आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक « Khabarhub

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान आर्थिक सुस्ततालाई चिर्न आगामी मौद्रिक नीति लचिलो र उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका सम्बन्धमा सांसद, सरोकारवाला र विज्ञहरूबीच भएको छलफलमा उनीहरूले सो विचार राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन गर्न नसकेका विषयहरू मौद्रिक नीतिबाट पूरा हुने अपेक्षा व्यवसायीहरूले राखेको बताए । 

उनले ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र सधैँ ‘नीति, नियत र नियति’को मारमा पर्ने गरेको गुनासो गर्दै ‘वर्किङ क्यापिटल गाइडलाइन’मा लचकता र ओभरड्राफ्ट सुविधाको सीमा बढाउन माग गरे । 

विशेष गरी, ऋण तिर्न नसक्नेहरूलाई ‘विलफुल’ र ‘अनविलफुल’ गरी स्पष्ट वर्गीकरण गर्नुपर्ने उनको मुख्य सुझाव थियो ।

छलफलमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकहरूसँग झन्डै ११–१२ खर्ब रुपैयाँ अधिक तरलता रहे पनि कर्जाको माग नहुनु चिन्ताको विषय भएको बताए । 

उनले राष्ट्र बैंकको नीतिका कारण एकपटक घटाएको ब्याजदर पछि बढाउन नपाउने जोखिमले गर्दा बैंकहरूले ब्याजदर घटाउन नसकेको स्पष्ट पारे । 

यस्तै, खराब कर्जाका कारण व्यवसायीहरूलाई एक वर्षमै कालोसूचीमा राख्ने र राहदानी जफत गर्ने कार्यले उद्यमीहरू पलायन हुने स्थिति सिर्जना भएको उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. नर बहादुर थापाले आगामी मौद्रिक नीति ‘फोरलुकिङ’ (दूरदर्शी) र ३ देखि ५ वर्षको मध्यकालीन अवधिलाई समेट्ने गरी आउनुपर्ने सुझाव दिए । 

उनले नेपाल हाल ‘म्याक्रो इकोनोमिक प्याराडक्स’ (आर्थिक विरोधाभास) मा रहेको उल्लेख गर्दै वित्तीय र मौद्रिक नीतिबीच औपचारिक समन्वय हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, पूर्व गभर्नर महाप्रसाद अधिकारीले मुलुकको बाह्य क्षेत्र र विदेशी विनिमय सञ्चिति बलियो रहेकाले आगामी नीति लचिलो हुनसक्ने संकेत । 

अर्का पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा विस्तार रोक्ने भाष्य गलत भएको बताउँदै खराब कर्जा व्यवस्थापनका लागि ‘एसेट म्यानेजमेन्ट कम्पनी’ तुरुन्त स्थापना गर्नुपर्ने माग गरे । 

यद्यपि, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले ६ प्रतिशतको मुद्रास्फीति लक्ष्य भेट्टाउन चुनौतीपूर्ण रहेको र विदेशी मुद्रा सञ्चितिबाट ‘सोभरनिङ फन्ड’ खडा गर्ने सोच जोखिमपूर्ण रहेको चेतावनी दिए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : १० बजे

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने

काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक