विश्वव्यापी तापक्रम बढेसँगै ‘लु’ को जोखिम उच्च, यस्ता छन् बच्ने उपाय « Khabarhub

विश्वव्यापी तापक्रम बढेसँगै ‘लु’ को जोखिम उच्च, यस्ता छन् बच्ने उपाय


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर ‘लु’ को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन पूर्वतयारी गर्नुपर्ने बताए । 

लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

तातो लहरबाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न उनले सुझाव दिए । 

डा. अधिकारीले तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउनुपर्ने बताए ।

बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने मन्त्रालयको भनाइ छ । 

तातो लहरको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गरिएको छ ।

डा.अधिकारीले भने, ‘मनसुन सुरु भएसँगै हामी तातो हावाको जोखिममा पर्न सक्ने पूर्वानुमान आइरहेका छन् । तापलहरको जोखिमबाट बच्न हामी सबैले आ–आफ्नो ठाउँबाट पूर्वतयारी गर्नुपर्नेछ ।’ बढी तापक्रम हुने ठाउँमा बस्ने नागरिकले दैनिकीमा सोहीअनुसार तालमेल मिलाउनुपर्ने बताउँदै उनले थपे, ‘दिउँसो गर्दै आएका कामहरू बिहान वा साँझको समयमा गर्ने, दिउँसो घरमै बस्ने, झोलिलो खानेकुरा खाने र आराम गर्नुपर्छ । 

हिट वेभका कारण आँखा तथा छालामा दीर्घकालीन समस्याहरू हुन सक्छन्। यदि केही अप्ठ्यारो भएको खण्डमा तत्कालै स्वास्थ्यकर्मीसँग परामर्श गर्न सबैमा आग्रह गर्दछौँ ।’

‘लू’ भनेको के हो ? 

तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आर्द्रतासँगै देखिन्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गर्ने गरिन्छ । 

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेकाले तापलहरको जोखिम बढ्दै गइरहेको छ । तापलहरका कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोकको जोखिम हुने गर्छ । यसले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरूको चेतावनी छ ।

लू लाग्नुका कारणहरू

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा लू लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित सहरीकरणका कारण पनि लूको जोखिम बढ्दै गएको छ । 

कंक्रिटका भवन र सडकहरूले ताप सोस्ने भएकाले सहरहरूमा यसको जोखिम अत्यधिक हुने गर्छ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर समेत तातो लहर चल्ने गर्छ ।

लूका लक्षणहरू

डिहाइड्रेसनः अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, थकान महसुस हुनु ।

गर्मीजन्य थकानः रिँगटा लाग्नु, पसिना आउनु, कमजोरी महसुस हुनु ।

हिटस्ट्रोकः शरीरको तापक्रम अत्यधिक बढ्नु, अन्योल हुनु, बेहोस हुनु ।

मुटुमा दबाबः मुटुको धड्कन बढ्नु, छातीमा असहजता हुनु ।

तापलहरबाट बच्न के गर्ने ? 

दिउँसो अत्यधिक गर्मी हुने समयमा घरबाहिर ननिस्कने ।

हल्का र खुकुलो कपडा लगाउने । 

चिसो वा छायायुक्त स्थानमा बस्ने ।

सम्भव भए पङ्खा वा एयर कन्डिसनरको प्रयोग गर्ने ।

हल्का तथा पौष्टिक खाना खाने ।

चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने ।

शरीरमा पर्याप्त मात्रामा पानी पिउने ।

रक्तचाप र मधुमेहको नियमित निगरानी गर्ने ।

अत्यधिक शारीरिक श्रम नगर्ने ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १ : ५३ बजे

राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं– राप्रपाका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

राँझा– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मा आउने पाहुनालाई  स्थानीय

सहकारीको प्रयासले फाकफोकथुममा दुग्ध व्यवसाय फस्टाउँदो

इलाम– बिहान ३ नबज्दै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनाल गाईगोठमा व्यस्त हुन्छन्

चिडियाखानामा ‘ट्रम्प’ भैँसी

ढाका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय

राप्रपामा ठूलो विभाजन, १८३ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको