अमेरिकी निर्भरता घटाउँदै व्यापार विविधीकरण गर्ने क्यानाडाको नयाँ बजेट « Khabarhub

अमेरिकी निर्भरता घटाउँदै व्यापार विविधीकरण गर्ने क्यानाडाको नयाँ बजेट


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिका कारण अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउने र व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजनाका रूपमा अघि सारेको छ ।

प्रधानमन्त्री कार्नीले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था पुनःस्थापित हुने सम्भावना नरहेको बताएका छन् ।

अर्थमन्त्री फ्राँस्वा–फिलिप शाम्पेनका अनुसार बजेटको मुख्य उद्देश्य घरेलु व्यापार प्रवर्द्धन गर्नु र अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नु हो । बजेटमा ऊर्जा उत्पादन, महत्त्वपूर्ण खनिज उत्खनन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, अमेरिकी भन्सार शुल्कबाट प्रभावित अटोमोबाइल र स्टिल उद्योगका श्रमिकलाई सहयोग गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । सरकारले घरेलु उत्पादन र उद्योगको क्षमता विस्तार गर्दै अमेरिकी बजारमाथिको निर्भरता कम गर्ने रणनीति अघि सारेको हो ।

यसैबीच, अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि क्यानाडामाथि लगाइएका भन्सार शुल्कको भविष्य थप अनिश्चित बनेको छ । डेमोक्रेटिक पार्टीका सांसद जेमी रास्किनले आफ्नो पार्टीले शुल्क हटाउने र क्यानाडासँगको सम्बन्ध सुधार गर्ने बताएका छन् ।

तर, क्यानाडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले भन्सार शुल्कसम्बन्धी वार्ता अमेरिकी कङ्ग्रेससँग नभई ह्वाइट हाउससँग हुने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री कार्नी र राष्ट्रपति ट्रम्प दुवैले व्यापार सम्झौताको सम्भावनाप्रति आशा व्यक्त गरे पनि यसअघि भएका वार्ता निष्कर्षमा पुग्न सकेका थिएनन् ।

सरकारले नयाँ बजेटमा बजेट घाटा गत वर्ष अनुमान गरिएको ७८.३ अर्ब क्यानाडाली डलरभन्दा कम रहने अपेक्षा गरेको छ । यसअघि बजेट पारित गर्न विपक्षी दलको सहयोग आवश्यक परेको प्रधानमन्त्री कार्नी नेतृत्वको लिबरल पार्टीले अहिले संसद्मा बहुमत प्राप्त गरेको छ । 

यसले सरकारलाई आफ्नो आर्थिक तथा व्यापारिक नीति कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ४ : ०२ बजे

भरतपुरमा ट्राफिकलाइट प्रयोगबारे सचेतना कार्यक्रम 

चितवन– भरतपुर महानगरपालिकामा जडान गरिएका ट्राफिकलाइट सञ्चालनको तयारीसँगै यात्रु तथा

विवादले रोकिएन ‘पाँच पाण्डव’, प्रदर्शनको अन्योल हट्यो, कात्तिक २० मै हलमा आउने

काठमाडौं– धार्मिक विवाद र प्रदर्शन रोक्ने चर्चाबीच चर्चामा रहेको नेपाली

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

एजेन्सी – पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर किंग्स

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को बिहीबारको

बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

ढाका-  बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी