बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’ « Khabarhub

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ” भनेका छन् ।

नुवाकोटको विदुर–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको घटनाले सिङ्गो देशलाई आशा दिएको उनले बताएका छन् । उक्त घटनाले खोज तथा उद्धारमा सरकार अझै डटेर लागिरहेको सन्देश दिएको उनले बताए ।

सरकारले चन्द्रिका श्रेष्ठको उमेर समूहका र त्योभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले बताए । बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानको समेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उनले बताए ।

जीवनको उत्तरार्धमा यस्तो कठिन परिस्थिति भोग्नुपरेको उल्लेख गर्दै उनले लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडामा समेत आफ्ना सन्तान बचाउने अद्भुत साहस आएको बताए ।

बाढीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको उनले बताए । बाढी आउनुअघि आफ्नै घरको आँगनमा बसेर नदी किनारको खेतबारीमा छोराछोरीले काम गरिरहेको तथा नातिनातिनाहरू विद्यालय गएको हेर्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले तहसनहस बनाएको उनले बताए ।

“अहिले न ती घरआँगन छन्, न त चौतारीमा बसेर दुःखसुख साट्ने अवस्था नै छ,” प्रधानमन्त्रीले भनेका छन्, “त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो।”

बाढीका कारण कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र काँधमा हुर्काएका नातिनातिना बगेको हेर्न विवश हुनुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपरेको उनले बताए । जीवनभर पसिना बगाएर जोडेको घर, खेतबारी तथा सन्तानसरह माया गरेर हुर्काएका पशुपन्छीसमेत क्षणभरमै बाढीमा बगेको उनले बताए ।

प्रधानमन्त्रीका अनुसार आफ्नै घरव्यवहार सम्हालिरहेका ज्येष्ठ नागरिक अहिले सरकारले व्यवस्था गरेका अस्थायी शिविरमा बस्नुपरेको छ । होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधा उपलब्ध गराइएको उनले बताए ।

नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना आमाबुबालाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयरमा तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले जानकारी दिए ।

उहाँहरूलाई हिँडडुलका लागि आवश्यक ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको र मानसिक आघात तथा शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको उनले बताए ।

“अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौँ,” प्रधानमन्त्रीले भनेका छन् ।

बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको बताउँदै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,” उनले भनेका छन् ।

जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गरेका ज्येष्ठ नागरिकको ओत र जायजेथा भोटेकोशीको बाढीले बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बाढीले बगाउन नसक्ने प्रधानमन्त्रीले बताए ।

“हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ,” उनले भनेका छन्, “कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देशन गर्नुहोस्।”

प्रधानमन्त्रीले बाढीका क्रममा धेरै आमाबुबालाई गुमाउनुपरेको दुःखद् अवस्थाप्रति पनि दुःख व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक सिङ्गो घरका मूल खम्बा, संस्कार र ज्ञानका स्रोत रहेको बताउँदै उनले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको प्रधानमन्त्रीले बताए । “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो,” उनले भनेका छन् ।

पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन् ।

बाढीपछि उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मी अझै खटिरहेको उनले बताए । दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर खोजी गरिरहेको उल्लेख गर्दै उनले सुरक्षाकर्मीको योगदानको प्रशंसा गरे ।

“हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा खोस्रिरहेका छन् । उहाँहरूका आँखा चनाखा छन्,” प्रधानमन्त्रीले भनेका छन् ।

आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने र उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ८ : ५१ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू