दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले डाँडामा वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सयपत्री जनजागरण युवा क्लब बैतेश्वर–७ मार्बुको आयोजनामा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा बैतेश्वर गाउँपालिकाभित्रका साथै छिमेकी पालिकाका वडाबाट समेत खेलाडी तथा टिमले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, उपविजेताले ७५ हजार रुपैयाँ र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २० देखि २६ गतेसम्म दर्ता गराउन सक्नेछन्। टोली दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ ।
युवाबीच आपसी भाइचारा, अनुशासन, स्वस्थ प्रतिस्पर्धा तथा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । सहभागी खेलाडी तथा टिमले आयोजकले तोकेको आचारसंहिता, खेलसम्बन्धी नियम र सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
टिमदर्ता तथा थप जानकारीका लागि नवीन तामाङ, मणिप लामा, सरोज थापा, राजीव तामाङ र सुरेन्द्र मोक्तान (लामा) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।














प्रतिक्रिया