कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख « Khabarhub

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

चितवन उद्योग सङ्घमा आज आयोजित उद्योग व्यवसायका समसामयिक विषयमा भएको छलफलमा उनले आफ्नो क्षेत्रबाट गर्न सक्ने महत्त्वपूर्ण काम उत्कृष्ट र समृद्ध कानुन निर्माण भएको बताए ।

उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । ज्ञापनपत्र बुझाउने र छलफल गर्ने क्रम जारी रहे पनि त्यसबाट प्राप्त उपलब्धिको समीक्षा हुन नसकेको उनको भनाइ थियो ।

सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका १० वटा संसदीय समितिलाई ‘मिनी संसद्’को संज्ञा दिँदै निजी क्षेत्रका समस्या सम्बन्धित समितिमा लिखित रूपमा प्रस्तुत गरी छलफल गर्न सुझाव दिए । 

ती समितिमा सरकार, प्रतिपक्ष, कर्मचारी र कानुन मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने भएकाले समस्या समाधानका लागि समितिमार्फत पहल गर्नु प्रभावकारी हुने उनले बताए ।

चालु आर्थिक वर्षमा १६६ वटा नयाँ कानुन निर्माण तथा संशोधन गर्ने तयारी रहेको उल्लेख गर्दै उनले एउटा मात्र कानुन संशोधन गरेर मुलुकको समृद्धि र व्यवसायीको हित सुनिश्चित नहुने बताए । 

प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्च पदाधिकारीलाई ज्ञापनपत्र बुझाउनुभन्दा सम्बन्धित संसदीय समितिमा विषयवस्तु प्रस्तुत गरेर नीतिगत सुधारका लागि पहल गर्न उनले आग्रह गरे ।

सभामुख अर्यालले राज्यबाट प्राप्त बजेटको सदुपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । बजेट समयमै र गुणस्तरीय ढङ्गले खर्च गरी त्यसको परिणाम देखाउनुपर्ने उनको भनाइ थियो ।

उनले निक्षेपकर्तालाई एक प्रतिशत र लगानीकर्तालाई तीन प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने वातावरण निर्माण हुनुपर्ने धारणा राखे । उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा लगानी निरुत्साहित हुने उल्लेख गर्दै उनले सस्तो ब्याजदरमा कर्जा उपलब्ध भए व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

राज्य हरेक नागरिकको साझा भएको उल्लेख गर्दै सभामुख अर्यालले प्रत्येक नागरिकले राज्य आफ्नो लागि पनि रहेको अनुभूति गर्न पाउनुपर्ने बताए । नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारको संरक्षण गर्दै सबै नागरिकका लागि अनुकूल, भूगोल सुहाउँदो र नयाँ पुस्ताको आवश्यकताअनुसार प्रविधिमैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

सभामुख अर्यालले जनताको स्थिर सरकारप्रतिको अपेक्षालाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई निराश नभई लगानी गर्न आग्रह गरे । अनुकूल ब्याजदर र लगानीको वातावरणको सदुपयोग गर्दै उद्योग, व्यवसाय र रोजगारी विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले आफ्ना समस्या राखेका थिए ।  
 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ७ : ४७ बजे

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई

लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य

विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस