काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ग्रीन आर्मी नेपालले आइतबार विज्ञप्ति जारी गर्दै संस्था खारेज भएको भन्ने समाचार तथ्यहीन, भ्रामक तथा अपुष्ट रहेको स्पष्ट पारेको हो।
‘हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत ग्रीन आर्मी नेपाल संस्था खारेज भएको भन्ने आशयका समाचार तथा सामग्रीहरू सार्वजनिक भएकोप्रति ग्रीन आर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
संस्थाको आधिकारिक कानुनी अवस्था तथा सम्बन्धित निकायमा रहेको अभिलेखको यथार्थ परीक्षण नगरी प्रकाशित तथा प्रसारित यस्ता सामग्रीले संस्था, यससँग आबद्ध विद्यार्थी, युवा, प्रशिक्षक, अभिभावक तथा शुभेच्छुकहरूमा अनावश्यक भ्रम सिर्जना गरेको ग्रीन आर्मी नेपालको भनाइ छ।
ग्रीन आर्मी नेपाल वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत सहयोग, सरसफाइ, वृक्षरोपण, वातावरणीय सचेतना, नेतृत्व विकास, प्राथमिक उपचार, सामाजिक सेवा तथा विद्यालयस्तरीय विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामाजिक संस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
संस्थाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयमा विभिन्न समयमा सार्वजनिक भएका भ्रमपूर्ण सामग्रीप्रति पनि संस्था सचेत रहेको संस्थापक प्रमुख सविन शर्माले बताएका छन् ।
ग्रीन आर्मी नेपालसँग सम्बन्धित कुनै पनि आधिकारिक जानकारी संस्थाको कार्यालय तथा सम्बन्धित सरकारी निकायमा रहेका प्रमाणित अभिलेखका आधारमा मात्रै सार्वजनिक गर्न पनि उनले भनेका छन्।
‘कुनै संस्था खारेज भएको भन्ने विषय सामान्य अनुमान वा सामाजिक सञ्जालमा फैलिएको सूचनाका आधारमा निष्कर्ष निकाल्ने विषय नभई सम्बन्धित निकायको आधिकारिक निर्णय तथा अभिलेखबाट पुष्टि हुनुपर्ने विषय हो। त्यसैले ग्रीन आर्मी नेपाल खारेज भएको भन्ने अपुष्ट दाबीलाई समाचार वा सूचनाका रूपमा सम्प्रेषण नगर्न अनुरोध गर्दछौं,’ अगाडि भनिएको छ।
ग्रीन आर्मी नेपालले आफ्ना उद्देश्यअनुसार वातावरण संरक्षण, सामाजिक सेवा, विपद् व्यवस्थापन, उद्धार तथा राहत सहयोग, विद्यार्थी तथा युवा परिचालन र जनचेतनामूलक कार्यक्रमलाई संस्थागत प्रक्रिया तथा प्रचलित कानुनअनुसार निरन्तरता दिइरहेको जनाएको छ।
यस विषयमा गलत सूचना सम्प्रेषण भएका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका सामग्रीहरू आवश्यक तथ्य परीक्षण गरी सच्याउन सम्बन्धित प्रकाशक तथा सञ्चारमाध्यमलाई पनि संस्थाले अनुरोध गरेको छ।
साथै, आम नागरिक, अभिभावक, विद्यार्थी, युवा, प्रशिक्षक, विद्यालय तथा सम्पूर्ण शुभेच्छुकलाई सामाजिक सञ्जालमा प्रसारित अपुष्ट सामग्रीका आधारमा धारणा नबनाई संस्थाको आधिकारिक स्रोतबाट सूचना लिन ग्रीन आर्मी नेपालले आग्रह गरेको छ।












प्रतिक्रिया