काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा आफूले त्यहाँका नेताहरूसँग नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे समीक्षा गरेको बताएका छन् ।
नेकपाको प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले दिल्लीमा आइतबार साँझ नै भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा लामो वार्ता गरेका छन् । डोभालले चुनावमार्फत् देशलाई निकास दिन सुझाएको बताइएको छ।
‘मेरो भ्रमणको उद्देश्य अनौपचारिक रूपमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा र सूचना संकलन गर्ने थियो’, उनले भने, ‘आज त्यो उद्देश्य पूरा भएको छ । विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिकरुपमा भारतीय राजनीतिक मित्रहरूसँग समीक्षा भएको छ । हिजोदेखि आजसम्म समीक्षा गरेँ, भ्रमणको उद्देश्य पूरा भयो।’
प्रचण्डले भदौ २४ गते नेपालमा भएको विध्वंश ठूलो डिजाइन र योजनामा भएको पनि बताए । ‘भदौ २३ गते कलिला युवा-विद्यार्थीको हत्या स्वीकार्न सकिने खालको थिएन । त्यो एकदमै निर्दयी घटना थियो’, उनले भने, ‘तर भदौ २४ गते देशभर भएको विध्वंस र आगजनी जेन-जीहरूले गरेका थिएनन्, त्यो लुटपाट जेन-जीबाट भएको होइन । निकै ठूलो डिजाइन र योजनमा विध्वंश र लुट मच्चाइयो ।’
उनले जेन-जीहरूको आन्दोलनलाई आफूहरूले समर्थन गरे पनि देशमा भएको विध्वंश स्वीकार्न नसकिने बताए ।
‘भदौ २४ गते देशमा आतंक र त्रासको वातावरण थियो । लुटपाट मच्चाइएको थियो’, उनले भने, ‘त्यसबेला परिस्थितिलाई सम्हाल्न हामीले रातभर पहल गर्यौँ । निकासका लागि हामीले राष्ट्रपतिसँग वार्ता गरेका थियौँ।’













प्रतिक्रिया