काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।
प्रदर्शनअघि नै अग्रिम टिकट बिक्रीबाट विश्वव्यापी रूपमा ११० करोड भारतीय रुपैयाँ कमाइसकेको फिल्मले पहिलो दिन कस्तो व्यापार गर्छ भन्ने चासो अहिले बढेको छ। निर्माण पक्षले फिल्मबाट बक्स अफिसमा ऐतिहासिक कमाइको अपेक्षा गरेको छ।
ठूलो बजेट, चर्चित कलाकार र पौराणिक कथाको भव्य प्रस्तुतिका कारण चर्चामा रहेको फिल्मको प्रभाव नेपालमा पनि देखिएको छ।
तिहारको माहोलमा प्रदर्शनमा आएको ‘रामायण’ हेर्न दर्शकको आकर्षण बढेको छ। नेपालका प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्स, आइएनआइ, वान सिनेमाज र बिग मुभिजलगायतका हलमा फिल्मको बुकिङ उत्साहजनक रहेको छ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर भगवान् रामको भूमिकामा छन् भने साई पल्लवी सीताको भूमिकामा देखिएकी छन्।
त्यस्तै, यश रावण र सनी देओल हनुमानको भूमिकामा छन्। करिब ४० भाषामा डब तथा सबटाइटलसहित तयार पारिएको फिल्मलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ।
विशेष कुरा त के छ भने ‘रामायण’को कथा एउटै फिल्ममा नभई दुई भागमा प्रस्तुत गरिँदैछ। दुवै भाग निर्माणका लागि कुल चार हजार करोड भारतीय रुपैयाँ बजेट छुट्याइएको छ। यसको दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन गर्ने तयारी छ।
पौराणिक कथालाई आधुनिक प्रविधि र भव्य दृश्यका साथ पर्दामा उतारिएको दाबी गरिएको ‘रामायण’ले बक्स अफिसमा कति ठूलो सफलता हासिल गर्छ भन्ने प्रश्नको जवाफ भने अब प्रदर्शनपछिको व्यापारले दिनेछ।














प्रतिक्रिया