बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी « Khabarhub

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दूरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिए ।

‘वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ’, उनले भने, ‘मालढुङ्गातर्फबाट बेनी बैसरी हुँदै कुनौटासम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।’

कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतीपूर्ण मानिएको छ । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।

राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्रयाक खोलेर महभिर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई ठाउँमा गरेर करिब दुई सय पचास मिटर सडक कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलिएको छ । पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणमा मजदुर परिचालन भएका छन् ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

‘सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,’ उनले भने, ‘यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’

रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उनले बताए । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।

मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ४६ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना