नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण « Khabarhub

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।

जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जङ्गलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो ।

वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताए ।

‘नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो’, उनले भने, ‘सडक विस्तारसँगै वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न यो संरचना निर्माण गरेका हौँ । यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक देखिएका अन्य उपयुक्त स्थानमा पनि यस्ता क्यानोपी ब्रिज निर्माण गर्ने योजना छ ।’

सूचना अधिकारी खनालका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो । यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षणसँगै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका ठूला पूर्वाधार आयोजनामध्ये एक हो । आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । यसअघि आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ भने जुन २०२६ सम्म समष्टिगत भौतिक प्रगति ९२।३८ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपायहरू पनि कार्यान्वयन भइरहेका छन् । सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणलाई जोड दिँदै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका आगामी सडक आयोजनामा पनि वातावरणमैत्री पूर्वाधार निर्माणको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको इन्जिनियर खनालले बताए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : २९ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस