असारसम्म बाँकी सबै लाइसेन्स छाप्ने मुद्रण केन्द्रको तयारी « Khabarhub

असारसम्म बाँकी सबै लाइसेन्स छाप्ने मुद्रण केन्द्रको तयारी



काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा वर्षौदेखि थन्किएका सबै सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्नेगरी तयारी थालेको छ ।

यतिबेला केन्द्रले कार्तिक १२ गते विभागसँग भएको सम्झौता अनुरुप १२ लाख थान लाइसेन्स छापिरहेको छ । ‘हामीले अहिले जेन–जी आन्दोलनपछि यातायात विभागसँग भएको सम्झौताअनुरुप ब्लकमा रहेका १२ लाख थान अन्तर्गतका लाइसेन्स छपाइ गरिरहेका छौँ ।’ केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भने ।

उनका अनुसार विभागले हालसम्म दुई चरणमा करिब २ लाख ३८ हजार सेवाग्राहीको विवरण छपाइको लागि पठाइसकेको छ । उक्त विवरण प्रयोगात्मक परीक्षा पास गरेका नयाँ तथा नवीकरणका लागि आवेदन दिएर पनि लाइसेन्स हात पार्न नसकेका सेवाग्राहीको हो ।

‘विभागले करिब २ लाख ३८ हजार सेवाग्राहीको डाटा पठाएकोमध्ये अधिकांश छपाइ भइसकेको छ । जसमध्ये लगभग १ लाख ७० हजार थान लाइसेन्स वितरणका लागि पठाइसकेका छौँ भने ६८ हजार थान छपाइ गरेर पठाउने चरणमा छौँ, आइतबार विभागलाई पठाउछौँ ।’ ढुङ्गानाले भने ।

अत्यावश्यकतर्फ भने करिब ३१ हजार ५ सय थान लाइसेन्स तत्काल छपाइ गरेर सेवाग्राहीलाई वितरण गरिसकिएको छ । ‘विभागले वैदेशिक रोजगारीमा जाने र अत्यावश्क परेमा २४ घण्टाभित्रै लाइसेन्स छपाइ गरी वितरण गर्थ्यो ,सोअनुरुप अहिलेपनि करिब ३१ हजार ५ सय थान लाइसेन्स अत्यावश्यकतर्फका सेवाग्राहीलाई वितरण गरिसकिएको छ ।’ विभागका सूचना तथा प्रविधि शाखा प्रमुख केशव खतिवडाले भने ।

उनका अनुसार केन्द्रबाट ब्लकतर्फ छपाइ भएर आएका १ लाख ७० हजार थान लाइसेन्स सम्बन्धित कार्यालयमा पठाइने तयारी भइरहेको छ । ‘हामीले डाटा पठाएअनुसार केन्द्रले पहिलोपटक ब्लकतर्फको १ लाख ७० हजार थान लाइसेन्स विभागमा ल्याइदिएको छ,’ उनले थपे, उपत्यका नजिकका यातायात कार्यालयबाट आफैँ आएर पनि लैजाने तयारी छ भने टाढाका कार्यालयमा हुलाकमार्फत पठाउने तयारी गर्दैछौँ ।’

योसँगै केन्द्रले छपाइका लागि अन्य २ लाख सेवाग्राहीको तथ्याङ्क माग गरेको पनि उनले जानकारी दिए । ‘उहाँहरुले अब प्रत्येक हप्ता २ लाखको दरले छाप्छौँ भन्नुभएको छ । हामी विवरण रुजु गरेर पठाउने तयारीमा छौँ ।’ उनले भने ।

केन्द्रले भने सम्झौता अवधिभित्रै सबै लाइसेन्स छापिसक्ने दाबी गरेको छ । ‘सम्झौता अनुरुप वैशाख १२ गतेसम्म हामीले १२ लाख थान छपाइ गर्नुपर्नेछ । त्यसैले, यतिबेला हामीले सो समय अगाडी नै सबै छपाइ गरेर एकमुष्ठ पठाउने गरी काम थालेका छौँ,’ ढुङ्गानाले भने ।

नयाँ तथा नवीकरण गरी छपाइ गर्न बाँकी रहेका करिब १७ लाख सेवाग्राहीको लाइसेन्स असार मसान्तसम्म सक्नेगरी विभाग र केन्द्रले तयारी गरिरहेको उनले बताए । ‘विभागसँग ब्लकतर्फका करिब १७ लाख विवरण छपाइ गर्न बाँकी भएको सूचना छ । त्यसलाई असारसम्म छापिसक्ने र जनताको गुनासो नरहने गरी काम गर्नेगरी छलफल थालेका छौँ,’ उनले भने ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा बानेश्वरस्थित यातायात व्यवस्था विभाग जलेर ध्वस्त भएपछि विभागको सवारीचालक अनुपतिपत्र (लाइसेन्स) छाप्ने ५ वटा ‘मास प्रिन्टर’, विभागको डाटा सेन्टरसहित, छपाइ भएका इम्बोस्ड नम्बर प्लेट तथा प्लेट उत्पादन गर्ने भवन लगायत पूर्वाधारमा क्षति पुगेको थियो ।

यस कारण सेवाग्राहीको अत्याधिक चाप हुने देशैभरका यातायात कार्यालय करिब २ महिनासम्म ठप्प भएका थिए । अस्थायी प्रणाली स्थापना गरेर सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र परिक्षा लगायतको सेवा सुरु गरेपनि विभागले लाइसेन्स छाप्न भने सकेको थिएन ।

त्यसैले, विभागले लाइसेन्स छपाईको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दियो । विभागले १२ लाख थान लाइसेन्स ६ महिनाभित्र छपाई सम्पन्न गर्नेगरी कार्तिक १२ गते केन्द्रसँग सम्झौता गर्‍यो । पहिलो चरणमा २७ करोड ६० लाख रुपैँया बजेटमा दुई निकायबीच सम्झौता भएको हो । त्यसबेला तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कार्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए ।

केन्द्रबाट छपाइ भएका लाइसेन्समा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार यसमा उच्चस्तरीय सुरक्षा प्रणाली रहेका छन् । कार्डमा दृश्य र अदृश्य गरि ३४ प्रकारका सुरक्षा विशेषता रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग भएको दाबी गरिएको छ ।

विभागको डाटा सेन्टर स्थापनाका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको भइपनि हालसम्म अघि बढेको छैन । ‘विभागको सबै सेवा सुविधा अस्थायी डाटा सेन्टरबाटै चलिरहेको छ । खरिद प्रक्रियामा जानका लागि अर्थ मन्त्रालयमा फाइल पठाएका थियौँ । तर निर्णय आएको छैन,’ विभागका सूचना प्रविधि शाखा प्रमुख खतिवडाले भने ।

मंगलबार नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री सुनिल लम्सालसँगको भेटमा छिटोगरी लाइसेन्स छपाइ तथा वितरणका लागि जोड दिएको खतिवडाले सुनाए ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : १९ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय