काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले अप्रिल २ मा अमेरिकी जनतालाई सम्बोधन गर्दै १९ मिनेट लामो भाषण दिएका थिए । त्यतिबेला उनले आफ्नो सम्बोधनमा अमेरिकाले इरानको हवाई शक्ति पूर्ण रूपमा ध्वस्त पारेको र इरानसँग जवाफ दिने क्षमता नरहेको दाबी गरेका थिए ।
ट्रम्पले अमेरिकाले इरानको आकाशमा पूर्ण नियन्त्रण स्थापित गरिसकेको र आफ्ना लडाकु विमानहरू तेहरानमाथि उडिरहेको बताएका थिए।
तर पछिल्ला घटनाक्रमले फरक अवस्था देखाएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकाका दुई सैन्य विमान र उद्धार कार्यमा संलग्न दुई ब्ल्याकहक हेलिकोप्टर इरानी आक्रमणको निशाना बनेका छन्। समाचार एजेन्सी एपीका अनुसार पछिल्लो २३ वर्षमा पहिलो पटक अमेरिकी लडाकु विमान शत्रुको आक्रमणबाट खसालिएका हुन्। यसअघि सन् २००३ मा इराक युद्धका क्रममा यस्तो घटना भएको थियो।
इरानसँगको संघर्षमा हालसम्म ७ अमेरिकी विमान नष्ट भइसकेका छन्। पछिल्लो २४ घण्टामै २ अमेरिकी जेट खसालिएका छन् भने २ वटा उद्धार हेलिकोप्टरमाथि आक्रमण भएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार सबैभन्दा पहिले अमेरिकी एफ–१५ ई स्ट्राइक ईगल लडाकु विमान खसालिएको थियो। उक्त विमान इरानको दक्षिण–पश्चिम क्षेत्रमा उडिरहेको अवस्थामा खसालिएको बताइएको छ ।
त्यसपछि सो विमानका चालक दललाई उद्धार गर्न पुगेको ए–१० थन्डरबोल्ट२ मा पनि आक्रमण गरिएको थियो। आक्रमणपछि उक्त विमान कुवेतको हवाई क्षेत्रमा पुगेको र चालकले सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको जनाइएको छ। यद्यपि विमान भने कुवेतमा दुर्घटनाग्रस्त भएको थियो ।
सीबीएस न्यूजका अनुसार एफ–१५इमा रहेका दुईमध्ये एक चालक दल सदस्यलाई सुरक्षित उद्धार गरिएको छ भने अर्को अझै बेपत्ता छन् । इरानी सरकारी सञ्चारमाध्यमले भने प्यारासुटमार्फत बाहिरिएका ती सदस्य इरानको दक्षिणी क्षेत्रमा अवतरण गरेको हुन सक्ने बताएका छन्।
यसैबीच एफ–१५इ को उद्धारका लागि पठाइएका दुई ब्ल्याकहक हेलिकोप्टरमाथि पनि आक्रमण भएको छ। तर ती हेलिकोप्टरमा रहेका सबै अमेरिकी सैनिक भने सुरक्षित रहेको जनाइएको छ।













प्रतिक्रिया