‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’ « Khabarhub

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

'आर्थिक दुष्चक्र तोड्न शासकीय सुधारको खाँचो छ'



म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि एकपटक एकजना विदेशी पत्रकारले मसँग अङ्ग्रेजी भाषामा सोधेका थिए, ‘नेपालका कांग्रेस र कम्युनिस्ट वृत्तका भावी युवा नेता को होलान् ?’ मैले त्यतिबेला अनायासै भनेको थिएँ, ‘अरूको नाम त म लिन चाहन्नँ, तर नेपाली कांग्रेसको तर्फबाट गगन थापालाई भोलिको सम्भावित नेता देख्छु ।’ त्यसैले आज उहाँ सभापति हुनुभएकोमा म विशेष बधाई दिन चाहन्छु।

नेपाली कांग्रेसले जसरी २००७ सालदेखि पटक-पटकका ऐतिहासिक घुम्तीहरूमा आफूलाई नयाँ ढङ्गले पुनर्गठन, पुनर्परिभाषित र नवीकरण गर्दै यहाँसम्म ल्याएको छ, अबका एक्काइसौँ शताब्दीका र नेपालका सामु रहेका चुनौतीहरूलाई सामना गर्न पनि यस पार्टीले महत्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

हाम्रो जमानामा सन् १९७० को दशकतिर दुईवटा पुस्तक निकै चर्चित थिए, एउटा एल्भिन टफ्लरको ‘फ्युचर शक’ र अर्को म्याक्सवेल माल्ट्जको ‘साइको-साइबरनेटिक्स’। ती त्यतिबेलाका ठूला मनोवैज्ञानिक, चिन्तक र लेखकहरूको निष्कर्ष के थियो भने, एक्काइसौँ शताब्दी यस्तो शताब्दी बन्दै छ, जहाँ निरक्षर ती हुने छैनन् जसले पढ्न र लेख्न जान्दैनन्, बरु निरक्षर ती हुनेछन् जसले सिक्न जान्दैनन् र सिकेको कुरालाई फेरि मेटाएर नयाँ सिक्न जान्दैनन्।

अहिले एक्काइसौँ शताब्दीमा आइपुग्दा विश्वमा विज्ञान र प्रविधिको जुन चमत्कारिक विकास भएको छ र त्यसले जुन ढङ्गको परिवर्तन ल्याएको छ, त्यसले राजनीतिक दलहरूलाई पनि हिजोकै ढाँचामा रहने छुट दिँदैन। त्यस अर्थमा नेपालमा अहिले जुन ढङ्गको राजनीतिक उथलपुथल भइरहेको छ र पुराना राजनीतिक दलहरूको गठन-पुनर्गठन भइरहेको छ, त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझ्न जरुरी छ।

मैले तत्कालीन माओवादी पार्टीमा छँदै मोटामोटी आकलन गरेर ‘नयाँ शक्तिको खाँचो’ बारे एउटा आलेख लेखेको थिएँ। त्यसमा मैले उल्लेख गरेको थिएँ कि संविधानसभाबाट संविधान जारी भएपछि बीपी कोइराला र पुष्पलाललगायतले सुरु गर्नुभएको नेपालको लोकतान्त्रिकरणको एउटा चरण हाम्रो पालामा आएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको छ। तर अब विश्व चौथो र पाँचौँ औद्योगिक क्रान्तिमा पुगिसक्यो, जब कि हमी अझै पहिलो औद्योगिक क्रान्तिअगाडिको कृषिप्रधान अर्थतन्त्रमै छौँ। त्यो अन्तरविरोधले गर्दा हाम्रै पुरानै सोच, पुरानै पार्टी, पुरानै विचार र पुरानै नीति तथा कार्यक्रमले अब देशलाई अगाडि लान सकिँदैन र नयाँ शक्तिको खाँचो हुनेछ।

त्यतिबेलै मैले भनेको थिएँ, कि त पुराना पार्टीहरू रूपान्तरित हुनुपर्छ, कि विभिन्न पार्टीभित्र भएका नयाँ सोच राख्ने मान्छेहरू एक ठाउँमा आउनुपर्छ, कि त बिल्कुलै नयाँ ढङ्गले तलैबाट नयाँ शक्तिहरूको उदय हुन्छ। आज १२ वर्षपछि फर्केर हेर्दा मलाई खुसी लाग्छ, एउटा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रूपमा अहिले देशको सत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुगेको छ। त्यसको दबाब अरू विभिन्न पार्टीहरूमा पनि परेको छ। नेपाली कांग्रेसले पनि आफूलाई रूपान्तरण गर्दै लैजाने प्रयत्न गरेको छ, कम्युनिस्ट पार्टीभित्र पनि ती बहसहरू चलेका छन् र विभिन्न अन्य दलहरूको पनि उदय हुँदै छ, जुन खुसीको कुरा हो।

हामी आफ्ना छोराछोरीलाई विदेश पठाउँछौँ, तिनले श्रम बेचेर पठाएको रेमिट्यान्सबाट कर उठाएर कर्मचारी पालिन्छन् र तपाईं-हामी ठूलाठालु भनिनेहरूले तलब-भत्ता खान्छौँ, अनि जनताका छोराछोरी चाहिँ फेरि गरिबको गरिब नै रहेर विदेश जान बाध्य हुन्छन्। यो दुष्चक्र कसरी तोड्ने?

म गम्भीर प्रश्न गर्न चाहन्छु, हामीले ६५ वा ७५ वर्ष लामो संघर्ष गरेर नेपालमा लोकतन्त्र त प्राप्त गर्यौँ, तर हामी किन अहिले पनि आर्थिक हिसाबले संसारको पिँधमा छौँ? किन ५०औँ लाख हाम्रा छोराछोरीहरू विदेशमा छन्? यस कार्यक्रममा उपस्थिति भएकामध्ये ९०–९५ प्रतिशत घरका युवा-युवतीहरू पढ्न वा रोजगारीका लागि विदेश जान बाध्य छन्।

हाम्रो अर्थतन्त्र गत ६० वर्षदेखि एक वर्ष पनि दुई अंकले वृद्धि भएको छैन। जब कि सिंगापुर, दक्षिण कोरिया र चीनलगायतका देशहरूले दुईदेखि तीन दशकसम्म लगातार दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेर कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक र सेवाप्रधान अर्थतन्त्रमा रूपान्तरण गरी आफ्ना नागरिकलाई देशमै रोजगारी दिएका छन् र समृद्धिको उकालो चढेका छन्। तर हामी अहिले पनि दक्षिण एसियामा अफगानिस्तान र मध्य अफ्रिकाका केही गरिब देशहरूको हाराहारीमा सँगै पिँधमा छौँ।

हामीले राजनीतिक लोकतन्त्र ल्यायौँ र असाध्यै उत्कृष्ट संविधान बनायौँ। तर राजनीतिक अधिकार कागजमा लेखेर मात्रै हुँदैन। त्यसलाई कार्यान्वयन गर्न र देशको जटिल भूराजनीतिलाई सम्हाल्न अहिलेको युगानुकूलको नयाँ विचार र नीति-कार्यक्रम चाहिन्छ। हाम्रा दुई ठूला छिमेकीमध्ये एउटा विश्वको पहिलो अर्थतन्त्र बन्दै छ र अर्को तेस्रो अर्थतन्त्र बन्दै छ तर, ती दोईको बीचमा हमी चाहिँ गरिबीको खाडलमुनि जाकिएर बाँच्न बाध्य छौँ।

हामी सबै पालैपालो सरकारमा बसेका छौँ। संविधान जारी हुनुभन्दा अगाडिको कालखण्ड विशिष्ट भएकाले म त्यतिबेलाको दोष कसैलाई दिन चाहन्नँ। तर संविधान जारी भएको १०–१२ वर्ष भइसक्यो। यसबीचमा हमी खाली सरकार बनाउने र गिराउने खेलमा मात्रै लाग्यौँ र आर्थिक समृद्धिको दिशामा जान सकेनौँ। त्यसैले जनतामा असन्तुष्टि चुलियो र गत वर्ष ‘जेन-जी’ विद्रोह भयो, हाम्रै छोरा र नाति-नातिनाहरूले विद्रोह गरे।

कतिपयले यो विद्रोह विदेशीले वा अरू कसैले गरायो भन्छन्। तर म भन्न चाहन्छु, यदि हामीले आफ्ना छोराछोरी र नाति-नातिनालाई घरमा राम्रोसँग पाल्न सकेनौँ र उनीहरू रिसाएर वा रुँदै छिमेकी वा पराईको घरमा गए भने पराईले ‘तेरो बाउ र आमा यस्ता छन्’ भन्दै दुईवटा चकलेट दिएर ‘जा, घरमा आगो लगाइदे’ भन्दिन सक्छन्। त्यसैले अरूलाई दोष दिने होइन, मुख्य दोष हाम्रै हो। त्यत्रो त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएपछि पनि हामीले हाम्रा छोराछोरीलाई किन सपना देखाउन र विश्वास दिलाउन सकेनौँ? यहीँ रोजगारी सिर्जना हुन्छ र हाम्रो देश संसारका गरिब १५ देशमध्ये होइन, धनी देशमध्ये बन्न सक्छ भनेर किन भन्न सकेनौँ?

बितेको १० वर्षको समय पर्याप्त नहोला, तर अझै पनि समय छ। तपाईंहरू सबैले सोच्नुस्, हाम्रै जीवनकालमा कोरिया, सिंगापुर, मलेसिया र चीनले तेस्रो विश्व अर्थात् ‘ग्लोबल साउथ’ बाट ‘ग्लोबल नर्थ’ को हैसियतमा कसरी फड्को मारे? आगामी १० देखि २० वर्षभित्र नेपाललाई त्यहाँसम्म कसरी पुर्याउने भन्नेबारे एउटा साझा राष्ट्रिय योजना बनाऔँ र त्यसलाई कसले राम्रोसँग कार्यान्वयन गर्ने भनेर दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गरौँ। त्यसो भयो भने मात्र देश बन्छ, होइन भने महाधिवेशनमा आउने, रमाइलो र गुणगान गर्ने, अनि घर फर्केपछि फेरि उही बेरोजगारी र निराशाको दुष्चक्र दोहोरिइरहनेछ।

म खासगरी मेरो पुस्ताका साथीहरूलाई आग्रह गर्न चाहन्छु, अब पुरानो गल्ती नदोहोर्याऔँ र नयाँ पुस्तालाई विश्वास गरौँ।

नेपालजस्तो जातीय, भाषिक र क्षेत्रीय विविधता तथा उत्पीडन भएको देशमा अधिकारका निम्ति लड्न धेरै पार्टीहरू हुनु स्वाभाविक हो। तर अब केही दशकभित्र तीव्र आर्थिक वृद्धि हासिल गर्न र भारत तथा चीनजस्ता दुई ठूला देशका बीचमा सन्तुलन कायम राख्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न हामीलाई धेरै पार्टी आवश्यक छैन। राजनीतिक स्थिरताका लागि कि त संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद्मा जाऔँ, अनि संघीय ढाँचामा पनि सुधार गरौँ। त्यसो गरियो भने बल्ल ५ वर्ष चल्ने स्थिर सरकार बन्न सक्छ। होइन र यही निर्वाचन प्रणाली रहिरह्यो भने, अहिले रविजीहरूले झन्डै दुईतिहाइ बहुमत ल्याएजस्तो सधैँ सम्भव नहुन सक्छ।

विश्व इतिहासको अनुभवले भन्छ, २०–३० वर्षसम्म राजनीतिक स्थिरता नभई आर्थिक क्रान्ति हुँदैन, तर हाम्रो देशमा अहिलेसम्म कुनै पनि सरकार ३ वर्षभन्दा बढी टिकेको छैन।

विश्व इतिहासको अनुभवले भन्छ, २०–३० वर्षसम्म राजनीतिक स्थिरता नभई आर्थिक क्रान्ति हुँदैन, तर हाम्रो देशमा अहिलेसम्म कुनै पनि सरकार ३ वर्षभन्दा बढी टिकेको छैन।

अन्त्यमा मेरो विशेष आग्रह छ, दशौँ हजारको बलिदानबाट बनेको यो संविधानलाई कसैले पनि यो वा ऊ बहानामा छेडखानी गर्नु हुँदैन। यसलाई थप सुधार्दै लैजाऔँ, तर यसका मूल खम्बाहरू, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र, मध्ये कुनै एउटा मात्रै खम्बा ढल्यो भने पूरै व्यवस्था र संविधान ढल्ने खतरा हुन्छ। गत वर्ष भदौ २४ गते संविधान र व्यवस्था डिलडिलमा पुगेर बचेको हामीलाई थाहा छ। त्यसैले यो संविधानको रक्षा गरौँ र यसैमा टेकेर अगाडि बढौँ।

त्यस्तै, २००७ सालदेखि बीपी कोइराला र पुष्पलालहरूले सुरु गरेको लोकतान्त्रिक आन्दोलनलाई पूर्णतामा पुर्याउन माओवादी सशस्त्र संघर्षले ठूलो भूमिका खेलेको थियो। शान्ति प्रक्रियामा आएपछि विस्तृत शान्ति सम्झौतामार्फत गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका काम २० वर्ष पुग्न लाग्दा पनि पूरा भएका छैनन्।

गत वर्षको जेन-जी विद्रोहका क्रममा भएको १० बुँदे सम्झौता तथा थारू र मधेश आन्दोलनका सहिदहरूको सपना पूरा गर्न पनि बाँकी नै छ। (डा भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा गरेको भाषणको सम्पादित अंश)

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ४३ बजे

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित