काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरेकाले उक्त पुस्तकलाई मदन पुरस्कार २०८२ दिने निर्णय गरेको हो।
यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये ‘अज्ञात’ (केशवराज ज्ञवाली), ‘इथा’ (केशव दाहाल), ‘उत्कर्ष’ (ललित विष्ट), ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ (रोशनकुमार झा), ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ (वीणा जोशी राजभण्डारी), ‘परिधि’ (उमा सुवेदी), ‘महायुग’ (सीमा आभास), ‘सलह’ (श्रवण मुकारुङ), ‘स्वस्पर्श’ (डा. नवराज केसी) र ‘हिउँद’ (नदीश) ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ का लागि छनोट भएका थिए।
यस्तै, गुठीले ‘छ दशकदेखि गीत लेखनमा समर्पित’ किरण खरेललाई वि.सं. २०८२ को जगदम्बा–श्री अर्पण गर्ने निर्णय गरेको छ।
मदन पुरस्कार गुठीको साधारण सभाले भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोको विपत्तिमा परी दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बैठकले विपत्तिमा परी हालसम्म हराइरहेकाहरूको शीघ्र उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि खटिएका र सहयोगका हात बढाउने सबैप्रति सम्मान व्यक्त गरेको छ।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपटक वि.सं. २०१३ मा तीन विधामा प्रदान गरिएको थियो। गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रतर्फ चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधातर्फ बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो।
नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिँदै आएको छ।












प्रतिक्रिया