बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ? « Khabarhub

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?



काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा सहभागी हुन देशविदेशबाट प्रतिनिधि, शुभचिन्तक, नेता कार्यकर्ता र पाहुनाहरु काठमाडौं आएका छन् । आइतबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ भने सोमबारदेखि बन्दसत्र सुरु भएको छ ।

कांग्रेसले महाधिवेशनमा सहभागी हुनका लागि भारत, चीन, बेलायत, अमेरिका, बंगलादेश लगायत मुलुकका विचार मिल्ने ३६ वटा राजनीतिक दललाई निम्तो गरेको थियो । तीमध्ये २० भन्दा बढी दलका नेता सहभागी भएको नेताहरु बताउँछन् । यस महाधिवेशनमा सहभागी सबैभन्दा चर्चित विदेशी पाहुना चाहिँ अफ्रिकी मुलुक क्यामरुनको सोसल डेमोक्र्याटिक फ्रन्ट पार्टीकी नेतृ चान्टल काम्बिवा हुन् ।

उनी मध्य–वामपन्थी विचारधारा भएका राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय संगठन सोसलिस्ट इन्टरनेशनल (एसआई) की महासचिव समेत हुन् । यो संगठनमा लोकतान्त्रिक समाजवादी, सामाजिक लोकतन्त्रवादी एवम् श्रमिक अधिकारका लागि स्थापित विभिन्न मुलुकका प्रमुख राजनीतिक दलहरु आबद्ध छन् । गत बुधबार काठमाडौं आइपुगेकी उनले राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गरेकी छिन् । नेपाली कांग्रेस लामो समयदेखि सोसलिस्ट इन्टरनेशनलको सदस्य पार्टीका रुपमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षका रुपमा काम गरिसकेका छन् । त्यसैगरी, पूर्वप्रधानमन्त्री एवम् पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले सोसलिस्ट इन्टरनेशनलबाटै छात्रवृत्ति लिएर लण्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गर्न गएको बताइन्छ । पछि उनी पनि सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्ष चुनिएका थिए ।

हाल यो संस्थाका अध्यक्ष स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेज रहेका छन् भने अमेरिकामा कार्यरत नेपाली कानुन व्यवसायी खगेन्द्र क्षेत्री र अल्बानियाका राष्ट्रपति एडी रामासहित २६ जना यसका उपाध्यक्ष छन् । सामाजिक न्याय, मानव अधिकार, आर्थिक समानता र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै विश्वव्यापी भाइचारा अभिवृद्धि गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ । यस संगठनमा विश्वका सयभन्दा बढी देशका प्रमुख राजनीतिक दलहरू आबद्ध रहेका छन् ।

यस संगठनको जरो ऐतिहासिक अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनसम्म पुग्छ । १९ औँ शताब्दीको उत्तरार्धमा श्रमिक वर्गको उत्थानका लागि गठन भएका पहिलो र दोस्रो इन्टरनेशनल तथा पछि स्थापित लेबर एन्ड सोसलिस्ट इन्टरनेशनलसम्म यसको इतिहास जोडिन्छ । वर्तमान स्वरूपमा भने सोसलिस्ट इन्टरनेशनलको औपचारिक स्थापना सन् १९५१ मा तत्कालीन पश्चिम जर्मनीको फ्राङ्कफर्ट शहरमा भएको हो । फ्राङ्कफर्टमा सन् १९५१ को जुन ३० देखि जुलाई ३ सम्म आयोजित सम्मेलनले यस संस्थालाई विधिवत् पुनर्गठित गरेको थियो ।

फ्राङ्कफर्ट सम्मेलनमा विश्वका विभिन्न ३० वटा समाजवादी र सामाजिक प्रजातान्त्रिक राजनीतिक दल तथा संस्थाहरूको सहभागिता थियो । सोसलिस्ट इन्टरनेशनलका संस्थापकहरुमा मुख्यगरी युरोप र एसियाका लोकतन्त्रवादी दलहरुको बाहुल्यता थियो । जर्मनीको सोसल डेमोक्रेटिक पार्टी, बेलायतको लेबर पार्टी, फ्रान्सको सोसलिस्ट पार्टी, अस्ट्रियाको सोसलिस्ट पार्टी, बेल्जियमको सोसलिस्ट पार्टी, स्विडेन, डेनमार्क, नर्वे र नेदरल्यान्ड्सका लेबर तथा सोसल डेमोक्रेटिक दलहरु यसका संस्थापक थिए ।

त्यसैगरी, एसियाबाट भारतको इन्डियन सोसलिस्ट पार्टी र जापानको सोसल डेमोक्रेटिक पार्टीले पनि संस्थापक भूमिका निर्वाह गरेका थिए । त्यस समय कम्युनिष्ट शासन खेपिरहेका पोल्यान्ड, बुल्गेरिया, हंगेरीजस्ता मुलुकका लोकतान्त्रिक समाजवादी तथा सामाजिक लोकतन्त्रवादी दलहरुले समेत यसको सोसलिस्ट इन्टरनेशनलको स्थापनाप्रति ऐक्यबद्धता जाहेर गरेका थिए ।

यही महाधिवेशनमा जारी भएको ऐतिहासिक ‘फ्राङ्कफर्ट घोषणापत्र’ लाई यो संगठनको जग मानिन्छ । यस घोषणापत्रमा उल्लेखित कतिपय अवधारणा बीपी कोइरालाले अङ्गीकार गरेका प्रजातान्त्रिक समाजवादी नीतिको स्रोतका रुपमा पनि लिने गरेको पाइन्छ । आजका दिनमा पनि नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेशनलको पूर्ण सदस्यका रूपमा आबद्ध रहँदै यसका विश्वव्यापी मूल्यमान्यता र अभियानहरूमा सहभागिता जनाउँदै आएको छ ।

सोसलिस्ट इन्टरनेशनलले स्थापनाकालदेखि नै तानाशाही व्यवस्थाका विरुद्ध बुलन्द आवाज उठाउँदै आएको छ । यस संगठनले अङ्गीकार गरेको विचारधाराले राजनीतिक स्वतन्त्रता र आर्थिक समानतालाई एकैसाथ लैजानुपर्नेमा जोड दिन्छ । पछिल्लो समय भने यो संगठन धनी र गरिबबीचको खाडल, बेरोजगारी र शोषणका विरुद्धमा सक्रिय छ । त्यसैगरी, जलवायु परिवर्तनको असर न्यूनीकरण, वातावरण संरक्षण, लैंगिक समानता, महिला अधिकार, गरिबी निवारण तथा विश्वव्यापी आर्थिक असमानता हटाउने मुद्दाहरूलाई प्रखर रूपमा उठाउँदै आएको छ ।

विश्वभर बढ्दै गएको अधिनायकवादी प्रवृत्तिका विरुद्ध लोकतन्त्रको सुदृढीकरण तथा संयुक्त राष्ट्रसंघको बडापत्र अनुरूप अन्तर्राष्ट्रिय शान्ति र सहयोग अभिवृद्धि गर्न यो संगठन क्रियाशील छ । यस संगठनले नागरिकका लागि पूर्ण रोजगारी, सामाजिक न्याय, निःशुल्क वा सुलभ शिक्षा र स्वास्थ्य तथा श्रमिकको अधिकारको सुनिश्चितताका लागि पनि यो संगठनले आजाज उठाउने गरेको छ । यसका साथै, फासीवाद, दक्षिणपन्थी अधिनायकवादको विकल्पमा बहुदलीय लोकतन्त्र, कानुनी शासन र मानव अधिकारको प्रतिरक्षामा यो संगठन लागिरहेको पाइन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ८ : ०८ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको