हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी « Khabarhub

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा सहरले विश्व समुदायलाई आणविक हतियारको जोखिमप्रति पुनः सचेत गराएको छ। समारोहमा वक्ताहरूले बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोध (न्यूक्लियर डिटरन्स) को अवधारणाले विश्व शान्तिमाथि गम्भीर चुनौती सिर्जना गरिरहेको बताएका छन्।

हिरोसिमाका मेयर काजुमी मात्सुईले शान्ति स्मारक पार्कमा आयोजित समारोहलाई सम्बोधन गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई फेरि हिरोसिमा वा नागासाकीजस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिए। 

उनले केही राजनीतिक नेतृत्वले अझै पनि आणविक प्रतिरोधलाई यथार्थवादी सुरक्षा अवधारणाका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै यस्तो सोचले हिंसालाई वैधानिकता प्रदान गर्ने र आणविक हतियारविहीन विश्वको लक्ष्यलाई अझ टाढा धकेल्ने बताए। विगतका पीडादायी अनुभवबाट शिक्षा लिएर शान्ति स्थापना र संरक्षणमा सक्रिय भूमिका खेल्न उनले विश्व समुदायलाई आह्वान गरे।

हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित कार्यक्रममा करिब ५० हजार मानिसको सहभागिता रहेको थियो। संयुक्त राज्य अमेरिका, इरानलगायत करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू पनि समारोहमा सहभागी भएका थिए। सन् १९४५ मा अमेरिकी बी–२९ बमवर्षक विमानबाट हिरोसिमामाथि आणविक बम खसालिएको समय बिहान ८ः१५ बजे एक मिनेट मौनधारण गरिएको थियो भने शान्तिको प्रतीकस्वरूप घण्टी बजाइएको थियो।

जापानका प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक उक्त स्मृति समारोहमा सहभागिता जनाउँदै संयुक्त राष्ट्रसङ्घको आणविक अप्रसार सन्धि (एनपीटी) को ढाँचाभित्र रहेर आणविक हतियारको प्रयोग कहिल्यै नहुने विश्व निर्माणका लागि जापानले ‘यथार्थवादी दृष्टिकोण’ अपनाउने बताए। उनले युद्धपछिका तीन गैर–आणविक सिद्धान्तप्रति जापान प्रतिबद्ध रहेको दोहोर्याए। यद्यपि ती नीतिको भविष्यबारे देशभित्र बहस जारी रहेको उल्लेख गरे।

ताकाइची नेतृत्वको सरकारले यस वर्षको अन्त्यतिर नयाँ सुरक्षा तथा रक्षा रणनीति तयार गर्ने तयारी गरिरहेका बेला जापानका परम्परागत गैर–आणविक सिद्धान्तहरूमाथि पुनर्विचार हुन सक्ने अड्कलबाजी पनि बढेको छ। विशेषगरी देशभित्र आणविक हतियार ल्याउन अनुमति नदिने तेस्रो सिद्धान्तको समीक्षा हुन सक्ने चर्चा चलिरहेको छ।

यता, हिरोसिमा र नागासाकीका जीवित बाँचेकाहरूले विश्वभर पुनः बढ्दो आणविक प्रतिरोधसम्बन्धी बहसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। जापान अमेरिकी आणविक सुरक्षा छातामुनि रहेकाले तथा सुरक्षा सुनिश्चितताका लागि वासिङ्टनसँग सहकार्य गरिरहेकाले जापानी सरकारले आणविक हतियार निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न वा त्यसका बैठकमा पर्यवेक्षकका रूपमा सहभागी हुनुपर्ने पीडितहरूको माग स्वीकार गरेको छैन।

सन् १९४५ अगस्ट ६ मा हिरोसिमामाथि खसालिएको आणविक बमका कारण करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो। त्यसको तीन दिनपछि नागासाकीमा खसालिएको दोस्रो आणविक बमले करिब ७० हजार मानिसको ज्यान लिएको थियो। त्यसपछि अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो।

हाल हिरोसिमा र नागासाकीका जीवित पीडितको सङ्ख्या घटेर ९१ हजार १०५ मा पुगेको छ, जुन प्रारम्भिक सङ्ख्याको करिब एक चौथाइ मात्र हो। उनीहरूको औसत उमेर ८६ वर्षभन्दा माथि पुगेको छ। बाँचेकाहरूले आफ्ना अनुभव र सम्झनाहरू समयसँगै हराउँदै जान सक्ने चिन्ता व्यक्त गर्दै युद्ध र आणविक विनाशको वास्तविकता आगामी पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १२ : ३२ बजे

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा