निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी « Khabarhub

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

मताधिकार प्रयोग गरी शासन व्यवस्था सुदृढ तुल्याउन आयोगको अपील


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन्।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपील जारी गर्दै उनले हरेक मतदाताले खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप, शासन, सरकार, नीति र नेतृत्व तय गर्ने भएकाले निर्वाचनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।

उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गरेका छन् । निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकारसम्पन्न मतदाताको कर्तव्य भएको पनि अपीलमा उल्लेख छ ।

अपीलको पूर्णपाठ :

आदरणीय बुबा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरू,

गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ ले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास लिएको छु ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु ।

निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्त्वपूर्ण हुन्छन् । निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्न मतदाताले दिने सहमति वा स्वीकृति नै मतदान हो । संविधान र कानुनबमोजिम निश्चित उमेर पूरा भएका नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ ।

राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने कुरा हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो ।

यो अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आफ्नो अधिकार सुरक्षित गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । यसमा सहभागी हुनु हरेक सार्वभौम अधिकारसम्पन्न मतदाताको कर्तव्य पनि हो ।

कुनै पनि निर्वाचनमा मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिका रूपमा लिने गरिन्छ । जब नागरिक आफ्ना अधिकारप्रति सचेत र जागरुक भएर मतदाताका रूपमा दर्ता हुन्छन् र सुसूचित भई सहभागिता जनाउँछन्, तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्दै जान्छ ।

निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ सङ्कल्पित छ । यस कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास व्यक्त गर्दछु ।

निर्वाचन व्यवस्थापनका सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी र आमसञ्चार माध्यम लगायत सरोकारवालाको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएको छ । यसका लागि धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ ।

निर्वाचन प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला हो । आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा बिहीबार आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क मतदान गर्न सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : ५३ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान

स्याङ्जाको एउटा केन्द्रमा भिजेका मतपत्र, मत बदर हुने चिन्ता

स्याङ्जा- मतदान अधिकृतको लापरबाहीले स्याङ्जाको एउटा मतदान केन्द्रमा मतपत्र भिजेको