ट पारेको छ । रासस

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : १८ बजे

कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का अझै सात

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

लुम्बिनी– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा

 नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक

गण्डकी– नेपाली लेखक सङ्घ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल (अथक)

व्यवसायी अग्रवाल छुटे

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल छुटेका