आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट « Khabarhub

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक उत्कृष्ट हुँदै देशभरका पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नेतृत्वमा रहेका १५ पहाडी जिल्ला प्रहरी कार्यालयको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनका आधारमा धादिङ प्रहरीलाई उत्कृष्ट घोषणा गरेको हो।

अपराध नियन्त्रण, शान्ति-सुरक्षा कायम, प्रभावकारी अनुसन्धान, जनउत्तरदायी सेवा, अनुशासित प्रहरी परिचालन तथा समग्र कार्यसम्पादनका आधारमा धादिङ प्रहरीले उत्कृष्टता हासिल गरेको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए।

उनका अनुसार सीमित स्रोत-धनका बाबजुद पनि जिल्लामा प्रभावकारी सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र जनसेवामुखी कार्यशैली अपनाइएकाले यो सफलता प्राप्त भएको हो।

प्रहरी प्रधान कार्यालयको मूल्याङ्कनअनुसार प्रशासनिक सुधार, अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान तथा फैसला कार्यान्वयनलगायतका सूचकमा धादिङ प्रहरीले उत्कृष्ट प्रदर्शन गरेको छ।

त्यसैगरी राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण अभियान, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको गुनासो सुनुवाइ, अनुशासन कायम, सरोकारवाला निकायसँगको समन्वय तथा विपद् व्यवस्थापनका क्षेत्रमा पनि धादिङ प्रहरीको कार्यसम्पादन प्रभावकारी रहेको मूल्याङ्कनमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काको नेतृत्वमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको जनाएको छ। धादिङ प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालय तथा समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध अभियान सञ्चालन गर्दै अपराध न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको डीएसपी दाहालले बताएका छन्।

लगातार तेस्रो पटक उत्कृष्ट घोषित हुनु धादिङ प्रहरीका लागि उपलब्धिमात्र नभई आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र जनउत्तरदायी सेवा प्रवाह गर्ने प्रेरणा बनेको प्रहरी उपरीक्षक खड्काले बताए ।

यसबीच, सामाजिक सञ्जालमा आशिका तामाङसहित धादिङका केही जनप्रतिनिधिले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी नियन्त्रणमा प्रहरीले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

यस्ता चुनौतीबीच पनि समग्र कार्यसम्पादनका आधारमा धादिङ प्रहरीले उत्कृष्टता कायम राख्न सफल भएको मूल्याङ्कनले देखाएको छ।

यही साउन १९ गते सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधि सभा सदस्य आशिका तामङले प्रहरीमाथि प्रश्न उठाएकी छन्। उनले दिनभरि झाडीमा लुकाउने मेशिन अनि रातीभरि बालुवा चोर्ने तस्करले एक रातमा ६० लाखसम्म कमाउने भएपछि के चाहियो र ? भनेर विरोध गरेकी छन्।

‘यो गल्छीको मास्टर भन्दा तल त्रिपल क्राउन होटलको मुनीपट्टि लुकाएर राखेको मेसिन निकाल्न म नै आउनु पर्ने हो धादिङका एसपी, डिएसपी ?’, भनेर उनले नकारात्मक टिप्पणी गरेकी छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : १० बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा