काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका छन् ।
झापा–५ का उम्मेदवार बालेन मतदान गर्न काठमाडौँ आएका हुन् । उनले सिनामंगल मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।
जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सुरु भएको हो। मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका थिए ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।
आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।













प्रतिक्रिया