होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ? « Khabarhub

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका ६६ परिवार यतिबेला कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेल्टरमा बसिरहेका छन् ।

त्यसैमध्ये जीवनभर अभाव, अस्थिरता र रोगसँग लडिरहेका ३७ वर्षीय भेषराज दर्जी बिहीबार सधैँका लागि बिदा भए । होल्डिङ सेल्टरको एउटा कुनामा श्रीमती र नाबालक छोरीसँग संघर्षपूर्ण जीवन बिताइरहेका दर्जी मृत्युसँगको लडाइँमा भने हार्न पुगे ।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका दर्जी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । कमजोर स्वास्थ्य, आर्थिक अभाव र अनिश्चित भविष्यबीच गुज्रिरहेको उनको जीवनमा बस्ती हटाउने सरकारी अभियानले थप संकट थपिदियो ।

वर्षौँदेखि ओत लाग्ने टहरो डोजरले भत्काएपछि उनी परिवारसहित कीर्तिपुरको होल्डिङ सेल्टरमा पुगेका थिए । तर कीर्तिपुरको होल्डिङ सेल्टर नै उनको लागि अन्तिम आश्रय बन्यो ।

पहिलेदेखि नै रोगले थलिएका दर्जीका लागि सुकुम्वासी बस्तीको टहरो गुमाउँदा ठूलो बज्रपात पर्‍यो । एकातिर शरीरिक रोगको पीडा र अर्कोतिर परिवारको भविष्यको चिन्ताले उनलाई दिन प्रतिदिन गलाइरहेको थियो ।

गत सोमबार होल्डिङ सेल्टरमै अचानक उनको स्वास्थ्य अवस्था बिग्रियो । बेहोस भएपछि उनलाई वीर अस्पताल लगियो । चिकित्सकहरूले उपचारको प्रयास गरे पनि बिहीबार दिउँसो उनको मृत्यु भयो ।

मृत्युको कारण : ’रिफ्र्याक्टरी सेप्टिक शोक’ र बहुअङ्ग जटिलता

वीर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदन अनुसार भेषराजको मृत्युको मुख्य कारण ’रिफ्र्याक्टरी सेप्टिक शोक’ हो । यो शरीरभर गम्भीर संक्रमण फैलिएपछि अङ्गहरूले काम गर्न छोड्ने एक जटिल अवस्था हो ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था भित्रभित्रै निकै नाजुक भइसकेको थियो । उनको दाहिने फोक्सोमा पिप जमेको थियो भने मूत्रनलीमा पनि कडा संक्रमण देखिएको थियो । उनी ’क्रोनिक प्यान्क्रियाटाइटिस’ बाट पीडित थिए ।

उनको शरीरमा रगतको कमी (रक्तअल्पता), मधुमेह, तथा एल्बुमिन र क्याल्सियमजस्ता आवश्यक तत्वको अभाव रहेको थियो ।

भेषराजको मृत्यु हुनासाथ सुकुम्वासी अभियानकर्मी र सर्वसाधारणले राज्यको तीव्र आलोचना सुरु गरेका छन् । उचित रेखदेख, पौष्टिक आहार र समयमै गुणस्तरीय उपचार नपाएका कारण नै उनको ज्यान गएको आरोप लागेको छ ।

यसैबीच, पूर्वऊर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको शैलीको निन्दा गरेका छन् । सुकुम्वासी बस्तीहरूमा विकल्पबिना चलाइएको डोजरले मानवीय संकट निम्त्याएको उनको ठहर छ ।

उपचारमा कमी हुन दिएका थिएनौँ : सेल्टर

सरकारले बस्तीबाट विस्थापित गरेपछि सुकुम्वासीलाई कीर्तिपुरमा राखिएको होल्डिङ सेल्टरमा आधारभूत सुविधाहरूको अभाव रहेको गुनासो बारम्बार उठ्दै आएको छ । तर, होल्डिङ सेल्टरका व्यवस्थापक शेरबहादुर कार्की भने समयमा उपचार नपाएर भेषराजको मृत्यु भएको कुरा स्वीकार्न तयार छैनन् ।

कार्कीका अनुसार भेषराज सेल्टरमा आउँदादेखि नै निकै बिरामी र गम्भीर अवस्थामा थिए । ‘विभिन्न सञ्चार माध्यमहरूमा समयमा उपचार नपाउँदा मृत्यु भएको भन्ने जुन कुरा आएको छ, त्यो सत्य होइन’, कार्कीले भने, ‘उहाँले नियमित खानुपर्ने औषधिहरू पाइरहनुभएको थियो । होल्डिङ सेल्टरमा दैनिकजसो चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले चेकजाँच तथा अनुगमन गरिरहेकै हुन्थ्यो ।’

तर सरकारले १५ दिनमै सेल्टरमा राखिएका सुकुम्वासीलाई व्यवस्थापन गरिसक्ने दाबी गरेपनि महिनौँ बित्दासमेत त्यसो हुन सकेको छैन । सेल्टरमा रहेका दीर्घरोगीलाई अन्यत्र कतै सहज बसोबासको प्रबन्ध मिलाएको भए उनको ज्यान जोगिने थियो कि भन्ने प्रश्न अझै उनुत्तरित छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : ४६ बजे

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन