मेसिनको शहर : कवितादेखि किम्फसम्म « Khabarhub

मेसिनको शहर : कवितादेखि किम्फसम्म



युरेसिया कल्चरल फोरम दक्षिण कोरियाले सन् २०१७ जुलाई १५ बाट १७ सम्म अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपालबाट नेपाली लेखक संघका अध्यक्ष तथा प्राज्ञ कवि, गीतकार/लेखक श्रवण मुकारुङ तथा सोही संस्थाका महासचिव एवम साहित्यकार रत्नमणि नेपालको उपस्थिति थियो ।

कार्यक्रम सकिएपछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य समाज, अनलाइन वेब टीभी, इतर अभियान तथा मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले संयुक्त रुपमा नेपालबाट आमन्त्रित अतिथिहरूलाई सम्मान गर्दै कविता वाचन गर्ने छोटो अवसरसमेत दिएको थियो । कार्यक्रममा युरेसिया कल्चरल फोरम दक्षिण कोरियाका महासचिव छङ् देगीको पनि उपस्थिति थियो ।

त्यो सानो कार्यक्रममा नेपाली कविहरूले कविता वाचन गरेको सुनेपछी महासचिव देगी कोरियामा आप्रवासी मजदुरका रुपमा काम गर्ने नेपालीहरु कविता लेख्छन् भन्ने कुराले अचम्मित भएका थिए । त्यस बेला उपस्थित कवि श्रवण मुकारुङ र छङ् देगीबीच मुकारुङले आप्रवासी मजदुर कविहरुको कविता संकलन गरी सम्पादन गर्ने र कोरियन टोलीलाई तयारी कविता पठाइदिने र उता युरेसिया कल्चरल फोरमले ती कवितालाई कोरियन भाषामा अनुवाद गरेर प्रकाशन गर्ने सल्लाह भयो ।

भोलिपल्ट सबै आ-आफ्नो गन्तव्यतर्फ लागे । श्रवण मुकारुङ र रत्नमणि नेपाल स्वदेश फर्किए । श्रवण मुकारुङले कोरियामा कविता संकलनका लागि कविहरू पराजित पोमु, यल्जी विवश, जीवन खत्री, मिलन कान्छा किराती र सुष्मा रानाहँमालाई सुम्पिए ।

प्रवासमा कति कुराहरु सहज पनि हुन्छन्, फेरि कति असहज पनि । व्यक्तिगत रुपमा सहज भए पनि कतिपय सामूहिक कामहरु सबैको उस्तै फुर्सद र मनस्थिति नहुने हुँदा गाह्रो पनि हुने गर्दछ ।

केही समयपछि कोरियामा जिम्मेवारी लिने कविहरुले कविता संकलनको प्रयास थाले । साहित्यिक कार्यक्रमहरूमा अनौपचारिक रुपमा यो विषय उठ्ने गर्दथ्यो तर यसमा खासै ऊर्जा खर्च भइरहेको थिएन । सायद नेपालबाट श्रवण मुकारुङले घच्घच्याउने अपेक्षा रह्यो होला कि ? यो अनुमान व्यक्तिगत मात्रै हुनसक्छ ।

यो सल्लाह भएको डेढ दुई वर्षपछि पराजित पोमु एक्कासि यो विषयमा लागि पर्न थाले । व्यक्तिगत हिसाबले भन्दा पोमु त्योभन्दा पहिला इतर अभियानले संकलन र प्रकाशन गरेको ‘इतर कविता’ कविता नामक विशाल कविता संग्रहको संकलन तथा सम्पादन र प्रकाशनमा व्यस्त थिए । त्यो काम सकिएपछि पोमुले नै अगुवाई गरेर फेरि कविता संकलन थालियो ।

युरोसिया कल्चरल फोरमका महासचिव छङ् देगी र कवि श्रवण मुकारुङको सल्लाहमा ३० देखि ४० जना कविहरूको २/२ वटाका दरले कविता संकलन गर्ने सहमति भएको थियो । यही कुरा मुकारुङले पोमुलाई सम्झाउँदै झक्झक्याएपछि फेरि यो काम अघि बढ्यो ।

जम्मा ३५ जना कविहरुबाट २/२ वटा कविता संकलन गरी पोमुले नै सम्पादन गरे । सम्पादित कविता युरेसिया कल्चरल फोरमका लागि अनुवादक ई गिजु र मोहन कार्कीको हातमा पुग्यो । दुवै जनाको संयुक्त अनुवादमा ती ३५ नेपाली कविहरूको ७० वटा कविता कोरियन भाषामा अनुवाद गरियो । कविता कोरियामा विभिन्न माध्यम (भिसा) मार्फत् प्रवेश गर्ने नेपालीहरूको कोरिया बसाइका बखत उत्पन्न मनोभावहरू प्रशस्त व्यक्त गरिएका छन् ।

संग्रहमा आवद्ध कविहरू पराजित पोमु, सेसेफुङ शेर्मा, सुरेशसिंह सम्बाहाङ्फे, सुष्मा रानाहँमा, कृष्ण किराँत, शकुन आँसु, खोम गुरुङ, बाबी बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनीन्द्र विवश, रामकुमार राई, मधु सिंजाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा मगर, दिपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँला, सरोज सर्वहारा, ऐश्वर्य श्रेष्ठ, विष्णु वाग्ले, उत्तम खजुम, डम्बर सुब्बा, डीआर न्यौपाने, मात्रीका नेम्वाङ, दिलिप बान्तावा, जीवन खत्री, मिलन कान्छा किराँती, देवेन्द्र थाम्सुहाङ, अनिल किराँती, सुनिल दिप्त राई,आनन्द भट्टराई, बोनाम प्रताप, निर्दोष शिव थिए ।

सन् २०२० मा प्रकाशित यो संग्रह बजारमा आउँदै गर्दा कोरोना महामारिले संसार स्तब्ध थियो । पूरै विश्व क्वारेन्टाइनमा बदलिएको थियो । तैपनि कविता संग्रहले कोरियाली साहित्यिक वृत्तमा राम्रो प्रभाव पार्‍यो । प्रकाशनको वर्ष कविताहरूमध्ये सबै भन्दा धेरै बिक्री भएको संग्रह भएको समाचार पनि आएको थियो ।

यस्तै चर्चाहरु कै बीचमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिमा दक्षिण कोरियाको लेबर पार्टीले प्रदान गर्ने सन् २०२० को  ‘रेड अवार्ड’ यो कविता संग्रहलाई प्रदान गरियो । त्यसैगरी, सोही वर्ष कोरियाका लोकप्रिय कवि स्वर्गीय बाक दो जिनको स्मृतिमा प्रदान गरिने प्रतिष्ठित ‘एशिया भिजन’ सम्मानसहित २५ लाख वन राशिको नगद पुरस्कार समेत यसै कविता संग्रहलाई दिइएको थियो ।

यसरी दक्षिण कोरियामा राम्रै चर्चा पाएको कविता संग्रह करिब ४ दशक अघिदेखि वृत्तचित्र लेखन, निर्माण तथा निर्देशन गरिरहेकी किम ओक्यङ को नजरमा पर्‍यो । दक्षिण कोरियामा श्रम गर्न आउने प्रवासी श्रमिकहरूलाई केवल मजदुरका रुपमा मात्रै बुझिरहेको उनलाई नेपाली श्रमिकहरुबाट लेखिएका ती कविताहरूले चकित बनाए ।

त्यसपछि उनलाई ती कविताको पृष्ठभूमि, कविहरुको अवस्था र नेपालमा तिनको अनुभव जस्ता विषयहरुमा चासो बढ्यो । उनलाई ती कविता र कविहरुका कुरालाई दृष्यमा उतार्न मन लाग्यो । त्यसको कडी खोज्दै जाँदा उनी कोरियन भाषामा अनुवाद गर्ने ई गिजुको सम्पर्कमा पुगिन् ।

उनले पुनः पराजित पोमुसँग सम्पर्क गरेपछि निर्देशककाे रुचि र योजनाबारे कुराकानी हुने वातावरण बन्यो । पराजित पोमुसँगकै सरसल्लाह र समन्वयमा निर्देशक किमले एउटा टिम बनाएर संग्रहका कविता मध्ये विभिन्न आधारमा छनौट गर्दै ८ जना श्रमिक कविहरुको दैनिकीलाई पर्दामा उतार्ने निधो गरिन् । 

सुनिलदिप्त राई, जीवन खत्री, निर्गराज राई र दिलिप बान्तावा दक्षिण कोरियामै थिए भने नेपाल फर्किसकेका रमेश सायन, सरोज सर्वहारा, सञ्जय काउछा मगर र ऐश्वर्य श्रेष्ठ गरी ८ जनालाई निर्देशक किम ओक्यङको टोलीले सम्पर्क गर्ने र आवश्यक प्रक्रिया पूरा गर्ने काम गर्‍यो । करिब ३ वर्षभन्दा बढी समय छानिएका मध्ये ७ जना (पछि निर्गराज राई शुटिङ सुरु भएपछी बीचतिरबाट सहभागी भएनन्) कविहरूको कार्यस्थल, बिदाको समय, घुमफिर लगायतका सम्पूर्ण दैनिकीलाई फरक मौसम र ऋतुहरूमा निरन्तर पच्छ्याएर खिचिएको डकुमेन्ट्री नै ‘इन द ल्याण्ड अफ मेसिन्स’ हो।

खिचिसकेपछि बाँकी रहेको सम्पूर्ण काम सम्पन्न गरि डकुमेन्ट्रीका रुपमा अन्तिम स्वरुप पाउन पनि झण्डै २ वर्ष लाग्यो । यसरी कविता संग्रहको परिकल्पनाबाट कविता संकलन हुँदै डकुमेन्ट्रीको स्वरुपसम्म आइपुग्न करिब ७ वर्षको समय व्यतित भयो । यो सम्पूर्ण प्रक्रियाको जग भने नेपालबाट कवि श्रवण मुकारुङ, युरेशिया कल्चरल फोरमका महासचिव छङ् देगी तथा कविता संग्रहका लागि कविता संकलन तथा सम्पादनका सम्पूर्ण कार्यमा पराजित पोमुको महत्वपूर्ण योगदान छ।

‘इन द ल्याण्ड अफ मेसिन्स’ सन् २०२५ को छङ्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा क्लोजिङ फिल्मका रुपमा छानिएको थियो । मे ९ मा सम्पन्न सो महोत्सवमा यो डकुमेन्ट्री प्रदर्शनसँगै ‘रेड कार्पेट’ सम्मानसमेत पाएको थियो ।

त्यसैगरी गत वर्षकै सेप्टेम्बर ७ मा सियोल शहरमा यसको सार्वजनिक प्रदर्शन गरिएको थियो । खासगरी प्रवासी नेपालीहरूलाई लक्षित गरी डकुमेन्ट्री निर्माण टोलीले नै प्रदर्शनको आयोजना गरेको थियो । यद्यपि कोरियन दर्शकहरुको समेत ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

यी दुबै प्रदर्शनहरुमा कोरियन दर्शकहरुले पनि डकुमेन्ट्री मन पराएका थिए । धेरै दर्शकको आँखा रसाएको थियो भने प्रदर्शनमा उपस्थित पात्रहरुसँग धेरैले कोरियनहरुले गरेको नराम्रो व्यवहारका लागि क्षमा याचना समेत गरेका थिए । वर्षदिन बित्नै लाग्दा फेरि यो डकुमेन्ट्री काठमाडौं अन्तर्राष्ट्रिय पर्वतिय चलचित्र महोत्सवमा छानिएको खबर आयो । फिचर डकुमेन्ट्री विधामा छानिएको यसलाई महोत्सवस्थल ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्समा मे २८ मा ४ बजे प्रदर्शन गरियो ।

दर्शकहरुको सुखद प्रतिक्रिया प्राप्त भयो । महोत्सवका लागि निर्देशक किम ओक्यङ तथा सहायक निर्देशक किम सुनाह दुवैजना नेपाल पुगेका थिए । डकुमेन्ट्रीमा आवद्ध कवि तथा तिनका परिवारसँग महोत्सवस्थलमा भेटघाट तथा भलाकुसारी गर्न पाउँदा खुसी भएको अभिव्यक्ति प्रदर्शनपछिको प्रश्नोत्तर कार्यक्रममा निर्देशकले बताएकी थिइन् ।

अन्त्यमा कविहरू श्रवण मुकारुङ, पराजित पोमु तथा कविता अनुवादक कवि मोहन कार्की र ई गिजु (दम्पती) सहित इन द ल्याण्ड अफ मेसिन्सको निर्माण युनिटसँगै सबै ३५ जना कविहरूको सृजनात्मक सफलताको कामना !

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ४ : ५० बजे

गुल्मीको रेसुङ्गामा रास्वपाका दुई सांसद सवार कार दुर्घटना

गुल्मी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सागर ढकाल र सुशान्त

प्रधानमन्त्रीको विवादित भनाइबारे रविको प्रतिक्रिया, ‘परराष्ट्र बोलिसक्यो, हामी बोल्नु पर्दैन’

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

दिल्लीबाट फर्किएपछि रवि लामिछानेले भने : नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गरेका छौँ

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण

काठमाडौं– नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा,