अमेरिकी टेकबाट टाढिँदै ईयू « Khabarhub

अमेरिकी टेकबाट टाढिँदै ईयू


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (ईयू) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो । तर ट्रम्पको पुनरागमनसँगै ब्रसेल्सको ध्यान अब अमेरिकी प्रविधितर्फ केन्द्रित हुन थालेको छ ।

व्यापारमा दबाब सिर्जना गर्नेदेखि ग्रिनल्यान्ड कब्जाको धम्कीसम्म ट्रम्पका अभिव्यक्तिहरू तीव्र बन्दै गएपछि, चाहेको खण्डमा उनले युरोपलाई डिजिटल रूपमा ठप्प पार्न सक्ने चिन्ता बढेको छ । ग्रिनल्यान्ड विषयमा ट्रम्प पछि हटेपछि इयुका उच्च अधिकारीहरूले भू–राजनीतिक झड्काप्रति सङ्घ अत्यन्तै असुरक्षित रहेको चेतावनी दिँदै रक्षा, ऊर्जा र प्रविधिमा रणनीतिक आत्मनिर्भरताको आवश्यकता औँल्याउन थालेका छन् ।

सन् २०२३ को इयु प्रतिवेदनअनुसार, २७ देशको यो सङ्घ डिजिटल उत्पादन, सेवा, पूर्वाधार र बौद्धिक सम्पत्तिको ८० प्रतिशतभन्दा बढीका लागि विदेशी देशहरूमा निर्भर छ । यही निर्भरता घटाउने प्रयासस्वरूप युरोपले अमेरिकी प्रविधिमाथिको निर्भरता क्रमशः कम गर्न थालेको देखिन्छ ।

यसको पछिल्लो उदाहरण गत साता देखियो । फ्रान्सले सरकारी कर्मचारीलाई चाँडै जुम वा माइक्रोसफ्ट टिम्सजस्ता उपकरणको सट्टा स्वदेशी विकल्प प्रयोग गर्न निर्देशन दिने तयारी गरेको बतायो । ब्रसेल्सका लागि वास्तविक चेतावनी भने गत वर्ष आएको थियो । वासिङ्टनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूमाथि प्रतिबन्ध लगायो । यसका कारण उनीहरू अमेजन र गुगलजस्ता अमेरिकी प्रविधिबाट वञ्चित भए ।

यस घटनाले युरोपेली जीवनशैलीलाई आधार दिने धेरै उपकरणमाथि अमेरिकाको कति बलियो नियन्त्रण छ भन्ने स्पष्ट पारेको छ । इयुकी प्रविधि आयुक्त हेन्ना भिर्कुनेनले विगत एक वर्षमा अत्यन्त महत्त्वपूर्ण प्रविधिमा कुनै एक देश वा कम्पनीमाथि निर्भर नहुने आवश्यकता सबैले गम्भीर रूपमा महसुस गरेको बताए। उनले यस्ता निर्भरताहरू हतियारका रूपमा प्रयोग हुन सक्ने चेतावनी पनि दिए ।

भिर्कुनेनले आगामी मार्चमा क्लाउड, कृत्रिम बौद्धिकता (एआई) र चिप्स समेटिएको ‘टेक सार्वभौमिकता’ सम्बन्धी ठूलो प्याकेज सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । यिनै क्षेत्रमा इयुले बढी स्वायत्तता निर्माण गर्न चाहेको छ । युरोपेली डिजिटल एसएमई एलायन्सका महासचिव सेबास्टियानो टोफालेट्टीले डिजिटल प्रविधि अब तटस्थ उपकरण मात्र नरहेको बताए। उनका अनुसार, क्लाउड, एआई वा प्लेटफर्मजस्ता आधारभूत पूर्वाधार युरोपबाहिरबाट नियन्त्रण हुँदा नियम, डाटा र अन्ततः दबाब पनि बाहिरकै हातमा पुग्छ ।

सदस्य राष्ट्रहरूमध्ये फ्रान्स र जर्मनी यस अभियानमा अग्रणी देखिएका छन् । जर्मनीको उत्तरी राज्य श्लेसविग–होल्स्टाइनले गत वर्ष माइक्रोसफ्ट त्यागेर खुला स्रोत सफ्टवेयर अपनाउँदै डिजिटल सार्वभौमिकताको उदाहरण प्रस्तुत गरेको थियो । राज्यका डिजिटलकरण मन्त्री डिर्क श्रोएड्टरले सुरुआतमा यो कदम आर्थिक कारणले चालिएको भए पनि राजनीतिक तनावले यसको महत्त्व झन् बढाएको बताए।

छ महिनाभित्र राज्यले ४० हजारभन्दा बढी मेलबक्स माइक्रोसफ्ट एक्सचेन्ज र आउटलुकबाट ओपन–एक्सचेन्ज र थन्डरबर्डमा सार्‍यो । केही चुनौती आए पनि यसले डिजिटल स्वतन्त्रता सम्भव छ भन्ने सन्देश दिएको उनको भनाइ छ । यस्तै, युरोपेली संसद्ले पनि माइक्रोसफ्टलगायत उपकरणमाथिको निर्भरता पुनरावलोकन गरिरहेको छ ।

इयु स्तरमा पनि पहलहरू अघि बढिरहेका छन् । फ्रान्सेली कम्पनी मिस्त्राल र जर्मनीको एसएपीले युरोपेली एआई–आधारित क्लाउड समाधानमा सहकार्य गर्ने सहमति जनाएका छन् । फ्रान्स, जर्मनी, इटाली र नेदरल्यान्ड्सले साझा युरोपेली डिजिटल पूर्वाधार निर्माणका लागि आयोगको नेतृत्वमा संयुक्त प्रयास थालेका छन् ।

आज इयुका धेरै नीतिहरू सार्वभौमिकताको दृष्टिकोणबाट हेरिन थालेका छन् । डिजिटल युरो विकासको काम अघि बढिरहेको छ, जसलाई थोमस पिकेट्टीसहित दर्जनौँ अर्थशास्त्रीले युरोपेली सार्वभौमिकताको आवश्यक सुरक्षा भनेका छन् । यसअघि सन् २०२४ मा मास्टरकार्ड, भिसा र पेपलको विकल्पका रूपमा ‘वेरो’ नामक युरोपेली भुक्तानी प्रणाली सुरु भइसकेको छ ।

तर ब्रसेल्सस्थित थिङ्कट्यांक सेर्रेका जाक मेयर्सले प्रविधि सार्वभौमिकताको लक्ष्य स्पष्ट हुनुपर्ने चेतावनी दिएका छन् । यदि उद्देश्य राजनीतिक दबाब झेल्ने हो भने अमेरिकाविरुद्ध बढी ‘दबाब सिर्जना गर्ने क्षमता’ विकासमा ध्यान दिनु उपयुक्त हुने उनको तर्क छ ।

उनका अनुसार, अमेरिकी प्रविधि प्रयोग घटाउनु भन्दा चिप निर्माण मेसिनरी, कर्पोरेट सफ्टवेयर र दूरसञ्चार उपकरणजस्ता क्षेत्रमा युरोपमाथि अमेरिकाको निर्भरता बलियो बनाउनु प्रभावकारी रणनीति हुन सक्छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ५१ बजे

कानुनविपरीत भइरहेका विदेशी सवारीको प्रयोग सम्बन्धमा ध्यानाकर्षण

गण्डकी- नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले कानुनविपरीत

मत माग्न चितवन पुगे रवि 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका

कमला नदी तरेर कुलमानले थाले मधेशमा चुनावी यात्रा

सिराहा– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट मधेशको चुनवाी

‘दुरसञ्चार सेवा व्यवसाय मात्रै हैन, मानवीय जीवनको आधारभूत तत्त्व हो’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदानमा ध्यान

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं– हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म