वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत « Khabarhub

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन परिवार विस्थापित भएका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् । 

अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताए। 

‘गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास’, उनले भने।

बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् । थप १८ परिवारसमेत जोखिममा रहेको साउदले बताए।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले जानकारी दिए । उनका अनुसार बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्‍याएको छ । धानबाली बगाएपछि खेत बगरमा परिणत भएको छ । बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बडुवालले बताए।

नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ । रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ । 

पाँच वर्षअघिको त्यो दिन, फेरि उही जोखिम

अहिले मात्रै होइन, वीरेखोलाका बासिन्दा पाँच वर्षदेखि नै बाढीपहिरोको त्रासमा छन् । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा गएको बाढीले यहाँको धेरै खेतीयोग्य जमिन बगाएको थियो । किसानले पुस्तौँदेखि खेती गर्दै आएको जमिन एकैछिनमा बालुवा र ढुङ्गाले पुरिएको थियो । कसैका लागि त्यो खेत थियो, कसैका लागि परिवार पाल्ने आधार । त्यही जमिन बाढीपछि बगर बन्यो । 

बाढी रोकिएपछि नदी आफ्नो पुरानै बाटोमा फर्कियो । तर बाढीले दिएको घाउ भने स्थानीयको मन र जमिनमा उस्तै रह्यो । अहिलेको बाढीले भने त्यही पुरानो डरलाई फेरि वास्तविकतामा बदलिदिएको छ । विस्थापित भएपछि वीरेखोलामा बाढीको जोखिम कति गम्भीर छ भन्ने फेरि देखिएको छ । यहाँका स्थानीयका लागि यो केवल एउटा विपति मात्रै होइन, बारम्बार दोहोरिइरहेको संकट हो ।

‘एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ’, स्थानीय कली साउदले भने, ‘नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो संकट भएको छ ।’

सुन्दरताभित्र लुकेको त्रास

सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो । यसको आँगनमै बुढीगंगा नदी बगिरहेको छ । सामान्य अवस्थामा नदीको बहाव हेर्दा यहाँका बासिन्दाका लागि यो प्रकृतिको सुन्दर दृश्यजस्तो लाग्छ । 

वर्षायाम सुरु हुनासाथ जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्ला अछामबाट समेत झरनाको अवलोकन गर्न तथा फोटो–भिडियो खिच्न आउनेको भीड लाग्ने गर्छ । तर वर्षायाम सुरु भएसँगै यही बिरेखोलाको सुन्दरता स्थानीयका लागि त्रासको कारण बन्ने गरेको छ ।

पानी बढ्दै जाँदा नदीको गर्जनसँगै यहाँका बस्तीमा डर पस्छ–कतिबेला घरखेत बगाउने हो भन्ने चिन्ताले । 

‘घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ’, स्थानीय मतिकला खड्काले भने, ‘आँगनबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । हिजोको मात्रै होइन, यसअघि पटकपटकको बाढीले खेतीयोग्य जमिन बगर भइसक्यो । अब कुन दिन घरसँगै हामीलाई बगाउने हो भन्ने डर छ ।’

जमिन बगर बन्यो, अब घर बग्ने चिन्ता

कृषिमा निर्भर परिवारका लागि खेत केवल जमिनको टुक्रा होइन, जीविकोपार्जन गर्ने मुख्य आधार हो । २०७७ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि धेरै परिवारले उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि बिरेखोला झरनाको बाढीले घरबासमा समेत जोखिम निम्त्याएपछि समस्या झन् गम्भीर बनेको स्थानीय कमला साउँदले बताए। ‘खेत रहेन, अब घर पनि सुरक्षित छैन,’ उनले भने, ‘कहाँ गएर बस्ने रु अन्त कतै ठाउँ छैन ।’

वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका वीरेखोलाका स्थानीयका लागि अहिलेको बाढीले फेरि एउटै प्रश्न खडा गरेको छ । पहिले खेत गुम्यो, अब घर पनि गुम्ने हो कि रु तत्कालका लागि २३ परिवार सुरक्षित स्थानमा सारिए पनि वीरेखोलाको दीर्घकालीन जोखिम भने यथावत् रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवाल बताउँछन्। 

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको बारेमा यकीन विवरण संकलन र घटनाबारे बझ्ने कार्य भइरहेको जानकारी दिए । 
 

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ६ : ४० बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर