वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । 

मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका उनी चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिएका हुन् । ‘सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थेँ। पछि पेडा बनाउन थालेँ । अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,’ उनले भने ।

केही दशकअघि कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो । साहका पितापुर्खाले पनि त्यही स्थानमा ढिके नुनको व्यापार गर्थे । समयसँगै व्यापारको स्वरूप फेरिँदै अहिले चतराघाट पेडा पसलका लागि परिचित बन्दै गएको छ ।

विक्रम संवत् २०७२ मा चतरास्थित कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौं जाने वैकल्पिक सडकमार्ग प्रयोगमा आयो । त्यसयता यस क्षेत्रमा सवारीसाधनको आवागमन उल्लेख्य रूपमा बढेसँगै व्यापारिक गतिविधि पनि विस्तार भएको साह बताउँछन् ।

यात्रुको चहलपहल बढेसँगै पेडाको माग पनि निरन्तर बढिरहेको छ । अहिले उनको पसलमा देशका विभिन्न जिल्लाबाट आउने यात्रुले पेडा किन्ने गरेका छन् । 

अनलाइनमार्फत पनि पर्याप्त अर्डर आउने गरेको र डेलिभरीको व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए । 

दैनिक १२० लिटरभन्दा बढी दूधबाट पेडा उत्पादन गर्थे । उनले उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट दूध खरिद गरी पेडा बनाउने गरेको बताए ।

‘विदेशमा १२ घण्टा काम गर्दा मुस्किलले ४० देखि ४५ हजार कमाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले आफ्नै ठाउँमा परिवारसँग बसेर काम गर्दा मासिक ७० देखि ८० हजारसम्म आम्दानी हुन्छ । आफ्नै गाउँमा बसेर काम गर्न पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।’

हाल चतराघाट क्षेत्रमा एक दर्जनभन्दा बढी पेडा पसल सञ्चालनमा छन् । कोशी पुल निर्माणपछि बढेको सर्वसाधारणको आवागमनसँगै चतराघाट पूर्वी नेपालको पेडा उत्पादन र बिक्रीका लागि परिचित केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : ३६ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा