काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने जनाएको छ ।
पार्टीले सबै १६५ वटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने जनाएको हो ।
‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन’, पार्टीका प्रवक्ता देवराज चालिसेले बिहीबार काठमाडौंमा भने, ‘चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ ।’
चालिसेले अहिले पार्टी देशभरका सबै क्षेत्रमा चुनाव प्रचारमा लागेको बताए । ‘हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापति (गगनकुमार थापा)ले पनि सार्वजनिक रूपमा यही कुरा भनिराख्नु भएको छ । त्यसबाहेक चुनावी तालमेल या गठबन्धनका नाममा आएका अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’
उनले अधिनायकवादीहरू मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्नसमेत आग्रह गरे। उनले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराए ।
विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा धृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै कांग्रेस त्यसप्रति कांग्रेस सचेत रहेको उनले बताए ।













प्रतिक्रिया