झाडी फाँडेर फलफूल बगैँचा, ८० जनाले पाएका छन् रोजगारी « Khabarhub

झाडी फाँडेर फलफूल बगैँचा, ८० जनाले पाएका छन् रोजगारी


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन् । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाएका हुन् । 

‘बालिविज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन गर्दै आएको थिएँ’, उनले भने, ‘यसपालि उत्तिस र वनमाराले भरिएको दुई ठाउँमा ३० रोपनी बाँझो पाखोबारीमा झाडी फाँडेर फलफूलखेती सुरु गरेको छु ।’

पाँच सय सुन्तला, एक सय कागती, दुई सय टिमुर, ४० वटा ओखर र ३० बोट किबी लगाएका चोखालले सात रोपनीमा ‘मल्चिङ’ विधिबाट अकबरे खुर्सानीखेती गरेका छन् । उनको फार्ममा  पाँच हजार सुन्तला र सात हजार कागतीका बिरुवा छन् । सात हजार तीनपाते सुन्तला, सात–सात सय टिमुर र अम्बाको बिरुवा तयारी अवस्थामा छन् । 

‘नर्सरीका सबै बिरुवा बिक्री भयो भने १५ लाख आम्दानी हुने अनुमान गरेको छु’, चोखालले भने, ‘फलफूलखेती र बिरुवा उत्पादनका साथै पाँच सय स्थानीय जातका कुखुरा र दुई सय ५० कालिज पनि पालेको छु ।’ माछा र माहुरी पनि पालिएको उक्त फार्ममा १६ रोपनीमा अदुवाखेती भएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा केराखेती पनि सुरु भएको छ । 

रघुगङ्गा गाउँपालिका–२ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयको सहायक प्रशिक्षक रहेका चोखाल साँझ, बिहान र बिदाको समयमा फार्ममा व्यस्त छन्। उनलाई भाइहरू पशु प्राविधिक राम र इन्जिनियरिङ अध्ययन गरेका कृष्णले फार्म सञ्चालनमा सघाउँदै आएका छन् । 

वार्षिक रु २० लाखदेखि २५ लाखको कारोबार हुने फार्ममा घरपरिवारका सदस्यबाहेक सिजनमा ७० देखि ८० जनाले रोजगारी पाएका सञ्चालक चोखालले बताए। कृषि विकास कार्यालयले नर्सरीको पलास्टिक घर निर्माण र अदुवाखेतीका लागि सहयोग गरेको छ । चोखाल दाजुभाइ नर्सरी, कुखुरापालन र फलफूलखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । 

रोजगारी र अवसरको खोजीमा धेरै युवा विदेश र बजार पलायन भइरहेको समयमा चोखाल दाजुभाइले बाँझिएको पाखोबारीलाई हराभरा बनाएर सकारात्मक सन्देश दिएका उनका छिमेकी सन्दीप खत्रीले बताए। बिरुवा, फलफूल र कुखुरा खरिदका लागि ग्राहक फार्ममै आउँछन् । बजारको समस्या छैन । काम गर्ने जनशक्ति नपाउनु फार्म सञ्चालनमा मुख्य चुनौती बनेको सञ्चालक चोखालले बताए।
 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १० : ५५ बजे

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा