भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे « Khabarhub

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०-५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो । 

नगरपालिकाले पहिलो पटक गैरसार्क राष्ट्रका पर्यटकसँग मात्रै शुल्क उठाउन थालेको थियो । घुम्न आउने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको यो नै नेपालको पहिलो भएको बताइन्छ । यसपछि विस्तारै काठमाडौँ, ललितपुरलगायत ठाउँमा पनि घुम्न आउने विदेशी पर्यटकसँग ती नगरपालिकाहरूले प्रवेश शुल्क उठाउन थालेका थिए । 

सो अवधिमा ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर घुमेर गएका छन् । आर्थिक वर्ष २०८२-८३ अर्थात् २०८३ असार मसान्तसम्म यी पर्यटकले भक्तपुर भ्रमण गरेको तथ्यांक हो । तथ्यांकअनुसार चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ पर्यटकले भक्तपुर घुमेका छन् । गैरसार्क मुलुकबाट भने ३४ लाख २८ हजार ४६ पर्यटकले यो अवधिमा भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुरको पर्यटनमा पछिल्ला तीनदशकमा उतारचढाव देखिएको छ । विसं २०५०-५१ मा ८७ हजार ३४५, २०५१-५२ मा ९७ मा हजार ७५७, २०५२-५३ मा एक लाख १२ हजार ७४०, २०५३-५४ मा एक लाख १० हजार ८५२ र २०५४-५५ मा एक लाख ५३ हजार २३० पर्यटकले भक्तपुर घुमेर गए ।

विसं २०५५-५६ मा एक लाख ९७ हजार ८०५, २०५६-५७ मा एक लाख ९७ हजार ८८१, २०५७-०५८ मा एक लाख ८० हजार ५३, २०५८-०५९ मा ९१ हजार ८००, २०५९-०६० मा ८५ हजार १५३, २०६०-६१ मा एक लाख १९ हजार ३९, २०६१-६२ मा ८७ हजार ६०५, २०६२-६३ मा ९२ हजार ३३० र २०६३-६४ मा एक लाख २१ हजार ४३१ ले भक्तपुर घुमे । 

त्यसपछिका वर्षमा क्रमशः २०७८-७९ मा ५३ हजार ५६०, २०७९-८० मा एक लाख ६७ हजार ६५२, २०८०-८१ मा दुुई लाख ४५ हजार ५९३, २०८१-८२ मा दुई लाख ४४ हजार ८६८ र पछिल्लो आर्थिक वर्ष २०८२-८३ मा दुई लाख २१ हजार ९७६ जना पर्यटक भक्तपुर आएका थिए । यसैले हालसम्म कुल जम्मा ५२ लाख ६५ हजार २६४ जना पर्यटक भक्तपुर भित्रिएका छन् ।

कुन वर्षमा सबैभन्दा कम पर्यटक ?

कोरोनाका कारण आव २०७७-७८ भक्तपुरको पर्यटन इतिहासमै पर्यटक आगमनका हिसाबले सबैभन्दा कमजोर वर्ष बनेको थियो । उक्त वर्ष तीन हजार ११२ पर्यटक भक्तपुर भित्रिए । यो वर्ष गैरसार्क मुलुकबाट एक हजार ३८३ तथा चीनसहित सार्क मुलुकबाट एक हजार ७२९ पर्यटकले मात्रै भक्तपुर भ्रमण गरेका थिए । 

भक्तपुर नगरपालिकाले गैरसार्क राष्ट्रका पर्यटकसँग २०५० सालदेखि नै प्रवेश शुल्क लिन थालेको थियो भने सार्क राष्ट्र (नेपालीबाहेक)सँग २०५४ सालदेखि प्रवेश शुल्क लिन थालेको थियो । 

कुन वर्षमा सबैभन्दा बढी पर्यटक ?

बत्तिस वर्ष लामो इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पर्यटकले भक्तपुर भ्रमण गरेको वर्ष आव २०७०-७१ हो । उक्त वर्ष एकवर्षमा दुई लाख ९० हजार ८९१ जना विदेशी पर्यटकले भक्तपुर टेकेका थिए । 

चालिस बढी मुलुकका पर्यटकले घुमे भक्तपुर 

नगरपालिकाको तथ्यांकअनुसार हालसम्म ४० भन्दाबढी मुलुकका पर्यटकले भक्तपुर भ्रमण गरिसकेका छन् । अमेरिका, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, बेलायत, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, नेदरल्यान्ड्स, हङ्गेरी, आइसल्यान्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीजरल्यान्ड, ताइवान, टर्की र थाइल्यान्डलगायत मुलुकबाट पर्यटक भक्तपुर आएका छन् । पछिल्लो समय भक्तपुर नगरपालिकाले विभिन्न स्थानमा मेटलका क्युआर कोडसमेत राखेर पर्यटकलाई आवश्यक सूचना डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

सबैभन्दा बढी भारतीय, त्यसपछि चिनियाँं

भक्तपुरको पर्यटन सूचना तथा सेवा केन्द्रका अनुसार भक्तपुर घुम्ने आउनेमा पहिलोमा भारतीय पर्यटक पर्दछन् । दोस्रोमा भने चिनियाँ पर्यटक परेका छन् । गत आव एक वर्षको मात्रै तथ्यांकअनुसार ७० हजार ७११ जना भारतीय पर्यटकले भक्तपुरको भ्रमण गरेको थियो । 

त्यस्तै, चीनबाट ३६ हजार ७८३ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १३ हजार २११, जर्मनीका १० हजार ८०० जना, फ्रान्सका नौ हजार ९८०, इटालीका सात हजार ७३, स्पेनका पाँच हजार ३६२, जापानका छ हजार ७९६, इङ्ल्याण्डका छ हजार, अस्ट्रेलियाका चार हजार ९४६, ताइवानका चार हजार ९५० र हल्यान्डका तीन हजार ७४२ नागरिकले भक्तपुर अवलोकन गरेको थियो ।

चौध स्थानबाट पर्यटक शुल्क

भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकबाट हाल १४ वटा स्थानबाट पर्यटक शुल्क उठाउँदै आएको छ । खौमा, सानो व्यासी, ठूलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल र भार्वाचोमा पर्यटक शुल्क सङ्कलन केन्द्र सञ्चालनमा छन् । थप एउटा काउन्टर निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले नगर प्रवेश गर्ने सम्पूर्ण नाकाहरूमा एउटाएउटा काउण्ट राखेर नगर प्रवेश गर्ने पर्यटकहरूसँंग शुल्क उठाउने गर्दछ । 

कति छ प्रवेश शुल्क ?

भक्तपुर नगरपालिकाले गैरसार्क मुलुकका पर्यटकका लागि हाल प्रतिव्यक्ति दुई हजार रूपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । सुरुमा विसं २०५० साउन ६ गते प्रतिव्यक्ति ५० रूपैयाँबाट प्रवेश शुल्क लिन सुरु गरिएको थियो ।
    
त्यसपछि २०५३ साउन १ गते ३०० रूपैयाँ, २०५७ साउन १ गते ३७५ रूपैयाँ, २०५७ पुस १७ गते ७५० रूपैयाँ, २०६७ पुस १७ गते एक हजार १०० रूपैयाँ, २०७० पुस १७ गते एक हजार ५०० रूपैयाँ र २०७९ पुस १७ गते एक हजार ८०० रूपैयाँ प्रवेश शुल्क कायम गरिएको थियो । विसं २०८२ साउनदेखि गैरसार्क पर्यटकका लागि प्रवेश शुल्क दुई हजार रूपैयाँ कायम गरिएको हो ।

चीनसहित सार्क पर्यटकको शुल्क

चीनसहित सार्क मुलुकका पर्यटकका लागि विसं २०५४ पुस १७ गतेदेखि प्रवेश शुल्क लिन थालेको थियो । पहिलो पटक नगरपालिकाले प्रतिव्यक्ति तीन रूपैयाँ प्रवेश शुल्क लिन सुरु गरेको थियो । त्यसपछि त्यसलाई २०५७ पुस १७ गतेदेखि ५० रूपैयाँ, २०६७ देखि १०० रूपैयाँ र २०७१ साउन १ गतेदेखि ५०० रूपैयाँ प्रवेश शुल्क लिँदै आएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

छ वटा भाषामा पर्यटन सामग्री

नगरपालिकाले पर्यटकले टिकट काटेपछि जानकारीमूलक प्रतिटिकट एउटा एउटा सूचना सामग्री अर्थात् ब्रोसर प्रदान गर्दछ । टिकट काट्ने काउन्टरबाटै पर्यटकलाई ती सूचना सामग्री प्रदान गरिन्छ । 

सूचना सामग्री आफनै भाषामा होस् भनेर नगरपालिकाले विभिन्न ६ वटा भाषाहरूमा सामाग्रीहरू प्रकाशन गरेका छन् । अमेरिका, चीन, जर्मनी, जापान, फ्रान्स र स्पेनका पर्यटकलाई लक्षित गरी छ वटा भाषामा नक्सासहितको पर्यटन ब्रोसर उपलब्ध गराउँदै आएको छ । यी सबै ब्रोसरमा रहेका सूचनाहरू भने एउटै हुन् । मात्रै भाषा फरक हो । 

के हुँंदैछ भक्तपुरमा प्रवेश शुल्कबाट ?

भक्तपुर नगरपालिकाको आन्तरिक स्रोतमध्ये एउटा प्रमुख स्रोत हो पर्यटक शुल्क । त्यसकारण शुल्क लिएर भक्तपुरमा के कामका लागि प्रयोग गरियो बजेट भन्ने पनि प्रश्न उठ्दै आएको छ । 

भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको विकासको मुख्य आधार नै पर्यटक भएको बताउँछन्। यही शुल्कबाट यहाँ धेरै काम हुन पाएको उनी सुनाउँछन् । भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्षसमेत रहेका लासिवा भन्छन् , यही शुल्कबाट भक्तपुर नगरपालिकाले इन्जिनियरिङ लगायतका आधा दर्जन बढी कलेज सञ्चालन गरिराखेको छ, अस्पताल सञ्चालन गरिराखेको छ । 

यसबाहेक सरसफाइ, सम्पदा संरक्षणमा पनि यो पैसा प्रयोग भइरहेको उनी बताउँछन्। यसबाहेक पनि नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क र पर्यटक शौचालय सञ्चालनमा ल्याएको छ । पर्यटक सूचना केन्द्रमार्फत विभिन्न छ भाषामा नक्सासहितको ब्रोसर उपलब्ध गराउने गरिएको छ । 

त्यस्तै, निःशुल्क इन्टरनेटसहित कम्प्युटर, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्विलचेयर, लगेज राख्ने कोठा, मोबाइल चार्ज गर्ने सुविधा तथा पत्रपत्रिकासहित विश्रामस्थलको व्यवस्था गरिएको छ । 

नगरपालिकाले स्थानीय पथप्रदर्शक परिचालन समिति गठन गरी स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिम दिनुका साथै आवश्यक व्यवस्थापनसमेत गर्दै आएको पनि जनाएको छ ।

विदेशीभन्दा पाँचगुणा नेपाली

भक्तपुरमा जति विदेशी पर्यटक घुम्न आउछन् तीभन्दा सालाखाला सामान्यतया पाँचगुणा बढी आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने अनुमान छ । 

विदेशी पर्यटकसँग शुल्क उठाउने भक्तपुरका धेरै काउन्टरमध्ये मुख्य अर्थात् भक्तपुर प्रवेश गर्ने मुख्य काउन्टर खौमा काउन्टर हो, जहाँबाट विदेशी मात्रै होइन, स्वदेशी पर्यटक पनि सबैभन्दा बढी प्रवेश गर्छन् । सो काउन्टरमा बस्ने एक जना कर्मचारी मुरज दिदीयाले खौमा प्रवेशद्वारबाट मात्रै दैनिक टिकट काटेर जाने विदेशी पर्यटकभन्दा पाँचगुणा स्वदेशी नेपाली आन्तरिक पर्यटक घुम्न आएको अनुमान गर्छन्। 
    
‘स्वदेशी पर्यटक सामान्यतया दैनिक पाँच हजार बढी आउने अनुमान हामी गर्छौं’, उनले भने, ‘शनिबार, अन्य बिदाका दिनमा त यहाँ तेब्बर चौबर हुन्छ ।’

साथै गाईजात्रालगायत विभिन्न जात्रा पर्वका बेला अझ अत्यधिक आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने गरेको अनुभव उनले बताए। अहिले काठमाडौँ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्कुलका विद्यार्थीलाई पनि स्कुलस्कुलले भक्तपुर घुमाउने ल्याउने गरेको उनले सुनाए।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ६ : ४८ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर