मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन् । बाढी, पहिरो र नदी कटानका कारण एक सातादेखि सडक अवरुद्ध हुँदा स्याउ बोटमा कुहिन थालेका छन् ।
मुस्ताङका पाँचवटै स्थानीय तहमा स्याउ टिप्ने तथा बजार पठाउने काम चलिरहे पनि सडक अवरुद्ध भएपछि बोटमै पाकेका स्याउ झर्न र कुहिन थालेका पीडित किसानको गुनासो छ । हाल ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी छ ।
सडक अवरुद्धका कारण स्याउ ढुवानीमा समस्या भएपछि सोमबार पाँचवटै स्थानीय तहका किसान तथा व्यापारीको समूहले जिल्ला प्रशासन कार्यालय पुगेर सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ ।
तीन दर्जन किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मासमक्ष सडक अवरोधका कारण स्याउ ढुवानीमा परेको समस्या र किसानले व्यहोर्नुपर्ने क्षतिबारे जानकारी गराएका हुन् ।
थासाङ गाउँपालिका–१ टुकुचेस्थित आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले दसैँअघि स्याउ बिक्री हुने मुख्य समयमा सडक बन्द हुँदा किसानको वर्षभरिको मेहनत खेर जाने अवस्था आएको बताए । “स्याउ टिपौँ, बाटो छैन, नटिपौँ बजार लैजाने बाटो छैन,” उनलेभ ने, “यस्तो अवस्थामा स्याउको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढेको छ । सडक चाँडै खुलिदिएको भए केही राहत हुन्थ्यो ।”
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका किसान कान्छा गुरुङले मुस्ताङको ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी रहेको बताए । तीजअघि केही स्याउ बजार पठाइए पनि ठूलो परिमाणमा स्याउ अझै बगैँचामै रहेको उनले बताए । सडक खुलेपछि एकैपटक ठूलो परिमाणमा स्याउ बजार पुग्दा मूल्य घट्न सक्ने जोखिमसमेत रहेको उनको भनाइ छ ।
घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान योन्तेन गुरुङले बेनी–जोमसोम सडक तत्काल सञ्चालनमा ल्याउन आयोजनाले तीव्र गतिमा काम गर्नुपर्ने बताए । सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटनसँगै कृषि क्षेत्रसमेत प्रभावित भएको उल्लेख गर्दै उनले स्याउ किसानलाई थप क्षति हुन नदिन राज्यका सबै संयन्त्र परिचालन गरी सडक खुलाउनुपर्ने माग गरे ।
विद्युत् प्रसारणसम्बन्धी समस्या र सडक अवरोधका कारण टिपेर राखिएका पाँच ट्रक स्याउ बजार पठाउन नसकिएको उनले बताए । लामो समयसम्म राख्दा ती स्याउ कुहिएर नोक्सान हुने जोखिम रहेको उनको भनाइ छ ।
वारागुङ मुक्तिक्षेत्र–४ तिरीका किसान नर्वु गुरुङले सडक सञ्चालन नहुँदा परम्परागत जातका स्याउ बोटमै पाकेर झर्न थालेको बताए । बगैँचाबाट झरेका स्याउको तस्बिर प्रमुख जिल्ला अधिकारी शर्मालाई देखाउँदै उनले किसानको पीडा बुझिदिन आग्रह गरे ।
किसानका गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी शर्माले प्राकृतिक विपत्तिका कारण भएको क्षति तत्काल रोक्न नसकिने भए पनि सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताए । सडक सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उनले चाँडै सडक खुल्ने बताए।
बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दी खण्डमा अपेक्षाभन्दा बढी क्षति भएकाले सडक सञ्चालनमा केही ढिलाइ भएको बताए । मालढुङ्गादेखि कोरलासम्म अधिकांश स्थानमा सडक मर्मत भइसकेको र म्याग्दीको सिरुबारी, बैसरी, पनौटो तथा पोखरेबगरमा पुलका पहुँचमार्ग मर्मतको काम बाँकी रहेको उनले जानकारी दिए ।
म्याग्दी खण्डमा १३ किलोमिटर सडक मर्मत तीव्र गतिमा भइरहेको छ । बाँकी काम पूरा गर्न एक साता लाग्ने आयोजना प्रमुख शर्माले बताए ।














प्रतिक्रिया