किएभ– युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ। युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको वित्तीय अवस्था सन् २०२२ को जस्तै गम्भीर बन्न सक्ने चेतावनी दिए।
इन्टरफ्याक्स–युक्रेनका अनुसार अर्थमन्त्री मार्चेन्कोले सन् २०२२ पछि पहिलोपटक युक्रेन आवश्यक वित्तीय स्रोतको अभाव हुने अवस्थाको नजिक पुगेको बताएका हुन् ।
मार्चेन्कोका अनुसार सन् २०२७ मा युक्रेनलाई करिब ५० अर्ब अमेरिकी डलर बराबरको बाह्य वित्तीय सहयोग आवश्यक पर्ने अनुमान गरिएको छ। तर, आवश्यक रकममध्ये ३२ अर्ब ६ करोड डलर बराबरको स्रोत अझै सुनिश्चित हुन सकेको छैन।
आवश्यक बाह्य सहयोग जुटाउन नसके गैरसैनिक क्षेत्रमा हुने सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्। लामो समयदेखि जारी युद्धका कारण सरकारी खर्च र वित्तीय आवश्यकतामाथि बढेको दबाबबीच बाह्य सहयोगको अभावले युक्रेनको आर्थिक संकट थप गहिरिन सक्ने उनको भनाइ छ।
यसैबीच, मार्चेन्कोले युक्रेनलाई आर्थिक सहयोग उपलब्ध गराउन रोक्का गरिएका रुसी सम्पत्तिको प्रयोगसम्बन्धी नयाँ योजना बनाउन युरोपेली सङ्घ ९ईयू० लाई आग्रह गरे । उनका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका रोक्का गरिएका रुसी सम्पत्तिमध्ये केही रकम युक्रेनको सहयोगका लागि प्रयोग गर्न सकिने विषयमा विचार गर्न आवश्यक छ।
सन् २०२२ देखि रुससँग युद्धमा रहेको युक्रेनको अर्थतन्त्र, सरकारी बजेट र सार्वजनिक वित्तमा युद्धका कारण निरन्तर दबाब पर्दै आएको छ। आगामी वर्ष आवश्यक बाह्य वित्तीय सहयोग सुनिश्चित गर्न नसके गैरसैनिक सरकारी खर्च व्यवस्थापन युक्रेनका लागि थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।












प्रतिक्रिया