‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय « Khabarhub

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय



जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने के तपाईं फेरि वैज्ञानिक बन्न चाहनुहुन्छ ?’ उनले शान्त भएर जवाफ दिए- ‘म एउटा साधारण प्लम्बर हुन चाहन्थेँ । प्लम्बर भएको भए मसँग कहिलेकाहीँ आफ्नै बारेमा सोच्ने समय हुने थियो । मेरो सारा जीवन चन्द्रमा र ताराका विषयमा सोचेरै बित्यो । म जन्मिदा जस्तो अज्ञानी थिएँ , आज यस संसारबाट बिदा हुने बेलामा त्यस्तै भएर जाँदैछु । यद्यपि विश्वले मलाई ज्ञानी भन्छ । अर्को जन्म हुन्छ भने अज्ञानी भएर मर्न चाहन्न । त्यो जीवन म जागरुक, आफैंमाथि विजय प्राप्त रवाफिलो बाँच्न चाहान्छु ।’

जेन-जी आन्दोलनले सर्वत्र स्वाहा बनाएपछि आम मानिसलाई लागेको थियो- शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल जस्ता शीर्ष नेताले कसरी अनुहार देखाउलान ? राजनीति गर्दा उभिने नैतिकताको धरातल कति बाँकी रहला ? यिनका चण्डमुण्ड, ढोके, हुक्के, चम्चेको हाल के होला ? आम्दानीका स्रोत सुक्दा यिनका घरलाई चारधाम ठानेर धाउनेको चुल्हो कसरी बल्ला ? दशकौंदेखि पद, पैसा र पावरमा खेलेको बानीमा अचानक तगारो लागेपछि भुटभुटिएका परिवारका सदस्यमा कस्तो मनोवैज्ञानिक आघात पर्ला ? प्रणालीलाई नै राजनीतिकरण गर्ने कुकर्मप्रति पछुतो मानेर जनताप्रति याचना गर्लान कि नगर्लान ?

कुनै समय जनताको स्वाधीनताका लागि यो पुस्ताका नेताहरुले खेलेको भूमिकाप्रति उच्च सम्मान छ । तर त्यही कीर्तिलाई मिटरब्याजमा लगाएर मनमौजी गर्ने हक यिनीहरुलाई छैन् ।

संसारमा अद्भूत मस्तिष्कका धनी आइन्स्टाइन जीवनको अन्तिम अवस्थामा आफैंप्रति दिक्दार थिए भने हाम्रा नेताहरु ब्रम्हनाल नपुगेसम्म एक कार्यकालको मोह त्याग्दैनन् भने त्यो मानसिकता आफैंमा परीक्षणयोग्य हो । जेन-जी आन्दोलनको सफलतासँगै डिस्कर्डबाट मुलुकको कार्यकारी चयन भयो । नयाँपुस्ताले राजनीतिमा गरेको यो असाधारण प्रयोग थियो । ढ्वाङको मतले दलका नेतालाई जहाँ पुर्‍याउँथ्यो, नवयुवाले सुशीला कार्कीलाई त्यहीँ पुर्‍याए । कार्यकर्तालाई पुस-माघको जाडोमा आइसक्रिमको व्यापार गराउन पल्किएका नेताहरुलाई यी घट्ना पत्याउन अहिले पनि कठिन भइरहेको छ । कुर्सीमा अरु बसेको दृश्य यिनीहरुका लागि अंगुर अमिलोको पुनरावृत्ति हो ।

पूर्वाग्रह नराखी भन्दा जेन-जी आन्दोलनपछि केपी ओलीको अवस्था बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको जस्तै हो । फरक यिनी आफ्नै माटोमा रहे, उनी सिमाना कट्न बाध्य भइन ।

पूर्वाग्रह नराखी भन्दा जेन-जी आन्दोलनपछि केपी ओलीको अवस्था बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको जस्तै हो । फरक यिनी आफ्नै माटोमा रहे, उनी सिमाना कट्न बाध्य भइन । ओलीको शरीरमा ढाँटेको पत्ता लगाउने ‘पोलिग्राफ’ मेसिन लगाउने हो भने उनी यति त्रसित छन् कि उनको बोलीमा विवेकशून्य उत्तेजनाको प्रभुत्व पाइन्छ । राज्यले लगाएको स्थानहदको अवस्थालाई चुनौती दिने हिम्मत नभएकै कारण पूर्व निर्धारित पोखराको महाधिवेशन रातारात काठमाडौं सारिएको बुझ्न सहजै सकिन्छ । देउवालाई ज्ञानेन्द्र राजाले ‘असक्षम’को पदवीसहित डामेकै हुन् ।

लोकतान्त्रिक व्यवस्था भनिए पनि व्यवहारमा नेता र कार्यकर्ताको अवस्था मुखिया र आसामीको जस्तो छ । झिसमिसेमै परेलामा लागेको तुसारो पुछ्दै चाकरीमा हाजिर बजाउने कार्यकर्ताले देउवाको घर खरानी भएपछि उनको नयाँ निवासमा बल्ल छानोमुनि ओतिने अवसर पाए ।

बूढानीलकण्ठस्थित देउवा निवासको मझेरीमा राखिएको चिसो फलामको कुर्सी अन्तिम बोर्डरलाइन थियो । वर्षौंसम्म त्यही फलामे कुर्सीमा बसेर कार्यकर्ताको देउवा दर्शन चल्यो ।

भेटमा देउवाले दुखेसो गर्नेको पीडा पूर्ण वाक्यमा सुन्ने धैर्य कहिल्यै राखेनन् । कार्यकर्ताले आफ्ना नेतासँग कुम जोडेर फोटो खिच्न पाउँदैनथे । उठेको कार्यकर्ता र घोसेमुन्टो लगाएको देउवा पोजमा कार्यकर्ताले कृतकृत हुनुपथ्र्यो । ठूलै नेता पनि चकटीमा बसेर वर्षौंदेखि एकतर्फी आदेश लिएर फर्कन्थे । जेन-जी आन्दोलनपछि शेरबहादुरमा आएको अर्को परिवर्तन भनेको चालकसँगैको सिटबाट पछाडि आसन फेर्नु हो । सरकारले अगुवा, पछुवा खोसेपछि सुरक्षा सल्लाहमा परिवर्तन भएको हुनसक्छ ।

कार्यकर्तासँग यसखाले दूरी बीपी, केपी, जीपीबाटै आएको विरासत हो । शीर्ष नेतृत्व र नेताबीचको खाल्डो साँच्चै कहालीलाग्दो दूरीमा रहने गरेको छ । एमालेमा ओलीको सेखपछि पनि फोटोले शासन गर्‍यो भने आश्चर्य नमाने हुन्छ । प्रचण्डले त को त कुरै गर्न परेन, कुर्सी जुरेन भने भित्तैमा भए पनि उनलाई पदको फुर्को अनिवार्य छ । आन्दोलनपछि नेताहरुले घर फेरे, सोफा फेरे, ओछ्यान फेरे, गाडी फेरे तर मति फेरेनन् । आफू सत्य, संसार भ्रम भन्ने स्थायी मान्यता जीवित छ ।

जेन-जी आन्दोलनपछि नेताहरुले घर फेरे, सोफा फेरे, ओछ्यान फेरे, गाडी फेरे तर मति फेरेनन् । आफू सत्य, संसार भ्रम भन्ने स्थायी मान्यता जीवित छ ।

तरबार लिएर छिनाउन आउने भन्दा अहोरात्र कानमा चिनी भर्ने अपराधी हुन भन्ने सत्य नबुझेर दलभित्र तिनै दुखी आत्मा बटुलेर रमाउनु भनेको नाफाको जिन्दगी फेरि डुबाउनु हो । कमजोरी नभएको सृष्टिमा को होला र ? तर जेन–जी आन्दोलनपछि कांग्रेसलाई नैतिक धारमा उभ्याउने पात्र कोही थिए भने महामन्त्रीद्वय गगन र विश्वप्रकाश नै हुन् । उनीहरु कांग्रेस पार्टीकै घडा बनेर उभिए । सदनदेखि सडकसम्म यिनकै आवाज पत्याइए । तर आरजुलाई व्यवस्थापन गराउने अन्तिम घिडघिडो बोकेका शेरबहादुर र शेरबहादुरलाई देखाएर जमिन टेकेका कृपापात्रले परिवर्तनको एजेण्डा छिर्नसम्म दिएनन् ।

राजनीति नीतिहरुको उच्च आसन हो । देशका सम्पूर्ण जनसंख्याको व्यवस्थापकीय दायित्व बहन गर्ने हुनाले राजनीति गर्नेहरु सुतेको अवस्थामा पनि जागा हुनुपर्ने मान्यता राखिन्छ । देउवा+++++++, ओली, प्रचण्डले वर्षौंदेखि भोटलाई मासुभात र मदिरासँग साट्ने साधन बनाएकै हुन् । यिनीहरु सत्तामा पुग्दा लोकतन्त्र फस्टाउने, झर्दा मुर्झाउने व्याख्या खोटो दर्शन भइसक्यो ।

ढुकुटीमा बाँडचुँडको संस्कृति यिनीहरुकै प्रतापमा सम्भव भएको हो । देशको नीति तथा कार्यक्रम व्यापारीको घरमा डिल गर्ने अभियन्ता यिनै महान आत्माहरु हुन् । आफ्नो लहडलाई कानून मान्न बाध्य यिनैले बनाए । देश बनाउने जिम्मा धुर्मुस सुन्तली नामको चटके जोडीलाई विशाल कार्यक्रम गरेर जिम्मा दिने ओली–प्रचण्डले त्यो हर्कतको जिम्मेवारी लिन पर्दैन ? नेतालाई प्रश्न सोध्ने मात्र नभई अडिट पनि हुनुपर्छ । त्यसैले सबैभन्दा पहिले ढुकुटीमाथि दोहनको मुद्दामा ओली–दाहाललाई कठघरामा उभ्याइनु पर्छ ।

देशमा विधि व्यवस्था परिवर्तन भएको यतिका दशक वित्दा शिक्षा, स्वास्थ्य, विकासप्रतिको राष्ट्रिय रोडम्याप खै ? पठाओले एउटा एप्स बनाएर हजारौं युवालाई रोजगार दियो । मोबाइलले साउँअक्षर नपढेका सबैलाई साक्षर बनायो । तर दुखकासाथ भन्नुपर्छ नेताहरुको दत्तचित्त खर्च उठाउने र कार्यकर्ता व्यवस्थापनमा खुम्चियो । यिनीहरुको जीब्रोले सिंगो देश कहिल्यै उच्चारण गरेन । यिनीहरुको राजनीतिक घोषणाको अन्तिम मस्यौदाकारमा कि व्यापारी कि सरकारी अधिकारी नियुक्त छन् ।

सरकारमा बसेकाले नै नक्कली भुटानी शरणार्थीको गोरखधन्दा चलाएको मुद्दाका कारण अहिले पनि कति पुलिसको गेस्ट हाउसमा छन् ।

सरकारका सचिव, मुख्यसचिवलाई राजनीतिमा पल्काएर लाभको पद दिँदा त्यसले प्रणालीमा कस्तो असर पर्छ भन्ने न्यूनतम हेक्का नराख्दा गल्ती अरुको, बद्नामी नेताको काँधमा बज्रियो । सरकारमा बसेकाले नै नक्कली भुटानी शरणार्थीको गोरखधन्दा चलाएको मुद्दाका कारण अहिले पनि कति पुलिसको गेस्ट हाउसमा छन् । तर फाइदाको बाली भित्र्याउनेहरु लोकतन्त्रको विधिशास्त्र पढाउन व्यस्त छन् । आफूलाई सरकार लाग्ने भएपछि सरकार फेर्ने अनेक तिकड्म गरिए । रानीपोखरीको पुलिस, पानीपोखरी सारिए । कालिकोटका सिपाही बालकोट सरे । बालकोटका कार्गेडमा बढुवा भए । यो आरोप नभएर नओझेलिएको दृश्य हो ।

मुख्यसचिवले आफ्नै हातले आफैंलाई नियुक्ति दिने अघोषित परम्परा नै बसाइयो । सरुवा, बढुवा, नियुक्ति, लाइसेन्स जताततै शुभलाभमा चल्यो । डाक्टर, वकिल, न्यायाधीश, व्यापारी, ठेकेदार, पत्रकार, कर्मचारी, पुलिस सबै पार्टीका तामातुलसो समाउने भए । स्कुले किशोरले आफूहरुको राजनीतिक व्यवस्थापनमाथि प्रश्न उठाउँदै बन्दुकको कुन्दामा किन खेल्यो ? स्कुले ड्रेसका बच्चा सेनाको ट्यांकरमाथि किन खेले ? लाखौं कार्यकर्ताले देवतुल्य ठानेर घरमा फोटो सजाइएका आफूहरुमाथि रक्तमुछेल हुने गरी किन हातपात गरियो ? इतिहासमै कहिल्यै नदेखिएको राज्यका संयन्त्रमा वैचन्य किन आयो ? प्रहरी प्रमुखले राजनीतिक मुखियालाई एउटा यक्ष प्रश्न सोधे– राष्ट्रिय सम्पति जोगाउन बसेको सुरक्षाकर्मीले भवन जोगाउने कि भवन जलाउन आउनेहरु ? यो प्रश्नको उत्तर खोज्ने जाँगर किन कुनै राजनीतिक नेतृत्वमा आउन सकेन ? पुलिस र सेनाको दृष्टिकोण किन बाँझियो ? राजनीतिभित्र अपराधशास्त्र कति गहिरो छ भन्ने पुष्टि गर्न यही प्रकरण काफी छ ।

पार्टीका वर्गीय संस्थामा आवद्ध नहुनेले न अस्पतालमा बेड पायो, न अदालतमा न्याय पायो, न अपरेसन गर्दा एक पिन्ट रगत पायो हुँदाहुँदा आर्यघाटको चितामा समेत राजनीति पहुँचको रंग देखिन थाल्यो । सरकारी जागिरे उपसचिवसम्मलाई कानूनले नै नेता बन्ने अधिकार दियो । त्यसभन्दामाथि पदका राजनीतिक सेटिङमा उस्ताद देखिए ।

पार्टीका वर्गीय संस्थामा आवद्ध नहुनेले न अस्पतालमा बेड पायो, न अदालतमा न्याय पायो, न अपरेसन गर्दा एक पिन्ट रगत पायो हुँदाहुँदा आर्यघाटको चितामा समेत राजनीति पहुँचको रंग देखिन थाल्यो ।

राज्यसंयन्त्रमा अव्यवस्था मौलाउँदा वडामा पानी सदस्य जित्न नसक्नेहरु राजनीतिमा भित्रिए । यिनै शीर्ष नेताले रोपेको विषवृक्षका कारण राजनीति चौताराको मादलजस्तो बन्यो । सरकारका निकाय कुनै भरलाग्दा भएनन् । न्यायमा जनताको पहुँच भएन । कुनैबेला एमाले–माओवादी कथित एकीकृत गरी नेपाल कम्युनिष्ट पार्टी नामको लाहाको घर बनाइएको थियो । कुर्सीको विवादले त्यो घर ध्वस्त भयो ।

बीपीले भनेका थिए- ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन् या दास’ । प्रमुख दलका कार्यकर्तामा अहिले पनि दोहोरो मापदण्ड छ । मानिसले डाक्टर, न्यायाधीश र भगवानसँग सत्य बोल्नुपर्छ भन्ने मान्यता छ । तर राजनीतिकर्मी भट्टीमा मात्र साँचो बोल्छन् । समस्या के छ भने त्यहाँ बोलेको प्रमाणिकरण हुँदैन । अघिल्लो पुस्ताका नेताहरुको नियत सफा भइदिएको थियो भने अमेरिकामा घण्टा हानेर जीविका चलाइरहेको रवि लामिछानेलाई सेलब्रेटी मानेर जनता पछि लाग्नुपर्ने थिएन । जर्मन नागरिकसँग बिहे गरेर उतै घरबास गरेकी आशिकालाई ‘मदर टेरेसा’ भनेर सञ्जालमा प्रदूषित बनाउनुपर्ने थिएन ।

चौबीसै घण्टा अन्टसन्ट लेखाइमा कलेजो ठण्डा पार्दै आएका हर्क साम्पाङलाई नगरप्रमुख झेल्नुपर्ने भाउँतो धरानेलाई पर्ने थिएन । युटुबमा अन्तर्वार्ता दिएर दिन कट्नी गर्दै आएकी सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने भोक थिएन । विद्युत प्राधिकरणको एउटा कर्मचारी कुलमानसँग देशका ठूला मान्छेहरु एकपछि अर्को निहुँ खोज्न जाँदा त्यही कर्मचारी अहिले देशका तीन शक्तिशाली मन्त्रालयको मन्त्री बन्न पुग्यो ।

नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा हिजो अन्ना हजारे, अरविन्द केजरीवाल उदाए । तर केही वर्षमा त्यसैगरी बिलाए । यस्ता पात्र आउँदा राजनीतिमै नाभी गाडेकाहरुले आत्मसमीक्षा गर्नुपर्ने हो । तर सोचमा समेत फराकिलोपन देखिएन ।

अहंकारले के हुन्छ ? रामायणको सानो अंश ग्रहण गरे पुग्छ । रावणसँग सुनको लंका थियो । समुद्रको पानी गुलियो बनाउने, मत्र्यलोक र पाताललोक सुनको सिंढीले जोड्ने योजना थियो । ज्योतिष, तन्त्रमन्त्रमा दक्ष थिए। संगीतका वाचाल बादशाह मानिने यिनले शिव ताण्डव स्तोत्रको रचना गरेको मानिन्छ । भगवान शिवका परमभक्त रावण युद्धकला, राजनीति, प्रशासन, अस्त्रशस्त्रमा निपुण थिए। यस्ता बहुआयामिक व्यक्तित्त्वको छविलाई एउटा मात्र कमजोरी अहंकारले सिध्यायो । नेताहरुसँग बाँकी रहेको दुई विकल्प छ- सकिने कि सच्चिने ?

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : २२ बजे

सौगात मल्ल : फिल्म नचल्दा पनि डिमान्डमा रहने नायक

काठमाडौं – नायक सौगात मल्ल सामाजिक सञ्जालमा कम सक्रिय हुन

नेपाली क्रिकेट टिमको वर्ल्ड कप जर्सीको मूल्य कति ?

काठमाडौं – भारत र श्रीलंकामा हुने सन् २०२६ आईसीसी पुरुष

एमाले सचिवालय बैठक च्यासलमा : के छन् एजेन्डा ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको

चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो : गोकुल बास्कोटा

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको

वीरगञ्जमा कर्फ्यूको समय थपियो

पर्सा – जिल्ला प्रशासन कार्यालयले पर्साले कर्फ्यूको समय थप गरेको